काठमाडौं ।।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कसैले धम्क्याउँदैमा चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियाबाट सरकार पछि नहट्ने बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा अभियन्ता डा. गोविन्द केसीप्रति लक्षित गर्दै मन्त्री बस्नेतले कोही ‘सुत्छु’ भन्दै धम्क्याउँदैमा सरकार ऐन संशोधनबाट पछि नहट्ने बताए ।
चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले गर्दा नेपालमा मेडिकल शिक्षा जुन ढंगले अघि बढ्नु पर्ने हो त्यसो हुन नसकेको उनको भनाइ थियो । चिकित्सा शिक्षा ऐनका कारण देशमा आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएकाले संशोधन गर्न लागिएको उनले जानकारी दिए । चिकित्सा क्षेत्रमा २२ वर्षअघिको दरबन्दीले काम भइरहेको बताउँदै उनले यसलाई थप गरेर अघि बढ्ने बताए ।
सरकारले अहिले एक सयदेखि तीन सय शय्या भएका अस्पताललाई नर्सिङ र प्यारामेडिकस् पढाउन दिने र तीन सयभन्दा बढी शय्या भएका अस्पताललाई एमबीबीएस पढाउन दिने गरी खुकुलो पार्न लागेको उनले जानकारी दिए । मन्त्री बस्नेतले सूर्तीजन्य पदार्थमा लगाइँदै आइएको कर अब स्वास्थ्य मन्त्रालय मातहतमा ल्याउने गरी काम भइरहेको जानकारी दिए ।