बीबीसी ।।
मानव तस्करीको आशंकामा चार दिन फ्रान्समा रोकिएको एउटा चार्टड विमान भारतको मुम्बई पुगेको छ । विमानमा ३०३ यात्रुमध्ये २७६ जना भारतीय थिए । लिजेन्ड एयरलाइन्सको विमान मंगलबार मुम्बई अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको हो । चाटर्ड एयरबस ए ३४० विमान युनाइटेड अरब इमिरेट्सबाट ल्याटिन अमेरिकी राष्ट्र निकारागुवाका लागि उडेको थियो । इन्धन भर्न विमान फ्रान्सको एक विमानस्थलमा अवतरण गरेपछि मानव तस्करीको आशंका गरिएको थियो ।
त्यसपछि विमानलाई बिहीबार पेरिसभन्दा १३० किलोमिटर पूर्वस्थित वेट्री विमानस्थलमा रोकिएको थियो । विमानमा रहेका केही यात्री मानव तस्करीको फन्दामा परेको सूचना प्राप्त भएपछि फ्रान्सका अधिकारीहरूले उक्त चाटर्ड विमानलाई रोकेका थिए ।
विमानमा रहेका दुईजना नाबालिगसहित २५ जनाले फ्रान्समा शरण लिने इच्छा व्यक्त गरेपछि उनीहरूलाई अहिले फ्रान्समा नै राखिएको छ । थप अनुसन्धानका लागि फ्रान्सका अधिकारी दुईजना शंकास्पद मानव तस्करलाई फ्रान्समै रोकेका छन् । उनीहरूसँग अहिले सोधपुछ चलिरहेको समाचारमा उल्लेख छ ।