काठमाडौं ।।
औषधि व्यवस्था विभागले चिकित्सकको सिफारिस बिना एन्टिबायोटिक (समूह क र ख) का औषधि बिक्री गरेमा कारबाही हुने जनाएको छ । विभागले गरेको फार्मेसी अनुगमनका क्रममा सिफारिस बिना बिक्री भइरहेको पाइएकाले आगामी दिनमा यस्तो कार्य गर्नेलाई कारबाही हुने जनाएको छ । चिकित्सकको सल्लाहबिना यस प्रकारका औषधि खरिद गरी सेवन नगर्न पनि विभागले सबैमा अनुरोध गरेको छ ।
एन्टिबायोटिक जथाभावी प्रयोग गर्दा शरीरमा रोग प्रतिरोधी क्षमतामा ह्रास ल्याइ कतिपय अवस्थामा औषधिले काम नगरेको पनि विभिन्न अध्ययनले देखाएको विभागको भनाइ छ । औषधि ऐन २०३५ को दफा १७ मा समूह ‘क’ र ‘ख’ का एन्टिबायोटिक औषधिलाई बिना ‘प्रेस्क्रिप्सन’ बिक्री गर्न नहुने सूचीमा राखिएको छ ।