तनहुँको व्यास नगरपालिकाले मुग्लिन–पोखरा सडक विस्तारका लागि सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरेको छ ।
दमौली बजार क्षेत्रका घर नभत्काउँदा काममा ढिलाइ भएकाले नगरपालिकाले घर भत्काएर सहयोगका लागि आग्रह गरेको हो । नगर कार्यपालिकाको बैठकले बजार क्षेत्रका संरचना भत्काएर राष्ट्रिय प्राथमिकता प्राप्त बाटो विस्तारका लागि सहयोग गर्न आग्रह गरेको प्रवक्ता जीवन गुरुङले बताए । मुख्यबजार क्षेत्रका संरचना नहटाइदिँदा काममा ढिला भएको उल्लेख गर्दै उनले भने, ‘डुम्रे, छिर्कनेलगायत ठाउँमा संरचना भत्काएर काम अगाडि बढिसकेको छ, तर दमौलीमा संरचना हटाउन ढिलाइ भएकाले नगरवासीलाई पुनः एकपटक संरचना हटाएर बाटो विस्तारका लागि सहयोग गर्न आग्रह गरेका हौँ ।’