काठमाडौं ।।
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ३ लघुवित्त र १ सहकारीमा तालाबन्दी गरी आगजनी गरेका छन् ।
ऋणीलाई विभिन्न बाहनामा दुःख दिएको भन्दै नेकपाका कार्यकर्ताले पूर्वी अछामको कमलबजार नगरपालिकास्थित किसान माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्त, मिरमिरे लघुवित्त र साना किसान बहुउद्धेश्यीय सहकारी संस्थामा तालाबन्दी गरि संस्थाको बोर्डमा आगजनी गरेका हुन् ।
वित्तीय संस्थाहरुलाई कारबाही गर्ने आफूहरुको पूर्वघोषित कार्यक्रम अन्तर्गत बिहीबार पूर्वी अछामका ४ वित्तीय संस्थालाई गरिएको पार्टीको केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज मिना सीले बताइन् ।
‘यो हाम्रो पूर्वघोषित कार्यक्रम अन्तर्गतको कारबाही हो ।’, उनले भनिन्, ‘लघुवित्त र सहकारीले ऋणीलाई विभिन्न बाहनामा मानसिक यातना दिने, गोठबाट खसीबाख्रा लगिदिने र घरबारविहीन बनाउने क्रम बढेपछि कारबाही गरेका हौँ ।’
यसो त अछाममा नेकपाका कार्यकर्ताले वित्तीय संस्थाबा तालाबन्दी मात्रै गरेका छैनन्, बरु संस्थाको बोर्डमा आगजनी समेत गरेका छन् ।
‘सुरुमा हामीले संस्थामा तालाबन्दी गर्यौं । त्यसपछि संस्थाका बोर्ड च्यातेर सडकमा ल्याई आगो लगाएका हौँ ।’, नेकपा पूर्वी अछामका सचिव लोकेन्द्र सीले भने, ‘यो क्रम हाम्रो जारी रहन्छ । अझै अरु संस्थाहरुलाई पनि कार्वाही गर्ने कार्यक्रम छ । हामी हाम्रो पूर्वनिर्धारित कार्यक्रमअनुसार अघि बढ्छौँ ।’
अछाममा यसअघि पनि नेकपाका कार्यकर्ताले छिमेक लघुवित्त र एनएमबी लघुवित्तमा तालाबन्दी गरेका थिए ।