काठमाडौं ।।
सिन्धुलीको सुनकोसी गाउँपालिका गाउँपालिका–३, बोहोरेटारमा आज बिहान बसको ठक्करबाट दुईजनाको मृत्यु भएपछि स्थानीयले बसमा आगो लगाइदिएका छन् । सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटनापछि आक्रोसित भएका स्थानीयले बिहान १० बजेपछि बसमा आगो लगाएका हुन् । घटनापछि स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन् । घटनास्थलबाट शव उठाएर अस्पताल लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ । राजमार्ग खुलाउने प्रयास भइरहेको समेत उनले जानकारी दिए ।
रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको थियो । विपरीत दिशाबाट आइरहेको बा ६० प ३५४५ नं को मोटरसाइकललाई वाग्मती प्रदेश ०१–००६ ख ४५९३ नं को बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक खोटाङको तुवाचुङ नगरपालिका–२ का कुमार राई र खोटाङको दिक्तेल नगरपालिका– १० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको मृत्यु भएको छ ।