काठमाडौं ।।
नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपालविरुद्ध १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४० रनको योगफल खडा गर्यो । यूएईका बसिल हमेदले ५१ रन बनाए । उनले ३८ बलमा एक चौका र चार छक्का प्रहार गरे । यस्तै, अली नासीरले ३२ रन जोडे । ५२–४ को अवस्थाबाट यी दुईले पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी गर्दै यूएईलाई प्रतिस्पर्धात्मक योगफलसम्म डोहोर्याएका थिए ।कप्तान मुहम्मद वसिमले १७ र आसिफ खानले १५ रन थपे ।
नेपालका करण केसीले तीन विकेट लिए । करणले चार ओभरको स्पेलमा १९ रन खर्चिए । गुल्सन झाले दुई विकेट लिदा अभिनाश बोहरा र सोमपाल कामीले समान एक विकेट लिए ।आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र यूएई सहभागी छन् । शृंखलाको पहिलो खेलपछि नेपालले २ गते (भोलि) र ४ गते हङकङसँग खेल्नेछ । नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।