बुटवल । राष्ट्रपति निर्वाचनले परिवर्तन भएको सत्ता समीकरणका कारण लुम्बिनीमा पनि सरकार परिवर्तन हुन लागेको छ ।
नेकपा (एमाले)का लिला गिरी नेतृत्वको प्रदेश सरकारमा सहभागी माओवादीका मन्त्रीहरुले राजीनामा दिएका छन् ।
माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादीका मन्त्रीले मुख्यमन्त्री गिरीसमक्ष राजीनामा दिएको बताए। उनले भने, “हाम्रो दलका मन्त्रीहरुले मुख्यमन्त्रीसमक्ष राजीनामा दिनुभएको छ।”
यता नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माओवादी तयार भएको छ ।
चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ सांसदको हस्ताक्षरसहित सरकार दाबी गर्न जाने बरालले बताए । उनले १ बजे प्रदेश प्रमुखको कार्यालयमा जाने जानकारी दिए ।
कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले सरकारको दाबीमा ५४ जनाले सही गर्ने बताए। उनले कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टीसहितका ५४ सांसद प्रदेश प्रमुखकोमा जाने बताए । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्दछ ।