April 20, 2024 | शनिबार, बैशाख ८, २०८१
सुचनाहरु
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित सुप्रिम सहकारी : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश, दिपेश पुनसँग ४ लाख धरौटी माग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित

आज स्ववियु निर्वाचन, चार क्याम्पसमा विद्युतीय मतदान

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ 0९:२४
आज स्ववियु निर्वाचन, चार क्याम्पसमा विद्युतीय मतदान

काठमाडौ । करिब १४ वर्षपछि आज त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ।  निर्वाचनका लागि मतदानको समय आइतबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ।

निर्वाचनका लागि त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले तयारी पूरा गरिसकेका छन्। यसपटक सबै विद्यार्थी सङ्गठनको एकमात्र एजेन्डा स्ववियु निर्वाचन भएपछि निश्चित भएको हो।

पटक पटक घोषणा भए पनि यसअघि स्ववियु निर्वाचन हुन सकेको थिएन। आज हुने स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी सङ्गठनसम्म उत्साही भएका छन्।

उम्मेदवारी दर्तादेखि नै उत्साहपूर्ण रुपमा लागेका विद्यार्थी सङ्गठन  निर्वाचनका लागि झनै उत्साही भएका छन्। उनीहरु अहिले आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन्। देशभरिका त्रिविका ६२ आङ्गिक क्याम्पस र एक हजार ४० क्याम्पसमा एकै दिन हुने निर्वाचनले मुलुक स्ववियु निर्वाचनमय भएको छ। विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यान्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन हुँदै आएको छ।

स्ववियु निर्वाचन २०६५ सालदेखि यता नियमित हुन सकेको छैन। विसं २०५४ मा भएको स्थानीय तहको निर्वाचन एकै पटक गणतन्त्र आइसकेपछि २०७४ सालमा भएको थियो। अहिले स्ववियु निर्वाचन पनि करिब १४ वर्षपछि हुन लागेको हो।  त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारी सरकार, राजनीतिक दल र विद्यार्थी सङ्गठनको सहयोगका कारणले अहिले निर्वाचन सम्भव भएको बताउछन्।

केही क्याम्पसमा विद्यार्थी सङ्गठनबीच सहमति हुन नसक्दा निर्वाचन प्रक्रिया अगाडि नबढेको उनको भनाइ छ। ती क्याम्पस यथाशीघ्र निर्वाचन प्रक्रिया थाल्न निर्देशन दिइसकेको समेत अधिकारीले बताए।

अनेरास्ववियुका अध्यक्ष समिक बडाल प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आकर्षण घटेको बताउँछन्। उनले १४ वर्षपछि हुन थालेको स्ववियु निर्वाचनका कारण विद्यार्थी उत्साहित भएको बताए।

अनेरास्ववियु क्रान्तिकारीका महासचिव दीपेश पुनले स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आन्दोलन कमजोर भएको बताए। सबै विद्यार्थीको एक मात्र एजेन्डा यही भएकाले स्ववियु निर्वाचन सम्भव भएको उनको भनाइ छ। अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले  स्ववियु निर्वाचनले विद्यार्थी आन्दोलनको उचाइ बढाउने बताए।

नेपाल विद्यार्थी सङ्घका नेता दिनेश शाहीले विद्यार्थी सङ्गठन स्ववियु निर्वाचनका सन्दर्भमा एक भएकाले यो सम्भव भएको बताए। स्ववियु निर्वाचनमा अधिकांश क्याम्पसमा सत्तारूढ गठबन्धनका विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुले तालमेल गरेका छन्।

खेलकुद निर्देशनालयका निर्देशक अधिकारीका अनुसार स्ववियु निर्वाचन २०१८÷१९ सालदेखि भएको इतिहास रहेको छ। विसं २०३० देखि प्रत्येक वर्ष हुने स्ववियु निर्वाचन २०३६ सालबाट नियमित दुई÷दुई वर्षमा हुन थालेको हो। २०६५ सम्म नियमित भएको स्ववियु निर्वाचन त्यसयता मुलुकमा गणतन्त्र आइसकेपछि हुन सकेन। विसं २०७३ मा पहिलो पटक मिश्रित निर्वाचन प्रणाली र २८ वर्षे उमेर हदबन्दी लगाएर निर्वाचन भयो। तर उक्त निर्वाचन धेरै क्याम्पसमा हुन सकेन। विसं २०७३ मा उपत्यकाका नौ र उपत्यकाबाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो।

विसं २०७३ देखि स्ववियु निर्वाचन मिश्रित प्रणालीमा हुन थालेको छ। यसपटक पनि स्ववियु निर्वाचन मिश्रित निर्वाचन प्रणालीमा हुन थालेको हो। अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्।

यस्तै स्ववियु निर्वाचनमा उम्मेदवारका लागि उमेर हदबन्दी तोकिएको छ । विसं २०५१ चैत २८ गतेपछि जन्मिएका विद्यार्थी मात्र उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ।

पानीका बोतल, पेट्रोल, डिजेल, मादक पदार्थ, औषधिजन्य वस्तु, सिसाका बोतल, रङ्ग, मसी मतदानस्थलमा लैजान निषेध गरिएको छ । यस्तै, मोबाइल, क्यामेरा, झोला, लौरो, हेलमेट, चाबी, लाइटर, सलाई, नङकट, धारिलो हतियार, भाला, खुकुरी, चक्कु, छुरी जस्ता वस्तु मतदानस्थलमा लैजान प्रतिबन्ध गरिएको छ ।

१० क्याम्पसमा निर्वाचन नहुने

विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालय त्रिविअन्तर्गतका १० वटा आङ्गिक क्याम्पसमा निर्धारित मितिमा निर्वाचन नहुने भएको छ।

विद्यार्थी सङ्गठनले त्रिविले तोकेको समयभन्दा पछाडि विद्यार्थी भर्ना गरेको भन्दै एकअर्कालाई दोष लगाएर तालाबन्दीमा उत्रेपछि ती क्याम्पसमा तत्कालका लागि निर्वाचन टरेको हो।

स्ववियुको निर्वाचन गराउने त्रिविअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार उपत्यकाको त्रिचन्द्र क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस, केन्द्रीय आयुर्वेद क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ ।

त्यस्तै आङ्गिकअन्तर्गत नै उपत्यकाबाहिरका पोखरास्थित पृथ्वीनारायण क्याम्पस, बागलुङको धौलागिरि बहुमुखी क्याम्पस, महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा पनि निर्वाचन प्रक्रिया सुरु भएको छैन।

यीमध्ये अधिकांश क्याम्पसमा तालाबन्दी छ । केहीमा निर्वाचन समितिका पदाधिकारीले राजीनामा दिएपछि प्रक्रिया रोकिएको छ। प्रक्रिया रोकिएकामध्ये त्रिचन्द्र क्याम्पसको निर्वाचन समितिले चैत ९ गते मतदान गर्ने गरी निर्वाचन प्रक्रिया सुरु गरेको निर्वाचन समितिका संयोजक राजेन्द्र गौतमले जनाए।

चार क्याम्पसमा विद्युतीय मेसिन

निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन्।

त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा पशुपति अधिकारीले जानकारी दिए। ती सबै क्याम्पसमा रामलक्ष्मण इनोभेसन प्रालिका विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ।

उनका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १६, पुल्चोक इञ्जिनीयरिङमा १४, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पसमा १२÷१२ विद्युतीय मेसिन प्रयोग गरिनेछ।

उनले चार क्याम्पसमा मतपरिणाम आजै सार्वजनिकसमेत हुने बताए। त्रिवि क्याम्पसमा ६२, पुल्चोक क्याम्पसमा ५८, थापाथली क्याम्पसमा ४१ र पूर्वाञ्चल क्याम्पसमा ४५ जना प्रत्यक्षतर्फका उम्मेदवार छन्। त्रिवि केन्द्रीय क्याम्पसमा तीन हजार तीन सय ३९, थापाथली क्याम्पसमा एक हजार सात सय ५०, पुल्चोक क्याम्पसमा दुई हजार छ सय ९९ र धरानमा एक हजार नौ सय ४१ मतदाता छन्।

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ 0९:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट