काठमाडौं ।।
युनिलिभर नेपाल लिमिटेडले लगानीकर्तालाई यो वर्ष प्रतिकित्ता एक हजार ५८० का दरले लाभांश दिने भएको छ । कम्पनीको असोज २६ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट प्रतिकित्ता एक हजार ५८० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो । ३० वर्ष पुरा गरेको उपलक्ष्यमा उक्त लाभांश घोषणा गरेको कम्पनीले जानकारी दिएको छ ।
गत वर्ष कम्पनीले लगानीकर्तालाई प्रतिकित्ता एक हजार २१५ रुपैयाँ लाभांश दिएको थियो । कम्पनीले घोषणा गरेको उक्त लाभांश साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्नेछन् । साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गरेको छ । मंसिर ११ गतेसम्म यो कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।