

काठमाडौं ।।
बंगलादेशको एक कम्पनीले आफ्नो उद्योग भित्रका ७ सय जना कर्मचारीलाई घुमफिरका लागि नेपाल पठाएको छ । बंगलादेशको एकेआइजे ग्रुप अन्तर्गत प्लाष्टिक डिभिजनले ठूलो संख्यामा आफ्ना कर्मचारीलाई एकै पटक नेपाल भ्रमणमा पठाएको छ । बंगलादेशभर २ लाख भन्दा बढी कर्मचारी रहेको यो ग्रुपले ‘डिलर एण्ड सेल्स कन्फ्रेन्स’ नाममा यो भ्रमण राखेको हो ।
शुक्रबार १७५ जनाको पहिलो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्यटन बोर्ड तथा नेपाली पर्यटन व्यवसायीले स्वागत गरे । उनीहरुलाई पञ्चेबाजाले स्वागत गरिएको हो । बाँकी टोली आजै साँझ र शनिबारसम्म नेपाल आइपुग्ने नेपाल पर्यटन बोर्डले जनाएको छ ।

नेपाल सभा सम्मलेनका लागि पनि आकर्षक गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न यो भ्रमणले ठूलो भूमिका खेल्ने बोर्डका सञ्चार संयोजक टीपी भुसालले बताए । उनका अनुससार यो टोलीले काठमाडौं आसपासका पर्यटकीय क्षेत्रमा भ्रमण गर्नेछ ।
नेपालमा चार दिनसम्म रहँदा बंगलादेशी टोलीले आफ्नो कम्पनीको पूर्वनिर्धारित कार्यक्रम अनुसार नेपालमा सम्मेलन समेत आयोजना गर्नेछ । ‘पहिलो पटक कुनै कम्पनीले घुमफिरको प्रयोजनमा यति ठूलो समूह नेपाल पठाएको छ,’ भुसालले भने, ‘उनीहरुलाई नेपालमा पहिलो आतिथ्य अविस्मरणीय बनाउन बोर्डले भव्य स्वागत गरेको हो ।’
![]()
यो टोलीलाई नेपाली गाइडहरुले काठमाडौं आसपासका क्षेत्रमा घुमाउने छन् । उनीहरु स्वयम्भु, पाटन दरवार, चन्द्रागिरि, धुलिखेल र भक्तपुर भ्रमणमा जाने छन् । पछिल्लो समय नेपालमा बंगलादेशी पर्यटकको आगमन निरन्तर बढ्दैछ ।
जुलाई २०२३ मा २६ सय ९६ जना पर्यटक नेपाल आएका थिए । जुनमा यो संख्या २४ सय २ थियो । मेमा २१ सय ६४, अप्रिलमा २२ सय १७, मार्चमा २४ सय ६६, फेब्रुअरीमा १९ सय ७ र जनवरीमा २४ सय ६८ जना बंगलादेशी पर्यटक नेपाल भ्रमणमा आएको देखिएको छ ।

