May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

राष्ट्रिय सभा निर्वाचनको तयारीमा आयोग

  • साझा परिवेश
  • शनिबार, कार्तिक २५, २०८० 0७:३५
राष्ट्रिय सभा निर्वाचनको तयारीमा आयोग

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आन्तरिक तयारी सुरु गरेको छ । निर्वाचनको मिति घोषणा हुन ढिलाइ भइरहँदा आयोग आन्तरिक तयारीमा जुटेको हो । नयाँ संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रिय सभाको प्रथम पटक छ वर्षे कार्यकालका लागि निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको पद फागुन २० गते रिक्त हुँदै छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तयारीस्वरूप आयोगले मतदाताको मतभार सम्बन्धमा हिसाब गरेर पठाइदिन राष्ट्रिय तथ्याङ्क कार्यालयलाई बिहीबार पत्राचार गरेको जानकारी दिए। राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा प्रदेश सभा सदस्य र पालिकाका प्रमुख एवं उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ मा पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन हुने गरी सरकारले मिति तोक्ने व्यवस्था छ । जस अनुसार सरकारले माघ दोस्रो साताभित्र निर्वाचन सम्पन्न हुने गरी मिति घोषणा गर्नुपर्ने छ । कानुनले मतदान हुने दिनसम्ममा १२० दिन पुग्ने गरी निर्वाचनको मिति घोषणा हुनुपर्ने व्यवस्था गरेको छ तर कानुनबमोजिम नै निर्वाचनको मिति घोषणा भए आयोगसमक्ष अब करिब ७५ दिन मात्रै बाँकी रहन्छ ।

ऐनमा प्रत्येक प्रदेशमा गठन हुने निर्वाचकमण्डलले गोप्य मतदानद्वारा सदस्य चयन गर्ने व्यवस्था छ । निर्वाचकमण्डलमा प्रदेश सभा सदस्य र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहने छन् । प्रदेश सभा सदस्य र पालिकाका प्रमुख, उपप्रमुखको मतभार फरक हुन्छ ।

२०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ थियो । पालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ थियो । प्रत्येक १० वर्षमा हुने जनगणनाका आधारमा मतभार पुनरवलोकन गर्नुपर्ने कानुनी व्यवस्था रहेकोमा २०७८ मा सम्पन्न जनगणनाको तथ्याङ्कबमोजिम आयोगले मतभार पुनरवलोकन गर्दै छ । जनसङ्ख्या वृद्धि भएकाले मतभारसमेत बढ्ने छ । अब भने प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १९ हुने अनुमान गरिएको छ ।

प्रवक्ता पौडेलले तिहारलगत्तै निर्वाचनको मिति घोषणा नभए निर्वाचन कार्यक्रम छोट्याउनुपर्ने बताए । राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सदस्यमध्ये अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमेत रहेका छन्। निर्वाचन भने १९ सदस्यका लागि हुने छ र राष्ट्रपतिले एक जना मनोनीत गर्नेछन् । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक २५, २०८० 0७:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।