July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सबैलाई अपिल गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १३:४२
सबैलाई अपिल गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संयम अपनाउन सबैलाई अपील
  • सबैलाई जिम्मेवार बन्न र संयम अपनाउन अनुरोध
  • अन्तरसमुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न

काठमाडौं ।।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संयम अपनाउन सबैलाई अपील गरेकी छन् । देशका कतिपय स्थानमा भएका घटनाले धार्मिक, सांस्कृतिक एवं अन्तरसमुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न भएको भन्दै उनले सबैलाई जिम्मेवार बन्न र संयम अपनाउन अनुरोध गरेकी छन् । शुक्रबार सार्वजनिक सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाली जनतालाई एकअर्काविरुद्ध उभ्याउने गतिवधिमाथि मलजल गर्न मिथ्या सूचना उपयोग भइरहेको तर्फ समेत ध्यानाकर्षण गराएकी छन् ।

धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधतालाई देशको सौन्दर्य र सम्पदाका रुपमा आत्मसाथ गर्दै आएको भन्दै उनले भनेकी छन्, ‘कुनै पनि प्रकारका विभाजनकारी प्रवृत्तिबाट प्रभावित नभई जातीय, धार्मिक एवं सामाजिक सद्भावलाई जोगाउन हामी फेरि एकपटक एकताबद्ध बन्नु परेको छ ।’

 पूर्वराष्ट्रपतिको सार्वजनिक सन्देश-

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

नेपाली समाजमा सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक एवं अन्तरसामुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न हुनेगरी देशका कतिपय स्थानहरूमा भइरहेका क्रियाकलापहरूका सन्दर्भमा म सबैमा जिम्मेवार बन्न, धैर्य धारण गर्न र संयम अपनाउन हार्दिक अनुरोध गर्दछु । समाजमा शान्ति खल्बलिनेतथा प्रचलित कानुनको पालनामा प्रतिकूल असर पर्नेगरी नेपाली जनतालाई नै एकअर्काविरुद्ध उभ्याउने गतिविधिमाथि मलजल गर्न मिथ्या सूचना र झूटा समाचारको समेत उपयोग भैरहेकोतर्फ समेत म सबैको ध्यान आकृष्ट गर्न चाहन्छु ।

नेपाली समाजको धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधतालाई हामीले देशको सौन्दर्य र सम्पदाका रूपमा आत्मसात गर्दै आएका छौं । यही विविधता बिचको एकता, आपसी सद्भाव एवं सहिष्णुता नै हाम्रो राष्ट्रिय शक्ति हो । हाम्रो संविधानले पनि “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो” भनी नेपाल राष्ट्रलाई परिभाषित गरेको छ । यसरी संविधानले सबै नेपाली जनतालाई सम्मान र समानताको अधिकार प्रदान गरेको हामी सबैमा विदितै छ । सबै नागरिकलाई आ–आफ्नो धर्म, संस्कृति र परम्पराको निर्वाध पालनाका लागि हाम्रो संविधान, कानुन र राजनीतिक संरचनाले पर्याप्त स्थान दिएका छन् ।

हाम्रो मुलुकमा कसैले पनि आफूलाई कुनै खास भौगोलिक, जातीय, भाषिक वा सांस्कृतिक पृष्ठभूमिका कारण उच्चताबोध वा हीनताबोध गर्नुपर्ने अवस्था छैन । इतिहासको अवशेषका रूपमासमाजमा अझसम्म कायम  रहेका कतिपयकुरीति, तुस र असन्तोषलाई आपसी संवाद, अन्तरक्रिया र कानुनी उपचारका माध्यमबाट मेटाउँदै हामीले आपसी विश्वास र सहिष्णुताको वातावरणलाई नयाँ उचाईमा पुर्‍याउनु पर्दछ । एकअर्काको धार्मिक आस्था र सांस्कृतिक परम्परालाई सम्मान गर्ने ऐतिहासिक कालदेखिको हाम्रो असल परम्परालाई थप सुदृढ तुल्याउनु पर्दछ । जातीय र धार्मिक सद्भाव कायम राखेर मात्र समाजमा सबै नागरिकको सुरक्षा एवं सम्मानको प्रत्याभूति दिन सकिन्छ । हामीलाई हाम्रै देशको माटोमा विकास भएका जनक, बुद्ध, वैदिक, शैव तथा प्रकृतिपूजक सभ्यताहरूले यही शिक्षा दिंदै आएका छन् । आजको घडीमा हामी सबैले हाम्रो सभ्यताका मार्गदर्शनलाई गहिरो गरी आत्मसात गर्नसक्नुपरेको छ ।

हाम्रा सामु समाजलाई थप उन्नति र प्रगतिको दिशातर्फ अगाडि बढाउन चुनौतीहरू अवश्य छन्, तर हामी भित्रको संकल्प बलियो छ । कुनैपनि प्रकारका विभाजनकारी प्रवृत्तिबाट प्रभावित नभई नेपालको पहिचान र प्रगतिको आधारशिलाका रूपमा रहेको जातीय, धार्मिक एवं सामाजिक सद्भावलाई जोगाउन हामी फेरि एकपटक एकताबद्ध बन्नु परेको छ । हामी एउटा यस्तो राष्ट्र निर्माणका लागि कटिबद्ध छौँ, जहाँ प्रत्येक नागरिकले आफूलाई सम्मानित र समग्रताको अभिन्न अङ्गको रूपमा स्वीकार गरिएको महसुस गरुन् । सुदृढराष्ट्रिय भावना र सद्भावप्रतिको हाम्रो प्रतिबद्धताले नै हामीलाई निरन्तर अगाडि बढ्न मार्गनिर्देशन गर्नेछ भन्ने विश्वाससहित सबैमा सामाजिक एकता, जागरण र पहरेदारीका लागि हार्दिक अपील गर्दछु ।

धन्यवाद ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १३:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्