काठमाडौं ।।
राष्ट्रिय मानव अधिकार आयोगले युवा संघ र दुर्गा प्रसाईंले भोलि गर्न लागेको कार्यक्रमलाई लिएर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले मानव अधिकारको दृष्टिकोणबाट प्रदर्शनको अनुगमन गर्नेसमेत बताएको छ । बुधबार एक विज्ञप्तिमार्फत आयोगले प्रदर्शनका सम्बन्धमा सामाजिक सञ्जालमा आएका अभिव्यक्ति, सञ्चार माध्यममा प्रकाशन, प्रसारण भएका सामग्रीहरूलाई गम्भीररूपमा लिएर नजिकबाट अध्ययन गरिरहेको पनि बताएको छ ।
दुवै पक्षबाट शक्ति प्रदर्शन गर्ने र आरोपप्रत्यारोपयुक्त अभिव्यक्तिहरू दिने जस्ता गतिविधिहरू भएको पाइएकोले यसबाट सर्वसाधारणमा भय र त्रासको अवस्था सिर्जना भएको पाइएको आयोगले जनाएको छ । लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाइने संवैधानिक अधिकार भए पनि प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुपर्ने आयोगको भनाइ छ । जसका लागि प्रदर्शनकारीकै प्राथमिक दायित्व हुने आयोगको ठहर छ । साथै आयोगले शान्तिपूर्णरूपमा भेला हुने अधिकारको सम्मान गर्दै नागरिकमाथि अनावश्यक बल प्रयोग नगर्न तथा प्रदर्शनमा शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ ।