काठमाडौं ।।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले टिकटकमाथिकोको प्रतिबन्ध देश र जनताको हितमा रहेको टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत यादवले टिकटकमाथिको प्रतिबन्ध समय सान्दर्भिक र सबै दृष्टिकोणले महत्त्वपूर्ण रहेको बताएका छन् । “सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध देश र जनताको हितमा छ । समाजभित्र फैलिँदै गएको विकृति, अपराधलाई नियन्त्रण गर्न र समग्रमा देशलाई एउटा ठूलो जोखिमबाट जोगाउन सरकारको यस निर्णयको विरोध गर्नुको कुनै कारण वा तुक नै छैन,” उनले भनेका छन् ।
उनले विभिन्न समुदाय, धर्म, संस्कृति र भेषभुषाका व्यक्तिहरूबीचको सामाजिक सद्भाव र पारिवारिक एकतामाथि खलल पुर्याउने काम भइरहेकाले टिकटकलाई बन्द गरेर सरकारले निकै राम्रो काम गरेको बताएका छन् । “लामो समयदेखि टिकटकमार्फत भ्रम सिर्जना गरेर आम नेपाली जनतालाई गुमराहमा पारिरहेका केही व्यक्तिले सरकारको यो कदमको विरोध गरिरहेका छन् । टिकटकमार्फत भ्रम सिर्जना गराउने, सस्तो लोकप्रियताका लागि प्रचार गराउनेहरूले यसको विरोध गरिरहेका छन्,” उनले भनेका छन् ।