काठमाडौं ।।
कलाकार जयकिशन बस्नेतले दुई दिनअघि फेसबुकमा एउटा स्टाटस लेखे – ल है, म पनि विदेशतिरै…। स्वदेशमा रोजगारी छैन, विदेश जानुबाहेक अरू विकल्प रहेन नेपालीहरूको । बिचरा हामी…।
सेतो रौँ…
प्रतीक्षा गर्नुहोला, धमाधम सुटिङ हुँदै छ ।
सामाजिक सञ्जाल प्रयोगकर्तालाई लाग्यो, हो न हो जयकिशन विदेश नै गएछन्, नेपाल छोडेर । त्यसमाथि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काँधमा रहेको झन्डा र शिरको टोपी फ्याँकेको ‘क्लिप्स’ बाहिरिएपछि त सामाजिक सञ्जाल प्रयोगकर्तालाई जयकिशनलाई गाली गर्न कसले रोक्ने ?
फेसबुकसहितका सामाजिक सञ्जालमा उक्त क्लिप्स चलनचल्तीको भाषामा ‘भाइरल’ भयो । जतिजति भिडियो भाइरल भयो, त्यति नै जयकिशनलाई तथानाम गाली गरियो । तर, न जयकिशन नेपाल छोडेर विदेशिएका हुन् न त उनले मनदेखि रहरले नेपालको झन्डा र ढाकाटोपी फ्याँकेका नै हुन् । त्यसो भए भिडियो ? गीतको सुटिङ थियो । स्टाटसमै उनले स्पष्टै खुलाएकै छन्, गीतको बोल लेखेर । र, सुटिङ भनेर । बुझ्दै नबुझी गाली गर्नेको ‘सिकार’ बने उनी । पीडित बने जयकिशन।
“वास्तवमा हाम्रो समाज यति धेरै सतही र नकारात्मक भइसक्यो, बुझ्दै नबुझी गाली गर्छ । अर्काको आत्मसम्मानमा चोट पुग्ने गरी बोल्छ र लेख्छ,” जयकिशन सँग भन्छन्, “मलाई अहिले पनि कतिले अमेरिकामा छ भनेर म्यासेन्जरमा कल गरिरहनुभएको छ, सामाजिक सञ्जालमा गाली गरिरहनुभएको छ । तर, म नेपालमै छु । काम गरिरहेको छु ।”
पछिल्लो समय जयकिशन हम्मेसी म्युजिक भिडियोमा काम गर्दैनन् । भलै, दिनकै अफर आउने गरेको उनी बताउँछन् ।केही दिनअघि उनलाई एउटा अफर आयो । गीत थियो टीका पुनको । बोल– सेतो रौँ…। गीतले राजनीतिबाट आक्रान्त बनेको नेपाली समाजको कथा भन्थ्यो । नेता तथा मन्त्रीका छोराछोरीलाई नेपाल नै चैन तर आमजनता अवसरका हिसाबले बस्नै नसक्ने अवस्थामा पुगेको कथा गीतमा थियो ।
गीतको कथा सुनेर जयकिशनलाई लाग्यो– हो त, यो त हाम्रो समाजले भोगिरहेको समसामयिक अवस्था हो । जनताको पीडा हो । अनुभूति हो । म्युजिक भिडियो भएर के भयो त ! कलाकारको नाताले समाज के हो देखाउने र भत्कँदै गएको समाजलाई खबरदारी गर्ने दायित्व मेरो पनि त हो । त्यसैले उनले ‘हुन्छ’ भने । र, सुरु भयो तीन दिनअघि काठमाडौंमा सुटिङ ।
“गीतमा मन्त्री र नेताहरूले देश लुटे, पैसा र कमिसन पाएपछि देश पनि बेच्छन् भन्ने आशय छ । मेरो नेगेटिभ रोल छ । म मन्त्रीको छोरो हुन्छु । बाउको पावरमा पुलिस कुट्ने, रेस्टुरेन्टमा गएर केटीहरूलाई अभद्र व्यवहार गर्ने तर पनि कसैले केही नगर्ने क्यारेक्टर छ,” जयकिशन भन्छन्, “अहिले देशमा पनि यस्तै छ । हत्या, सुन तस्करी तथा दुई नम्बरी धन्दामा नेताका छोराहरू मुछिएका छन्, तर उनीहरूलाई कारबाही केही हुँदैन ।”
सामाजिक सञ्जालमा गाली र विरोध राजनीतिक दलका ‘साइबर सेना’ले गरेको उनको बुझाइ छ । “जानाजान पनि दलका साइबर सेनाले गाली गरिरहेका छन् । झन्डा र टोपी फालेको मात्रै क्लिप्स राखेर भाइरल बनाइएको छ । तर, सँगै त्यसरी फालिएको झन्डा र टोपी टिपेर पुनः लगाइदिएको काटेर फालिएको छ,” उनी भन्छन्, “यो त नियतवश भएन र ?”
दलहरूमा ‘साइबर सेना’को काम गर्ने आफूले चिनेका साथीहरू नै रहेको उनी बताउँछन् । उनी अगाडि थप्छन्, “उनीहरूको काम नै आफ्नो नेताको पक्षमा आयो भने फेवरमा जयजयकार गर्ने, विरोधमा आयो भने अरिंगालझैँ खनिने गर्छन् । म पनि तिनै साइबर सेनाको आक्रमणमा परेँ ।” नियत नै खराब भएपछि गाली गर्नबाट रोक्न नसकिने उनको अनुभव छ । उनले फ्याँकेको झन्डा उठाएर ढोगेर ‘जनताको छोरा’ले छातीमा टाँस्छ र टोपी लगाएर विदेश जाने दृश्य गीतमा छ । तर, त्यो क्लिप्स किन राखिएन भन्नेमा उनको असन्तुष्टि छ ।
छायांकन सकिइसकेको गीतमा जयकिशनसँगै टीका पुन, भगवती खड्का, देशभक्त खनाल, डीआर सुजनलगायत कलाकारको अभिनय छ । आउँदो बुधबार भिडियोसहित उक्त गीत सार्वजनिक गरिँदै छ । “यही गीतले मलाई गाली गर्नेलाई जवाफ दिनेछ । गीतको शब्द, मर्म र भिडियो आफैँ बोल्नेछ,” जयकिशन भन्छन्, “त्यसो त आज बिहान उठेर म्यासेन्जर हेर्दा म आफैँ पनि छक्क परेको थिएँ । बुझ्दै नबुझी गाली गरेछु, सरी भनेर ५० भन्दा धेरै म्यासेज आएका थिए ।”