काठमाण्डाै – आईसीसी टी-२० विश्व कप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान खेल्दैछन् ।
खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुनेछ । नेपालले यूएई र ओमानले बहराइनलाई हराउँदै फाइनलमा पुगेका हुन् । समूह ‘ए’ मा रहेका दुवै टोली लिग चरणमा समेत भेटेका थिए । लिग चरणको खेलमा ओमानले नेपाललाई हराएको थियो ।
ओमानसँग ५ रनले पराजित भएको नेपाल समूह उपविजेता बनेर सेमिफाइनल पुगेको हाे । सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि पुनः ओमानसँग खेल्न लागेको हो ।
प्रतियोगिताको फाइनल प्रवेश गरेका नेपाल र ओमान दुवै टोली अर्को वर्ष वेस्ट इन्डिजमा हुने टी-२० विश्व कपमा छनोट भइसकेका छन् ।
दुई टोलीबिच भएका ५ खेलमा नेपालले ३ तथा ओमानले २ खेल जितेको छ । तर, ओमान पछिल्लो समय राम्रो लयमा देखिएको छ । टोली पछिल्ला ५ खेलमा अपराजित रहेको छ । नेपालले भने पछिल्ला ५ मध्ये ३ खेलमा जीत र दुई खेलमा हार बेहोरेको छ ।