काठमाडौं ।।
काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी घटनाका घाइतेमध्ये आठजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उपचाररत २५ मध्ये आठजनाको अवस्था गम्भीर रहेको कीर्तिपुर अस्पतालका जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले बताए । उनका अनुसार घाइते आठजनाको शरीरमा ४० देखि ६५ प्रतिशतसम्म जलन भएको छ । अन्यको अवस्था भने सामान्य रहेको डा. नकर्मीले बताए । शरीरको २० प्रतिशत बढी भाग जल्नुलाई ‘मेजर बर्न’ भनिन्छ ।
यस्तो जलनले शरीरका अन्य अंगहरूलाई असर गर्ने र रोग प्रतिरोधी क्षमता कम हुँदै जान्छ । ४० प्रतिशत भाग जलेमा शरीरका अन्य अंगबाट छाला लिएर प्रत्यारोपण कठिन हुने विशेषज्ञहरू बताउँछन् । गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत् काठमाडौं ल्याइएको थियो ।