काठमाडौं ।।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पाँच वटा प्रश्न सोधेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गत वर्ष पनि बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषय उठेपछि यसवर्ष त्यस्तो विषय नआउने सोचेको तर यस वर्ष पनि सेटिङमा काम भएको आरोप लगाए ।
सांसद शाहीले सोधेका प्रश्न
१. करको दर फाइनल गर्नका लागि जेठ १४ गते राति भन्सार विभागका पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठ संलग्नताको वास्तविकता के हो ?
२. विद्युतीय गाडीको करको दर बजेटअघि चुहाएर करिब ११ सय गाडी नेपाल भित्र्याइएको छ । त्यसबाट मुलुकलाई ९० करोड रुपैयाँ राजस्व घाटा भएको छ । यसको वास्तविकता के हो ?
३. भन्सार विभागका उपसचिव स्तरका कर्मचारीसमेत प्रवेश नपाउने बजेट निर्माणको संंवेदनशील क्षेत्रमा पूर्व कर्मचारी श्रेष्ठ कसको स्वार्थमा, कसको प्रतिनिधि बनाएर आर्थिक विधेयक बनाउने कक्षमा प्रवेश गराइएको हो ?
४. बजेटको मुखमा भन्सार विभाग नेतृत्वहीन बनाएर जुनियर अधिकृतलाई जिम्मेवारी दिइएको छ । यस्तो किन भयो ?
५. पूर्वकर्मचारी रामकृष्ण श्रेष्ठलाई किन करारमा नियुक्त गरियो ?