विराटनगर । हुलाकी सडक निर्माणमा हुँदै आएको बेथिति एवम् ढिलासुस्तीबारे केन्द्र र प्रदेशका सांसदसँगै स्थानीय तहका प्रमुखहरूले आपत्ती जनाएका छन्।

बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेकपा एमालेका प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले हुलाकी सडक मार्ग निर्माणमा अत्याधिक ढिलासुस्ती र गुणस्तरहीन काम हुँदै गएको बताएका छन्।

संघीय सरकारको बजेटमा निर्माण हुँदै आएको सडकअन्तर्गत मोरङमा पर्ने आयोजनाको क्षेत्र जनप्रतिनिधिको रहोबरमा निर्माण कार्यको मूल्यांकन र परीक्षण हुनुपर्ने उनले माग गरेका छन्।

मोरङ- २ बाट निर्वाचित प्रतिनिधि सभासदस्य पोखरेलले आयोजना क्षेत्रको विभिन्न स्थानमा कामहरू अपुरो छाडिएको बताए। उनले भने,’सडक निर्माणमा सरकारले निर्माण ब्यवसायीलाई सोधखोज गर्नु आवश्यक भएको छ। हाल निर्माण हुँदै आएको सडकका विभिन्न स्थानमा काम आधामै छाडिएको छ। जसको कारण सर्वसाधारणदेखि सबैलाई समस्या हुँदै आएको छ।’

पत्रकार सम्मलेनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सभासदस्य भीम पराजुलीले हाल निर्माण कार्यमा ढिलाइ हुँदा सर्वसाधारणलाई असुविधा हुँदै गएको बताए। वर्षाको समय सुरू हुनलागेको बताएका प्रदेश सभासदस्य पराजुलीले निर्माण कार्य गुणस्तर हुन नसकेको र धुलाम्मे अवस्था भएको बताए।

उनले भने‍,’लामोसमयदेखि निर्माण हुँदै आएको सडक निर्माणले पूर्णता पाउन अझैकति समय लाग्ने हो। धुलो र खराब सडकका कारण सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ। यसबारे निर्माण कम्पनी र सरकार दुवै सजग नरहेको अवस्था छ। हामी यस निर्माण कार्यलाई चाडै पूर्णता दिएको हेर्न चाहान्छौँ।’

त्यसैगरी, नेकपा माओवादी केन्द्रका प्रदेश सभासदस्य गणेश उप्रेतीले निर्माण कार्य ढिलाइसँगै आयोजना स्थानको सौन्दर्यकरण गर्ने कामलाई पनि तत्कालअघि बढाउनुपर्नेमा जोड दिए। आयोजनाको कामलाई ठप्प पारेर जनतालाई सास्ती दिने काममा संलग्नलाई सार्वजनिक गर्दै कारवाही गरिनुपर्ने उनले बताए।

पत्रकार सम्मेलनमा केन्द्रीय प्रतिनिधि सभासदस्यबाट पोखरेलसँगै योगेन्द्र मण्डल, प्रदेश सभासदस्यतर्फ भीम पराजुली, गणेश उप्रेती, लिलाबल्लभ अधिकारी, जयप्रकाश चौधरी, गयानन्द मण्डल, अमृत अर्याल, स्थानीयतहबाट नागेश्वरप्रसाद सिंह, श्याम राजवंशी, दिलीप बगडिया, जिवछ गच्छदार, र देवराज चौधरी उपस्थित रहेका थिए।