बोदेबर्साइन नगरपालिका-५ का सांसद यादवलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरी सोमबार नै जिल्ला अदालत सप्तरीमा पेस गरिएको थियो । उनलाई पुनः मंगलबार पेस गर्ने गरी प्रहरीलाई हिरासतमा राख्न अदालतले भनेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
वि.सं.२०६४ असार ९ गते अपहरण गरी तत्कालीन खोक्सरप्रवाहा गाविस-१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको नेङ्गडा गाविस-५ वैरिया टोलमा पाँच गोली प्रहार गरी हत्या भएको थियो ।
मृतककी दिदी धनगढी गाविस-३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते कर्तव्य ज्यान मुद्दामा यादवसहित नौ जनामाथि किटानी जाहेरी दिएकी थिइन् ।
जाहिरीपरेपछि यादव फरार भएका थिए । २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा फरार रहेका यादवलाई पक्राउ गरी मुल्तवीमा राखी अनुसन्धान गर्न आदेश दिएको थियो । त्यस यता उनी फरारको सूचीमा थिए । यद्यपि उनी प्रत्यक्ष चुनाव लडेर जित्दासमेत प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।