काठमाडौं ।।
नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) इजरायलबाट नेपाल फर्किएकी छन् । इजरायली क्लब होपाइल रानानाबाट व्यावसायिक फुटबल खेल्ने सावित्रा बिहीबार स्वदेश फर्किएकी हुन् । सावित्रालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाह पुगेका थिए । नेपाली महिला टिमकी उच्च गोलकर्ता सावित्राको नाममा ४३ अन्तर्राष्ट्रिय गोल छ ।
गत शनिबार हमासले आक्रमण गरेपछि इजरायलले ‘स्टेट अफ वार’ को घोषणा गरेको छ । त्यसयता हमास र इजरायलबीच युद्ध जारी छ । हमास र इजरायलबीच युद्ध सुरु भएपछि युरोपेली फुटबल महासंघ (यूईएफए)ले इजरायलमा हुने सबैखाले फुटबल अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको छ । भौगोलिक रूपमा एसियामा रहे पनि इजरायलले यूईएफएको सदस्यता लिएको छ ।