May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

अख्तियारले रोकेका यी हुन् ठूला भ्रष्टाचारको मुद्दा

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ९, २०८० 0९:५१
अख्तियारले रोकेका यी हुन् ठूला भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि उजुरीको विषयमा तथ्य प्रमाण खोजेर अनुसन्धान पश्चात् मुद्दा विशेष अदालतमा दायर गर्ने गर्छ । तर, केही भ्रष्टाचारको मुद्दाको फाईल भने अख्तियारमै थन्किएको छ । राजनीतिक छत्रछायाँ र राजनीतिक प्रभावका आधारमा अख्तियारका प्रमुखले आफूखुसी भ्रष्टाचारको मुद्दा तामेलीमा राख्ने निर्णय गर्ने गरेको पाइन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीदेखि हालका प्रमुख आयुक्त प्रेमकुमार राईसम्मले ठूला भ्रष्टाचार मुद्दाको फाईल रोकेका छन् ।

भ्रष्टाचारको उजुरीको सम्पूर्ण अनुसन्धान पूरा गरेर पनि अख्तियारले राजनीतिक दलका ठूला नेता जोडिएका र आयोगका प्रमुख आयुक्तसम्म जोडिएको भ्रष्टाचारको फाइल तामेलीमा राख्ने गरेका छन् । तत्कालीन लोकमानसिंह कार्की आफ्नो पालामा आफू निकटका कर्मचारीको भ्रष्टाचार मुद्दा तामेलीमा राख्न निर्देशन दिएका थिए । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त नवीन घिमिरेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको भ्रष्टाचार मुद्दा तामेलीमा राखे । तत्कालीन प्रमुख आयुक्त घिमिरेले अवकास हुनु एक दिन अघि घिमिरेले मुद्दा चलाउन ठिक्क पारेको फाईल तामेलीमा पठाउने निर्णय गराएको अख्तियार स्रोतले जनायो ।

वाइडबडी विमान खरिद प्रकरण
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमका दुईवटा वाइडबडी विमान खरिदसम्बन्धी प्रकरणको विषय पनि अख्तियारले मौनता साध्ने काम गरेको छ । खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको उठेका प्रश्न अहिलेसम्म पनि अनुत्तरित छन् । त्यो प्रकरणमा तत्कालीन पर्यटनमन्त्री (दिवंगत) रवीन्द्र अधिकारी, दुईजना पूर्वमन्त्रीहरू जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलगायत मुछिएका थिए । ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भन्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै समयमा सो प्रकरण आए पनि त्यत्तिकै सेलायो । यो प्रकरणमा नेपाली कांग्रेसका नेताहरुको नाम पनि मुछिएपछि यो विषयमा अख्तियारले कसैलाई पनि मुद्दा चलाउने आँट गर्न सकेन ।

निगमले खरिद गरेको पहिलो वाइडबडी विमान २०७५ असारमा र दोस्रो विमान एक महिनापछि साउनमा भित्राएको थियो । महालेखा परीक्षकको कार्यालयले ठूला विमान खरिदमा छ अर्ब २९ करोड रूपैयाँ बेरुजु देखाएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले त्यस’bout चासो देखाएको थियो । समितिले सांसद राजन केसीको संयोजकत्वमा उपसमिति गठन गरी त्यस’bout छानविन ग¥यो । उपसमितिले निगमले खरिद गरेका दुईवटा वाइडबडी जहाजमा चार अर्ब ३५ करोड ५६ लाख रूपैयाँ घोटाला भएको ठहरसहित समितिलाई प्रतिवेदन बुझाएको थियो ।

तर, यो विषय अख्तियार अहिलेसम्म मौन छ । मौन रहनुको अर्को कारण भने हालका प्रमुख आयुक्त प्रेमकुमार राईसमेत यो प्रकरणमा जोडिएका छन् । उनी पर्यटनसचिवको रूपमा वायुसेवा निगमको अध्यक्ष हुँदा वाइडबडी खरिदमा जोडिएका हुन् । वाइडबडी जहाज खरिद भ्रष्टाचार प्रकरणमा छानबिन भइरहेकै बेला राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्ति भएका हुन् । एमाले अध्यक्ष तथा तत्कालीन केपी शर्मा ओलीले संसद विघटन गरेपछि संसदीय सुनुवाइ छलेर उनीसहित ५२ जनालाई एक साथ नियुक्ति दिएका थिए । हाल आयोगका पदाधिकारीविरुद्धको मुद्दा सर्वोच्च अदालतको संबैधानिक इजलासमा बिचाराधीन छ ।

वाइडबडीमा चार अर्ब ३५ करोड भ्रष्टाचार भएको भन्दै सार्वजनिक लेखा समितिले अनुसन्धान र कारबाहीका लागि सिफारिस गरेको छ । यो विषयमा अख्तियारले अनुसन्धान गरिरहेको वेला उनै राई अख्तियारको प्रमुख आयुक्तमा सिफारिस भएका हुन् ।

पर्यटन मन्त्रालयका तत्कालीन सचिव राई १० माघ ०७२ देखि २६ भदौ ०७३ सम्म निगमको अध्यक्षको जिम्मेवारीमा थिए । तत्कालीन सरकारका प्रधानमन्त्री केपी ओली र पर्यटनमन्त्री आनन्द पोखरेलले उनलाई पर्यटन मन्त्रालयमा लगेका थिए । यहीबीच २ वैशाख ०७३ मा राईको अध्यक्षतामा बसेको निगम सञ्चालक समिति बैठकले ‘विमान खरिदको प्रक्रिया अघि बढाउने र त्यसका लागि उपसमिति गठन गर्ने’ निर्णय गरेको थियो । जब कि यसअघि ४ माघ ०७२ मा नै निगमको आर्थिक विनियमावलीअनुसार तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारको नेतृत्वमा उपसमिति गठन भएको थियो ।

माघमै बनेको उपसमितिलाई निष्क्रिय गराई वैशाखमा राईले सञ्चालक समितिका सदस्य सूर्यप्रसाद आचार्यको संयोजकत्वमा चार सदस्यीय वाइडबडी विमान खरिद उपसमिति गठन भएको थियो । सोही समितिले ३१ साउन ०७३ मा ‘ब्राज्ड न्यु’ जहाज खरिदका नाममा एक हजार घन्टासम्म चलिसकेको पुरानो विमान खरिद गर्न सकिने सिफारिस गरिएको थियो । सीधै एयरबससँग होइन, बिचौलिया कम्पनीसँग जहाज किन्ने प्रयोजनका लागि यस्तो पृष्ठभूमि बनाइएका थियो ।

दुईवटा बाइडबडी विमान २० करोड ९६ लाख डलरमा खरिद गर्ने सहमति भएअनुसार आठ करोड सुरुमै बुझाइएको थियो । विमानको मूल्य उत्पादक कम्पनी एयरबसबाट लिएर तुलना गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै महालेखापरीक्षकले प्रश्न उठाएको थियो ।

जहाज औसत दिनमा १४ घन्टा उड्छ, त्यसैले एक हजार घन्टा उड्न जम्मा ७१ दिन लाग्छ । यसरी नयाँ जहाज होइन, जम्मा ७१ दिन उडेको जहाज किन्ने भनेर निर्णय हालका प्रमुख आयुक्त प्रेमकुमार राई तत्कालीन पर्यटन मन्त्रालयको सचिव हुदाँ निर्णय गराएका थिए । बिचौलिया घुसाउन र कमिसन पचाउन यो निर्णय राईले गराएको वायु सेवा निगमका एक कर्मचारीले बताए । राईले निर्णय गराएसँगै जहाज खरिद प्रक्रिया अघि बढ्यो जसका लागि सञ्चय कोषको ऋण आवश्यक थियो । निगमले पेस गरेको खरिद प्रक्रिया पारदर्शी नभएको भन्दै कोषले विभिन्न कागजात मागिरहेको थियो । तर, अधिकारीहरूले कागजात मागिरहेको वेला कोषको सञ्चालक समितिले निगमलाई ऋण स्वीकृत गरेको थियो । पर्यटन मन्त्रालयबाट सरुवा भएर वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव भएका राई सञ्चय कोष सञ्चालक समितिको अध्यक्ष बनिसकेका थिए ।

२६ जेठ २०७४ मा बसेको सञ्चयकोष सञ्चालक समितिको बैठकले ऋण दिने प्रस्ताव स्विकार गरेको थियो । दुई दिनपछि २८ जेठ २०७४ मा निमग र कोषबीच ऋण सम्झौता भएको थियो । यतिन्जेलसम्म शेरबहादुर देउवा प्रधानमन्त्री र जितेन्द्रनारायण देव पयर्टन मन्त्री भएका थिए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण जसमा एमालेका सांसद तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ७० करोडको अडियो रेकर्ड बाहिरियो । जसका कारण ओलीका निकट विश्वासपात्र मानिने मन्त्री गोकुल बाँस्कोटालाई पदमुक्त गराएको थियो । यो प्रकरणमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीका एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो ।

अडियोमा बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैंसँग कुरा गर्न आग्रह गरेको तथ्य बाहिरिएको थियो । स्वीस कम्पनीका स्थानीय एजेन्ट विजय मिश्र र बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ‘अफ ट्रयाक’मा जाने र त्यसबाट करिब ७० करोड कमिसन आउने उल्लेख छ । सो विषयमा अख्तियारले छानबिनको साटो फाइल तामेलीमा राख्ने काम ग¥यो । यो प्रकरणमा हालका प्रमुख आयुक्त प्रेमकुमार राईले छानबिन भइरहेको छ भने पनि प्रक्रिया अघि बढ्न सकेको छैन ।

स्वास्थ्य सामग्री खरिद प्रकरण
कोरोना महामारीका कारण देश आक्रान्त भइरहेका बेला स्वास्थ्य सामग्री खरिदमा अनियमता भएको विषय बाहिर आयो । कोरोनाकालमा २०७६ फागुन १६ गते स्वास्थ्य सेवा विभागले विशेष परिस्थितिमा स्वास्थ्य सामग्री खरिद गर्न निर्णय गरी मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति पाएको थियो । २०७६ फागुन २९ गते स्वास्थ्यसँग सम्बन्धित सामग्री खरिद गर्न मन्त्रिपरिषद्को निर्णयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिइएको थियो ।

२०७६ फागुन २१ गते स्वास्थ्य सेवा विभागले कोभिड–१९ कोरोना भाइरस नियन्त्रणसम्बन्धी विश्व स्वास्थ्य संगठनबाट तयार भई प्राप्त भएको विवरणअनुसार दररेट माग गरी लागत अनुमान तयार गरेको थियो । विभागले कोटेसन माग गर्दा सञ्जीव सर्जिकल हाउसलगायत चारवटा (एउटाको लेटर हेड नभएको) आपूर्तिकर्तासँग दररेट माग गरेको थियो । १६ वटा आइटमको लागत अनुमान तयार गरी ६३ करोड ८० लाख ७ सय ७५ रुपैयाँ (जसमा कुल परिमाणको ५० प्रतिशत रिभाइज्ड क्वान्टिटीको २८ करोड ५२ लाख ८१ हजार १०८ रुपैयाँ)को लागत अनुमान मूल्य अभिवृद्धि करसहित पेस गरिएको थियो । सो लागत अनुमान स्वीकृतिका लागि विभागले २०७६ फागुन २३ गते पेस गरेको प्रस्ताव स्वास्थ्य मन्त्रालयले फागुन ३० गते प्रचलित कानुनको अधीनमा रही पेस भएअनुसार हुने भनी निर्णय गरेको थियो ।

२०७६ चैत ९ गतेको मन्त्रिपरिषदले ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सार्वजनिक खरिद ऐनको विशेष परिस्थितिमा खरिद गर्ने प्रावधानबमोजिम रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सेवा र वस्तु अविलम्ब खरिद गर्ने’ भनी निर्णय गरेको थियो । स्वास्थ्य सामग्री खरिदको विषयमा सार्वजनिक रूपमा प्रश्न उठेपछि सो विषयमा छानबिन भएको थियो । साथै सार्वजनिक आलोचनापछि ओम्नीसँग गरिएको स्वास्थ्य सामग्री ठेक्का रद्द गरिएको थियो ।

कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले २०७७ सालमा खरिद गरिएको स्वास्थ्य उपकरणमा अनियमितता भएको भन्दै लेखा समितिमा उजुरी परेपछि पुनः एकपटक छानबिन थालेको छ । यसअघि लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको औंल्याइसकेको छ । पुन सो विषयमा उजुरी परेपछि लेखा समितिले छानबिन सुरु गरेको हो । स्वास्थ्य सामग्री खरिदका क्रममा भएको अपारदर्शी कार्यका तथ्य लेखा समितिले सार्वजनिक गरेको थियो । खरिदका लागि स्रोतको यकिन नभएको, लागत अनुमान नगरी सिधैं प्रस्ताव माग गरि खरिद प्रक्रिया अघि बढाएको समितिले आंैल्याएको थियो ।

तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको विज्ञ सल्लाहकार डा. खेम कार्कीलाई खरिद प्रक्रियामा सहभागी गराउन पर्नुको कारण मन्त्रालयले प्रस्ट्याउन नसकेको समितिले जनाएको थियो । स्वास्थ्य सामग्री खरिदका लागि प्रारिम्भक छलफलमा सहभागी नभएको अनिता बिजनेस हाउस प्रालि (ओम्नी)लाई वार्तामा सहभागी गराउनुको कारण मन्त्रालयले दिन सकेको थिएन ।

नेपाली रुपैयाँमा लागत अनुमान तयारी गरी अमेरिकी डलरको दरमा सम्झौता हुँदा अनियमितताको आशंका रहेको जनाइएको छ । ओम्नीसँग खरिद प्रक्रिया रद्द गरे पनि मन्त्रालयलाई भएको क्षतिपूर्ति भराउने कार्य भएको छैन । ओम्नीले गुणस्तरहीन सामग्री आपूर्ति गरेको लेखा समितिले निष्कर्ष निकालेसँगै सिंहदरबारभित्र ओम्नीले सेटिङ मिलाएर आइटी र औषधिमा ब्रह्मलुट गरेको पाइएको थियो । यो विषयमा उजुरी परे पनि अख्तियारले सो प्रकरणमा छानबिन गरेर कारबाहीको दायरामा ल्याउन सकेको छैन । अख्तियारले कारबही प्रक्रिया अगाडी नबढाएपछि अहिले यो विषय सार्वजनिक लेखा समितिमा छ । लेखा समितिले पुनः एक पटक अख्तियारलाई अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडी बढाउन निर्देशन दिन लागेको छ ।

आयल निगम जग्गा खरिद प्रकरणः सुटुक्क तामेली
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिद अनियमितता प्रकरणको फाइल ‘मुद्दा नचल्ने’ निर्णय गर्दै तामेलीमा पठाएको लामो समय भयो । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नै जोडिएका छन् ।

आर्थिक वर्ष ०७३–७४ को बजेटमा यो विषय परपछि निगमले प्रदेश १ को झापा, २ नं प्रदेशका लागि सर्लाही, ३ नं प्रदेशकालागि चितवन, ५ नम्बर प्रदेशका लागि भैरहवामा जग्गा जग्गा खरिद गरेर गरेर निगमको भण्डारण क्षमता ७१ हजार ७ सय किलोलिटर बाट ५ लाख ३० हजार किलोलिटर पुर्याउने र जग्गा खरिदका लागि ५ अर्ब २८ करोड रुपैयाँ लगानी गर्ने योजना सञ्चालक समितिबाट स्वीकृत गरेको थियो ।

निगमले झापा, सर्लाही, चितवन र रूपन्देहीमा जग्गा खरिद गरेको थियो । जग्गा प्राप्ति ऐनअनुसार खरिद गर्नुपर्नेमा निगमले टेन्डरमार्फत सूचना निकालेको थियो । निगमका पदाधिकारी र बिचौलियाको मिलेमतोमा केही जग्गा व्यवसायीले किसान र जग्गाधनीसँग सस्तोमा जग्गा किनेर निगमलाई मिलेमतोमा जग्गा बेचेका थिए । त्यसरी किन्दा १ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको भेटिएको थियो । महालेखा परीक्षकको कार्यालयले त यो अनियमितताको ग्राफ १ अर्ब ३४ करोड रुपैयाँ हुने भनी प्रतिवेदन तयार पारेको थियो ।

जग्गा किन्ने योजना तयार हुँदादेखि नै चलखेल भएको थियो । केही बिचौलियाको डिजाइनमा तयार भएको योजनामा अख्तियारका तत्कालीन विवादास्पद प्रमुख कार्कीले पनि साथ मात्रै दिएनन्, संरक्षणसमेत गरेका थिए । त्यसैको आडमा तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले टेन्डर प्रक्रियाबाट जग्गा किनेका थिए ।

जग्गा प्राप्ति ऐनअनुसार मुआब्जा दिएर जग्गा खरिद गर्नुपर्नेमा निगमले टेन्डरमार्फत सूचना निकालेर जग्गाको माग गरेकोले निगमका पदाधिकारी र जग्गा व्यवसायीले जग्गाधनीसँग सस्तोमा जग्गा किनेर निगमलाई मिलेमतोमा महंगोमा जग्गा बेचेका थिए । त्यसरी किन्दा १ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको भेटिएको थियो । यो जग्गा खरिदप्रक्रियाको थालनीदेखि खरिद प्रक्रिया टुंगिएर संसदीय समितिले छानबिन गर्ने समयसम्म पनि पूर्वसचिव प्रेमकुमार राई आयल निगमको अध्यक्ष थिए ।

यो प्रकरणमा छानबिन गरेर मुद्दा अदालतमा पु¥याउनुपर्नेमा अख्तियारका तत्कालीन प्रमुख आयुक्त नविनकुमार घिमिरेले अवकास हुनुअघि कोरोनाकालको मौका छोपेर फाइल बन्द गरेर तामेलीमा पठाउने निर्णय गराए । तामेलीमा पठाउनुको एक मात्रै कारण थियो अख्तियारमा प्रेमकुमार राईलाई प्रमुख आयुक्त बनाएर ल्याउनु । तत्कालीन केपी शर्मा ओलीले संसद विघटनको मौका छोपेर राईलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्ति गरे । पर्याप्त प्रमाणसहित दर्ता भएको भ्रष्टाचारको उजुरीमा संलग्न व्यक्तिहरूलाई जोगाउनुपरे लामो समयसम्म ‘फाइल अनुसन्धानमा छ’ भनी प्रतिक्रिया दिने र अन्त्यमा तामेलीमा राख्ने शैली अख्तियारको पुरानै हो । जसरी हिजो लोकमानसिंह कार्की नेतृत्वमा रहेका बेला अख्तियारले अखिल नेपाल फुटबल संघका तत्कालीन अध्यक्ष गणेश थापाको उजुरी पनि तामेलीमा राख्ने काम गरेको थियो ।

लडाकु शिविरको घोटाला काण्डको फाइल बन्द
लडाकु शिविरमा भएको घोटालाको विषय नेकपा एमालेको भ्रातृ संगठन युवा संघले अख्तियारमा प्रवेश गराएको थियो । युवा संघले ५ असोज २०६९ मा तत्कालीन एकीकृत माओवादी अध्यक्ष प्रचण्ड, नेताहरू बाबुराम भट्टराई, कृष्णबहादुर महरा लगायत नेता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको थियो । त्यसमा ४ अर्ब रुपैयाँ हिनामिना गरेको दाबी थियो ।

३१ भदौ २०७३ मा अख्तियारले लडाकु शिविरमा भएको अनियमितताको छानबिनलाई तीव्रता दिने घोषणा गरेको थियो । आयोगले लडाकु शिविरका कमाण्डर र माओवादीका प्रमुख नेताहरूलाई यस’bout ३० दिनभित्र जवाफ दिन पत्र काटेको थियो । तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले यो प्रक्रिया अगाडी बढाउन खोज्दै गर्दा ३ कात्तिक २०७३ मा एमाले र माओवादीका सांसदहरुले महाअभियोग दर्ता गरेको थियो । २४ पुसमा भने सर्वोच्चले अख्तियार प्रमुख कार्कीलाई पदमा बस्न अयोग्य भएको ठहर गरेको थियो । त्यसपछि यो प्रकरण अख्तियारले तामेलीमा राखेर फाइल बन्द गराएको छ ।

सेना समायोजन सम्बन्धी प्रक्रियालाई बीचमै छोडेर ३० पुस २०६७ मा अनमिन नेपालबाट बाहिरियो । अनिमिन बाहिरिएपछि लडाकु शिविरको रेखदेखको काम विशेष समिति मातहातमा आयो । २०६७ माघ ८ गते विशेष समिति मातहतमा आएपछि लडाकु संख्याको अद्यावधिक भएको थियो । अद्यावधिक गरेको विवरणपछि लडाकु संख्या १७ हजार ७६ मा झरेको देखियो । सुरुमै अनमिनले प्रमाणीकरण गरेको संख्या भन्दा २ हजार ४५१ कम रहेको पाइएपछि महालेखा परीक्षकको कार्यालयले यसमा प्रश्न उठाएको थियो ।

२०७० को आफ्नो वार्षिक लेखा परीक्षण प्रतिवेदनमा महालेखाले विवरण अद्यावधिक हुनुअघिका चार महिनामा लडाकुलाई गएको ६ करोड ३७ लाख २६ हजार रुपैयाँ माथि प्रश्न उठाएको थियो । ‘उक्त घटेको संख्याको आधारमा २०६८ साउनदेखि २०६८ कात्तिकसम्म भत्तामा रु.६ करोड ३७ लाख २६ हजार खर्च गरेको छ’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘साथै २०६८ साउन अगाडिका अवधिमा भएको मासिक भत्ता र भरणपोषण सम्बन्धी खर्चको वास्तविकता समेत यकिन गर्नुपर्दछ ।’ आजको राजधानी दैनिकमा खबर छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ९, २०८० 0९:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।