काठमाडौं ।।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणुबारे सदनमा जवाफ दिने भएका छन् । आज दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले जवाफ दिने नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बालुवाटारमा बसेको सभामुख देवराज घिमिरेसहितको तीन दलको शीर्ष नेताको बैठकपछि उठेका विषयमा सबैलाई बोल्न दिने र गृहमन्त्रीले जवाफ दिने उनले जानकारी दिए ।
“सहमति त भएको छैन । सबैलाई कुरा राख्न दिने । गृहमन्त्रीले जवाफ दिँदा के हुन्छ, त्यो भएन फेरि गर्ने,” पाण्डेले भने । सदन खोलाउने विषयमा बालुवाटारमा भएको छलफलमा सभामुखसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित थिए ।