जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधाममा निर्माण हुन लागेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाको लागि प्रदेश सरकारले १ अर्ब रकम बिनियोजन गर्ने बताउनुभएको छ ।
मुख्यमन्त्री यादवले जनकपुरधामको वडा नंं १४ रजौलमा बन्न लागेको रङ्गशालाको भौतिक अवस्थाको आज निरीक्षण गर्नुहुँदै रङ्गशालाको निर्माण गरेर ११औँ राष्ट्रिय खेलकुद जनकपुरधाममा नै गर्नका लागि प्रयास गर्ने बताउनुभयो ।
उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधामको भ्रमण गर्ने क्रममा भारत सरकारको तर्फबाट जनकपुरधामको विकासका लागि घोषणा गर्नुभएको १ अर्ब भारतीय रकम पनि यसै रङ्गशालाको निर्माणमा खर्च गरिने बताउनुभयो ।
मुख्यमन्त्री यादवले यस ठाउँमा यही चैत्र २० गतेदेखि हुन लागेको मेयर कपपछि मुख्यमन्त्री कप गराउनका लागि जिल्ला क्रिकेट सङ्घसँग सहकार्य गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले यस रङ्गशालालाई प्रदेशको गौरवको योजनाको रुपमा बढाउन तयार रहेको बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले भारतीय प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणको क्रममा घोषणा भएको १ अर्ब भारतीय रकम ल्याउन उपमहानगरपालिकाले तीनै सरकारसँग समन्वय एवं सहकार्य गरिरहेको बताउनुभयो ।
उहाँले उक्त रकम जनकपुरधाममा बन्न लागेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माणमा नै खर्च गर्न सहयोग पुग्ने बताउनुभयो ।
गुठी संस्थानबाट राष्ट्रिय खेलकुद परिषद्ले १७ विगाह जग्गा लिजमा लिएको छ । अहिले सो ठाउँमा मेयर कप गराउनका लागि पूर्वाधारको निर्माण तीव्र रुपमा भइरहेको छ । खेलकुद परिषद् पनि केही पूर्वाधारको निर्माणको काम थालेको छ ।