बुटवल ।।
बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयको कार्यशैलीसँग असहमति जनाउँदै प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसाल दुई महिनामै फिर्ता भएका छन् । भुसाल गत असोज ७ गते उद्योग मन्त्रालयबाट सरुवा भई बुटवल उपमहानगरमा आएका थिए । प्रमुख प्रशासकीय अधिकृत भुसालले मेयर पाण्डेय र आफ्नो काम गर्ने शैली नमिलेपछि काठमाडौं फर्केको बताए । उपमहानगरको कार्यपालिका वैठकको अघिल्लो दिन नै मेयरसँग विवाद भएर भुसाल काठमाडौं गएपछि कार्यपालिका बैठक प्रभावित हुने देखिएको छ ।
बुटवल उपमहानगरपालिकाका कर्मचारी स्रोतका अनुसार मेयर पाण्डेयले करारका कर्मचारी हटाएर आफू निकटका व्यक्तिलाई नियुक्ति र अनुदान वितरण गर्न दबाब दिएका तर प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसालले कार्यपालिका वैठकबाट पारित नगरी विधि प्रक्रिया र कानूनविपरीत आफूले निर्णय नगर्ने अडान लिएपछि मेयरले तत्काल बुटवल छाड्न दबाब दिएका थिए ।