काठमाडौं ।।
काठमाडौंको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौं आइपुगेको छ । चिनियाँ टोली सोमबार बेलुका काठमाडौँ आइपुगेको हो । टोलीमा उपप्रमुख ताइजुनसहित नान्जिङ्ग स्कूल अफ एडमिनिष्ट्रेसनका कार्यकारी उपाध्यक्ष मेन्ग फान्यु, अन्तर्राष्ट्रिय मामिलाका उपमहानिर्देशक, झ्याङ् बिन, पर्यावरण र वातावरण व्यूरोका उपमहानिर्देशक याङ् लिन्फु, सचिवालयका उपप्रमुख वाङ् रुइरुई काठमाडौं आएका हुन् । उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलको विशिष्ट कक्षमा महानगरपालिकाका निर्देशक महेश काफ्ले र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख यम बसेलले स्वागत गरेका थिए ।
चीनको नान्जिङ्गका साथै छेन्दु र झान्झाउ नगरपालिका तथा सियान सिटीबाट पनि पाहुनाहरु नेपाल आउने काठमाडौं महानगरपालिकाले जनाएको छ । उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि चीनसँगै अमेरिकाको फेडरिसवर्ग सिटीबाट पनि पाहुनाहरु आउने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महानगरले २०७६ सालबाट भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरुबाट पाहुना बोलाउन थालेको हो । ती पाहुनालाई ईन्द्रजात्रा अवलोकन हुने रुटमा पर्ने हनुमान ढोका केन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार क्षेत्रको समेत अवलोकन गराउने तयारी भइरहेको छ ।