

काठमाडौँ ।।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्षित गर्दै दम्भ र घमण्डले मानिस सकिने बताएका छन्। सोमबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन्।
‘एउटा युवा १ सय २५ घन्टादेखि उभिएर सत्याग्रह गरिरहेको छ। त्यहाँ माग के हो भनेर सरकारले सोध्यो ? एक जनाले जोसँग सम्बन्धित छ विषय, तीनका नेता खोज्दै जानुपर्ने लगायतका अभिव्यक्ति आएका छन्,’ ओलीले अघि भने, ‘दम्भ र घमण्डले मान्छेलाई सिध्याउँछ । समस्या बल्झाएर कोही सफल हुँदैन। समाधान गरेर सफल हुन्छ।’ साथै, उनले सरकालाई शक्ति विभाजित हुन सकेपनि सत्य विभाजित हुन नसक्ने उल्लेख गरे।
‘म सरकारलाई भन्न चाहन्छु, शक्ति विभाजित हुन सक्छ, सत्य विभाजित हुन सक्दैन। म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु , सत्यलाई विभाजित गर्न सकिँदैन,’ ओलीले भने, ‘सत्यसँग सिंह नजुधाउनुस्, शिक्षकहरूसंग चलाखी नगर्नुस्। शिक्षा मन्त्रालयमा वार्ता हुँदैन, गृहमा हुन्छ। एकथरीसँग वार्ता गरिन्छ अर्कोसँग गरिँदैन्। लोकतन्त्रमा यस्तो हुँदैन।’

