March 29, 2024 | शुक्रबार, चैत्र १६, २०८०
सुचनाहरु
पशुपति क्षेत्रमा सवारी साधन चलाउन र शव गाड्न निशेद गर्न सर्वाेच्चको आदेश उपचुनाव लड्न रास्वपा छिरेका मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त नेपाल एले टस जितेर फिल्डिङ गर्दै फेरी राप्रपासँग एकताको गल्ती नगर्ने कमल थापाको भनाई एसइइ चलिरहेको समयमा पटकपटक अनुगमनमा नजान राष्ट्रिय परिक्षा बोर्डको निर्देशन कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन घोषणा भएका पुरस्कार खेलाडीले छिट्टै पाउँछन् : खेलकुदमन्त्री श्रेष्ठ दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु दोहा उडेको जहाज प्राविधिक समस्यापछि काठमाडौं फर्काइयो गाजामा अवरोधविना राहत र चिकित्सा सामग्री लैजान दिन इजरायललाई आईसीजेको आदेश आईपीयूमा भाग लिएर सभामुख नेतृत्वको टोली स्वदेश फिर्ता निजी विद्यालयलाई नाम नेपालीकरण गर्न महानगरपालिकाको अल्टिमेटम भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ओली प्रतिष्ठानले डा. रुइतलाई ५ लाख नगदसहित सम्मान गर्ने ६ अर्ब बक्यौता तत्काल तिर्न स्थानीय तहलाई प्राधिकरणको ध्यानाकर्षण तोलामा २१ सय रुपैयाँ बढ्दा सुनको मूल्य इतिहासकै उच्च सुनको मूल्यमा नयाँ कीर्तिमान ; कति पुग्यो तोलाको ? दुर्गा प्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति सिराहामा बाहिरियो एसईई परीक्षाको नेपाली विषयको प्रश्न पत्र चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा

रवि लामिछानेसँग चुनावी प्रतिष्पर्धाका लागि को–को छन् आकांक्षी ?

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १0:१६
रवि लामिछानेसँग चुनावी प्रतिष्पर्धाका लागि को–को छन् आकांक्षी ?

काठमाडौं । रवि लामिछानेको दोहोरो नागरिकताका कारण सांसद पद खारेज भएपछि चितवन २ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीसहित प्रमुख दलका नेताहरु चुनावी तयारीमा जुटेका छन् ।

रास्वपाले सभापति रवि लामिछानेलाई उमेदवार बनाउने यसअघि नै तयारी थालेको छ । सो पार्टीका एक नेताले दिएको जानकारीअनुसार अर्को व्यक्तिका बारेमा अहिले कल्पना पनि गरिएको छैन ।

चितवन–२ मा आगामी वैशाख १० गते उपचुनाव हुँदै छ । निर्वाचन आयोगले चितवन २ सहित राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएको निर्वाचन क्षेत्रमा पनि एकैदिनमा चुनाव गराउने तयारी गरेको छ ।

सर्वोच्चको संवैधानिक इजलासले ‘सांसदको उमेदवार हुन नेपाली नागरिक हुनु अनिवार्य हुने’ फैसला सुनाएपछि लामिछानेको सांसद र मन्त्री पद दुवै गएको थियो ।

फैसलाको दोस्रो दिन नै रवि लामिछानेले नेपाली नागरिकता लिएका थिए ।

रास्वपाले औपचारिक निर्णय गर्न बाँकी रहे पनि सभापति रवि लामिछानेलाई नै चितवन–२ मा पुनः उमेदवार बनाउने पक्का छ ।

“हाम्रोमा औपचारिक निर्णयका लागि प्रस्ताव हुन्छ । प्रस्तावमा एकभन्दा बढी आकांक्षी भएमा ‘प्राइमरी इलेक्सन’बाट उमेदवार छानिने हो,” रास्वपाका महामन्त्री मुकुल ढकालले बाह्रखरीसँग भने, “तर, सभापतिको हकमा प्राइमरीले अर्को उमेदवार छान्न भन्न सकिने अवस्था छैन । त्यसैले औपचारिक निर्णय नभए पनि हाम्रो उमेदवार उहाँ नै हो ।”

ढकालका अनुसार उपचुनाव दुई वा तीन निर्वाचन क्षेत्रमा हुने भएकाले पार्टीले सबै क्षेत्रमा एक साथ उमेदवारका विषयमा निर्णय लिने बताए ।

चितवन–२ मा रास्वपाबाट रवि उमेदवार हुने निश्चित भएपछि अरु पार्टीमा पनि उमेदवारको खोजी सुरु भएको छ ।

नेपाली कांग्रेसमा यसअघि, चुनाव लडेका उमेश श्रेष्ठलाई उमेदवार बनाउने वा नबनाउने भन्नेमा फरक फरक मत छ ।

“उमेशजी राम्र्रो मान्छे हो, यसमा दुइमत छैन । तर, उहाँलाई चितवन कांग्रेसले र जनताले पनि अपनत्व लिएको देखिएन,” चितवनका एक कांग्रेस नेताले बाह्रखरीसँग भने, “फेरि उहाँले रविको उमेदवारी खारेजी पनि जुन प्रकारका माग लिएर निर्वाचन आयोग जाने र पत्रकार सम्मेलन गर्ने काम गर्नुभयो । त्यसले पनि उहाँ निर्वाचनका लागि तयार हुनुहुन्छ भन्ने देखाउँदैन ।”

तर उमेश निकट अर्का एक नेताले भने यसअघिको चुनावमा उहाँ नै रविको प्रतिष्पर्धी भएकाले पार्टीले उहाँलाई नै मौका दिनुपर्ने बताउँछन् ।

श्रेष्ठले अहिलेसम्म चुनावका बारेमा सार्वजनिकरुपमा केही भनेका छैनन् ।

नेपाली कांग्रेसबाट अहिले श्रेष्ठबाहेक जिल्ला सभापति राजेश्वर खनाल र पूर्वसभापति जितनारायण श्रेष्ठ आकांक्षीका रुपमा देखिएका छन् । उनीहरु दुवै क्षेत्र नम्बर–२ कै बासिन्दा र मतदातासमेत हुन् ।

अर्थविद डा. स्वर्णीम वाग्लेलाई सम्भावित उमेदवारका रुपमा यसअघि प्रस्तुत गर्ने गरिए पनि उनले चितवन–२ को उपचुनावमा उमेदवारको अकांक्षी नरहेको घोषणा गरिसकेका छन् ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूले मागेको क्षेत्रमा कांग्रेसले टिकट नदिएको भन्दै अहिले उपचुनावमा आफू अकांक्षी नरहेको बताएका थिए ।

जिल्ला सभापति खनालले भने आफू उमेदवारको आकांक्षी रहेको भन्दै घोषणा भने जिल्ला कार्यसमिति र निर्वाचन क्षेत्रका अन्य साथीहरुसँगको परामर्शपछि मात्र गर्ने बताए ।

त्यसबाहेक पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग पनि छलफल गरेर निर्णयमा पुग्ने उनको तयारी छ ।

“यहाँ उमेदवार मात्र बन्नुको कुनै अर्थ छैन । जित्नेगरी उमेदवार बन्ने हो । त्यसरी उमेदवार बन्न पहिले यहाँका आकांक्षीसहितका साथीहरुसँग छलफल गर्ने हो,” जिल्ला सभापति खनालले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, “त्यसपछि सभापतिज्यू र केन्द्रका नेताहरुसँग छलफलपछि म उमेदवार बन्ने कुरा सार्वजनिक गर्नेछु ।”

चितवन–२ मा उमेदवारको आकांक्षा राख्ने अर्का व्यक्ति हुन्– जिल्ला कार्यसमितिका पूर्वसभापति जितनारायण श्रेष्ठ । उनले जिल्लाका साथीहरुको रोजाइकै उमेदवार बनाउँदा कांग्रेसले चुनाव जित्ने दाबी गर्दै आफू उमेदवार बन्न इच्छुक भएको बताए ।

“चितवन–२ को उपचुनावमा म उमेदवार बन्न चाहन्छु । नेविसंघ अध्यक्षदेखि पार्टी सभापति भएर यहाँका साथीहरुसँगै सहकार्य गरेको छु । चुनाव जित्नेमा विश्वस्त पनि छु,” श्रेष्ठले भने, “कतिपय साथीहरु रविजीसँग चुनाव लड्न डराएको पनि मैले देखेको छु ।”

उनले क्षेत्र नम्बर–२ कै र जिल्लाबासीसँग काम गरेको व्यक्ति उमेदवार बने चुनाव कांग्रेसले नै जित्ने दाबी पनि गरे । ‘सर्वोच्चको फैसलापछि रविको थप क्रेज देखियो भन्ने छ नि ?’ भन्ने प्रश्नमा श्रेष्ठले त्यो गलत भएको बताए ।

“गत वर्ष मंसिरको हकमा भन्ने हो भने रविजीको व्यापक क्रेज देखिएको थियो । उहाँलाई जिताएर पठाएपछि सबै समस्या समाधान हुन्छन् भन्ने धारणा नै देखिएको थियो,” श्रेष्ठले भने, “तर, उहाँ निर्वाचित भएर गएपछि सांसद र उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारीमा रहँदा स्थानीय नागरिकमा सोचेजस्तो होइन रहेछ भन्ने रियलाइजेसन भएको पाएको छु ।”

कांग्रेसमा जस्तै नेकपा (एमाले)मा पनि उक्त क्षेत्रमा प्रतिस्पर्धाको आकांक्षीहरुको संख्या एकभन्दा बढी छ । यसअघि, चितवन एमालेका पूर्वअध्यक्ष समेत रहेका एमाले पोलिट्ब्युरो सदस्य कृष्णभक्त पोखरेल चुनाव लडेकोमा अहिले वैकल्पिक उमेदवारको खोजी भइरहेको एमाले स्रोत बताउँछ ।

पोखरेलले पनि चुनाव हारेकाले उपचुनावमा खास चासो देखाएका छैनन् । उनले पार्टीले निर्णय नै गरेर चुनाव लड भनेको अवस्थामा आफू तयार हुने बताउँदै चुनाव हारेको एक वर्ष पनि नभएकाले फेरि आफू नै उमेदवार हुनुपर्छ भनेर नलाग्ने उनका निकटहरुसँग बताउने गरेका छन् ।

आफूबाहेकको उमेदवार पार्टीले छानेमा जिताउनका लागि आफू लाग्ने उनको भनाइ छ ।

यो क्षेत्रमा महानगरको चुनावमा उमेदवार बनेका विजय सुवेदीलाई पनि उमेदवारका रुपमा हेरिएको थियो । तर, सुवेदीले पनि आफू अहिले चुनावको तयारीमा नरहेको बताएका छन् ।

चितवन–२ मा चुनाव लड्नका लागि जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेसहित देवी ज्ञवाली र खुमनारायण श्रेष्ठको नाम पनि चर्चामा छ ।

जिल्ला अध्यक्ष न्यौपाने अहिले प्रारम्भिक छलफल मात्र सुरुआत भएको भन्दै आवश्यक समयमा सर्वसम्मत रुपमा उमेदवारको टुंगो लाग्ने बताउँछन् ।

“प्रारम्भिक छलफल सुरुआत भएको छ । टुंगोमा पुग्न केही समय लाग्छ । पार्टीले क्षेत्रीय कमिटीसँग सिफारिस माग्छ वा सिधै जिल्ला कमिटीलाई टुंग्याउन निर्देशन दिन्छ,” अध्यक्ष न्यौपानले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, “विभिन्न नाममा चर्चा भए पनि सर्वसम्मत एकजनाको नाम टुंग्याउँछौँ ।”

भरतपुर महानगरको मेयरमा गत वर्ष पराजित भएका एमाले नेता विजय सुवेदी चुनावबारे धेरै छलफल भइनसकेको भन्दै अघिल्ला निर्वाचन, राष्ट्रिय राजनीतिको समीकरणमा भएको अदलबदलपछि कसरी अघि जान्छ भन्ने प्रष्ट कुरा आइनसकेको बताउँछन् । तर, उनी आफू भने उमेदवारी दिने दौडमा छैनन् ।

“मेरो व्यक्तिगत सोचाइ छैन । पार्टीबाट निर्णय भए स्वीकार गर्ने कुरा भइहाल्छ । देश र जनताका लागि आफूले जे गर्न सकिन्छ गर्ने हो,” सुवेदीले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, “त्यसका लागि पदमा नै पुग्ने कुरा होइन, जहाँ बसेर भए पनि गर्न सकिन्छ । कस्तोखालको व्यक्तित्व र नेतृत्व आवश्यक छ, त्यो केन्द्रले निक्र्यौैल गर्ला ।”

सत्तारूढ दलसँग चुनावी गठबन्धन हुँदैन ः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले भने सत्ता गठबन्धनमा रास्वपा सहभागी भए पनि चुनावी गठबन्धन भने नहुने बताएको छ । उसले चुनावी गठबन्धन गर्नु नै नहुने भन्दै चुनावपछिको गठबन्धन भने आवश्यकताअनुसार हुनसक्ने बताएको छ ।

“हामी सत्ता गठबन्धनमा आबद्ध भए पनि, नभए पनि चुनावी गठबन्धन भने कसैसँग गर्दैनौँ र यसले सत्ता गठबन्धन हुने वा नहुने कुराको अर्थ पनि राख्दैन,” रास्वपाका महामन्त्री ढकालले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, “हामी त चितवन–२ मा मात्र होइन, अन्यत्र जहाँ उपचुनाव भए पनि चुनावी गठबन्धनमा सामेल हुँदैनौँ ।”

उनले रास्वपाले आफूलाई परीक्षण गर्न आवश्यक रहेको भन्दै अरु दलको सहयोगमा चुनाव जित्ने पक्षमा रास्वपा नरहेको बताए ।

 

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १0:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट