काठमाडौं ।।
नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले एनसेल बिक्री नभएर नाटक गरिएको टिप्पणी गरेका छन् ।शुक्रबारको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएर छलफल गरिनुपर्ने बताए । “६ खर्बको चिज अर्बमा बेच्ने, यसमा समितिका तर्फबाट गर्ने भूमिकामा कमी आउन दिनु हुन्न । प्रधानमन्त्री बोलाएर पनि छलफल गर्नुपर्छ,” उनले भने, “यो बिक्रीको नाटक हो, बिक्री होइन । यसलाई गम्भीर भएर लिनुपर्छ ।”
उनले संघीय मामिला मन्त्रालयले सुशासन कायम गर्न नकारात्मक काम गरेको आरोप लगाएका छन् । उनले प्रमुखहरूको गाइजात्रा देखिएको टिप्पणी समेत गरे । “संघीय मामिला मन्त्रालयले सुशासन कायम गर्न नेगेटिभ काम भयो । अहिलेसम्म बजेट पेस नगर्ने पालिका छन्, त्यहाँको हालत के भएको होला ? बजेट नल्याएर जनतालाई दुख दिन्छन्, अनि व्यवस्थामा रिस बढेको छ,” उनले भने, “प्रशासनिक प्रमुखहरूको गाइजात्रा छ । चार महिनामा चारजना फेरिन्छन् । यसमा पनि मामिला मन्त्रालय हेरेर बसेको छ । यसमा गम्भीर हुन जरूरी छ ।”