May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

दशैँ भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० १३:५७
दशैँ भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय

भक्तपुर – आज भाद्र शुक्ल पक्ष चतुर्थी । गणेश चतुर्थीको अवसरमा सोमवार नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामना र आउँदै गरेको दशैँ भित्र्याउनका लागि गणेश भगवान् र चन्द्रमाको पूजा गरी चथाः पर्व मनाउँदैछन् । भगवान् गणेशको जन्मदिन भएको मानिएको चतुर्थीको दिन नेवार समुदायले बिहानै घरलाई चोख्याएर बेलुका पूजा गर्न चथाः गणेशको तस्बिरसहित पूजामा चाहिने सामग्रीहरू भित्र्याउने गर्छन् ।

गणेश चतुर्थीलाई नेवार समुदायले दशैँ भित्र्याउने चाडका रूपमा समेत लिन्छन् । यस दिनलाई दशैँको प्रारम्भ पर्वको रूपमा लिइन्छ । यस दिन विशेषगरी घरघरमा मासु भित्र्याउने चलन छ । नेवार समुदायमा चथाः पर्व राम्रो भए दशैँ राम्रो हुने धार्मिक विश्वास भएको पाइन्छ । आजकै दिन भक्तपुरका किसानहरूले अदुवा खेतीको पूजा गरी नयाँ अदुवा निकाल्ने प्रचलनसमेत छ ।

यस दिन राति नेवार समुदायमा कौसी वा घरको आँगनमा चथाः गणेश र चन्द्रमाको विधिवत् पूजा गर्ने गरिन्छ । पूजामा कमलको फूलको पातमा चथा गणेशको तस्बिर राखेर, नैवेद्य, पञ्चपकवान, अनार, केरा, अम्बा, नासपाती, काँक्रो, सुन्तला, भिजाएको काँचो केराउ, कमलको फूल, नयाँ अदुवाको बोट तथा भुटेको मकै, भटमास, गहुँ, बदाम, मुगी, केराउ, चना, बकुल्लासमेत आठ प्रकारका गेडागुडी चढाइन्छ । साथै पूजामा घिउमा भुटेको आरुको बिँया, दुबाे, कालो तिलको लड्डु, मुला खाइसी (भोगटेजस्तो एक प्रकारको फल) चढाउँछन् । चथाः गणेशको पूजा सकेपछि आकाशतिर हेरेर चन्द्रमाको पूजा गरिन्छ । पूजामा घर परिवारका सबै सदस्यहरू बस्नुपर्ने परम्परा छ । पूजा सकेपछि घरका सबै जना बसेर चथाः गणेशलाई चढाएको पञ्चपकवान, काँक्रा, फलफूल र भुटेका गेडागुडी प्रसादको रूपमा खाने गरिन्छ । प्रसाद खाइसकेपछि दहीको सगुनसहितको भोज खाइन्छ ।

यस दिन चथाः गणेशको पूजा गरे खुशी मिल्ने, जीवनमा चिताएको मनोकाङ्क्षा पूरा हुनुका साथै दशैँ राम्रोसँग मनाउन पाउने लोक मान्यता छ । चन्द्रमालाई विधिपूर्वक पूजा गरे जीवनमा अनाहकमा चोर दोष नलाग्ने जनविश्वास छ । नेवार समुदायमा चथाःको दिन गणेश र चन्द्रमाको पूजा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतिक्षामा बस्ने र चन्द्रमा देखा परेपछि मात्र पूजा गरी प्रसाद खाएर घरभित्र जाने प्रचलन छ ।

आज राति चन्द्रमाको पूजा गर्नुको अर्थ कुनै पनि व्यक्तिको रूपरङ्ग अस्थायी र गौण हुने तथा उसका राम्रो पक्ष भनेको उसको काम हो भन्ने सन्देशसमेत दिने गरेको संस्कृतिविद् तथा इतिहासविद् प्रा. डा.  पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।

पौराणिक लोककथन अनुसार सत्ययुगमा एक दिन स्वर्गमा देवसभा भएको समयमा चन्द्रमाले गणेशलाई हात्तीका टाउके मुख भएको भनी ठूलो हेला र अपमान गरेपछि गणेशले सहन नसकेर रिसाएर चन्द्रमालाई तिम्रो मुख हेर्ने जोकोहीलाई चोर दोष लागोस् भनेर श्राप दिएछन् । गणेशको त्यही श्रापको प्रभावले त्यस दिनदेखि चन्द्रमाको मुख हेर्ने सबैलाई चोर दोष लाग्न थाल्यो ।

त्यसपछि देवीदेवताहरू समेतले चन्द्रमाको मुख हेर्न छाडेको र यसले गर्दा चन्द्रमाको ठूलो बेइज्जत भएको भनाइ छ । साथै चन्द्रमा बाहिर आउन, हिँडडुल गर्नसमेत नसक्ने अवस्थामा पुगेको र त्यसपछि चन्द्रमा महादेवको शरणमा गई महादेवको सहयोगले गणेशलाई दुबाे, लड्डु र मुला चढाई क्षमायाचना गरेको कथा छ ।

चन्द्रमाको क्षमायाचनाबाट प्रभावित भएर गणेशले अबदेखि भाद्र शुक्ल चौथीको एक दिनबाहेक अरू दिनमा चन्द्रमाको मुख हेरे चोर दोष नलाग्ने वरदान दिएका थिए । साथै गणेशले राति विधिपूर्वक चन्द्रमाको पूजा गरे त्याे दिनमा चन्द्रमा दर्शन गरे पनि चोर दोष नलाग्ने वरदान समेत दिएकाले गणेश चतुर्थीको दिन राति चन्द्रमाको पूजा गर्ने परम्परा बसेको लोककथन पाइन्छ ।

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० १३:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट