नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवासमा नभई काठमाडौं नजिकैको लाँकुरी भञ्ज्याङस्थित एक रिसोर्टमा लडेर घाइते भएको खुलासा भएको छ। मंगलबार साँझ छोरी गंगा दाहाल, ज्वाइँ र केही आफन्तहरूसँग टेरेस रिसोर्ट पुगेका प्रचण्ड त्यहीँको शौचालयमा चिप्लिएर लडेका थिए भन्ने खबर बाहिरिएको छ । घटनामा उनको निधारमा सामान्य चोट लागेको जसका कारण टाउकोमा तिनवटा टाका लगाउनु परेको छ ।
छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत बुवाको स्वास्थ्यबारे जानकारी दिँदै, बाथरुममा चिप्लिएर सामान्य चोट लागेको र चेकजाँचपछि घर फर्किएको बताएकी थिइन्। तर कहाँको शौचालय भन्ने कुरा भने खुलाएकी थिइनन्।
उनले लेखेकी थिइन् , “गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य चोट लागेकोले मेडिसिटी अस्पतालमा चेकजाँचपछि घर फर्कनुभएको छ। स्वास्थ्यबारे चासो राख्नुहुने सबैलाई धन्यवाद।” शुरुमा खुमलटारस्थित निवासमा घटना भएको भनिए पनि पछि रिसोर्टमा भएको भनेर यतिबेला पुष्टि भएको छ ।