काठमाडौं ।।
सत्तारुढ नेकपा (एकीकृत समाजवादी)मा नयाँ कार्यविभाजनले विवाद निम्त्याएको छ । अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको ११औँ अन्तरपार्टी निर्देशन (अपानी)ले विवाद निम्त्याएको हो ।
एकीकृत समाजवादीको सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको छ । यस पटक संघीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउने गरी कार्यविभाजन गरिएको नेपालले जारी गरेको अपानिमा उल्लेख छ ।
कार्यविभाजनमा असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्यहरू राजु गुरुङ र सावित्री मल्लले पार्टी परित्यागको घोषणा गरेका छन् । दैलेख सहइन्चार्ज र क्षेत्र नम्बर १ को इन्चार्जको जिम्मेवारी पाएकी मल्लले सक्रिय राजनीतिबाट बिदा लिने निर्णयमा पुगिएको बताएकी छन् ।
“राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन तर आजका मितिदेखि नेकपा (एकीकृत समाजवादी) पार्टीको सक्रिय राजनितिबाट विश्राम लिने निर्णय गरियो,” उनले फेसबुकमा लेखेकी छन् । त्यस्तै लुम्बिनी प्रदेशसको सचिवको जिम्मेवारी पाएका गुरुङले पनि पार्टी परित्याग गरेको जानकारी नेताहरूलाई गराएका छन् ।
पार्टी एक नेताका अनुसार नेताहरूको कार्यविभाजनमा अध्यक्ष नेपालले एकलौटी गरेका छन् । निर्णय सच्याउन पार्टीमा नेताहरूले दबाब दिइरहेका छन् । “पहिले इन्चार्ज भएकाहरूलाई सहइन्चार्ज बनाइएको छ । केहीको जिम्मेवारीबाट हटाइएको छ । नयाँलाई जिम्मेवारी तोकिएको छ,” एक केन्द्रीय नेताले भने, “एकलौटी ढंगले निर्णय गरिएकोमा असन्तुष्टि हो । निर्णय सच्याउनुपर्छ ।”
एकलौटी ढंगले निर्णय गरिएको भन्दै सम्मानित नेता झलनाथ खनाल पनि असन्तुष्ट छन् । खनालले आजै आफ्नो धारणा सार्वजनिक गर्ने तयारी रहेको उनी निकट नेताले जानकारी दिए ।
त्यस्तै, अध्यक्ष नेपालका स्वकीय सचिवसमेत रहेका नेता मोहन गौतमले नमिलेका विषय सच्याउन सकिने बताएका छन् ।उनले निर्णय सच्याउन नेतृत्वलाई आग्रह पनि गरेका छन् । चित्त नबुझेका कुरा पार्टी कमिटीमा राख्न समेत आग्रह गरेका छन् ।
“अपानि भनेको तत् समयको कामको निर्देशन र विन्यास हो, यसमा केही नमिलेका विषयहरू स्थापित विधिमार्फत नै सच्याउन पनि सकिन्छ । यस्तै मनोनयनमा पनि कमजोरी हुनसक्छन् । हामी महाधिवेशनको सम्मुख छौँ र धेरै विषय (नीति र नेतृत्वसहित)को फैसला महाधिवेशनले गर्ने नै छ,” उनले फेसबुकमा लेखेका छन्, “अतः चित्त नबुझेका विषयहरू पद्दतिसंगत रूपमा कमिटी वा पार्टीका फोरमहरूमा राखौं । महाधिवेशनबाट नयाँ ढंगले समाजवादी आन्दोलन अघि बढाउने दृढतासहित बहसको आरम्भ गरौं र सोही अनुसारको संगठन बनाऔं ।”