July 15, 2024 | सोमवार, असार ३१, २०८१
सुचनाहरु
संघीय संसद्का दुवै सदनको बैठक बस्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि सुनको मूल्य अहिलेसम्मकै उच्च प्रधानमन्त्री ओलीको क्याविनेटमा को को बने मंत्री ? प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई कोशीमा सरकार पुनर्गठनको तयारी कोकिनसहित विदेशी महिला पक्राउ मुकुल ढकाललाई स्वर्णिम वाग्लेको सचिवालयबाट धम्की कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पशुपतिनाथमा बृहत् कोटीहोम महायज्ञ आयोजना हुँदै आज देशको ४५औँ प्रधानमन्त्री बन्दै एमाले अध्यक्ष केपी शर्मा ओली युरोकपको फाइनल आज, स्पेन र इङ्ल्याण्ड भिड्दै राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्री दाहालको निर्देशन बालेनसँग श्रीलंकाका राजदूत पाथिरानाको शिष्टाचार भेट अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री ४३ जिल्ला वर्षाको उच्च जोखिम, आवश्यक पूर्वतयारी गर्न आह्वान कोलम्बिया कोपा अमेरिका कपको फाइनलमा

बालबालिका र बूढापाकाले धानेको गाउँ

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १५:३८
बालबालिका र बूढापाकाले धानेको गाउँ

बाग्लुङ – अप्ठ्यारो भूगोल । चारैतिर डाँडाकाँडा र भिरैभिर । थुम्का–थुम्कामा बस्ती । साँघुरा र कच्ची सडक । बाग्लुङ नगरपालिका–११ मा पर्ने रायडाँडा अहिले पनि बत्तीमुनिको अँध्यारो जस्तै छ ।

दुर्गम गाउँ भए पनि डेढ दशक अघिसम्म यहाँ खेतीपाती र पशुपालन गरी स्थानीयले जीविकोपार्जन गर्दै आएका थिए । जब मोटरबाटोले गाउँ जोडिए, तब मान्छेहरू गाउँ छोड्दै बजार ओर्लिन थाले । हरेक वर्ष बजार झर्नेको सङ्ख्या बढेपछि अहिले रायडाँडा सुनसान बन्दै गएको छ । गाउँमा माध्यमिक तहसम्मको विद्यालय छ । नजिकै स्वास्थ्य चौकी र आँगनमै अघि गाडी गुड्छन् । सुविधा घरको आँगनमै पुगे पनि गाउँलेको बजार मोह घटेको छैन ।

जिल्ला सदरमुकाम बाग्लुङ बजारबाट विसं २०५८ मै रायडाँडा जोड्ने सडकको काम शुरु भयो । विसं २०६० मा रायडाँडासम्म गाडी पुग्यो । सडक पुगेको धेरै वर्षसम्म स्थानीय गाउँमै बसे पनि अहिले धेरैजसो बाग्लुङ बजारमा बस्ने गर्छन् । रायडाँडा बाग्लुङ नगरपालिकाको सबैभन्दा टाढा र दुर्गमको वडा हो । यहाँ अहिले विकासले गति लिन थालेको छ । भौगोलिक हिसाबले जैमिनी नगरपालिकासँग नजिक पर्ने भए पनि रायडाँडालाई बाग्लुङ नगरपालिकामा गाभिएको छ । रायडाँडा साविक गाविस थियो । पालिका स्थापनापछि रायडाँडालाई एउटै वडा बनाइएको छ । बर्सेनि बसाइँसराइले गर्दा रित्तिएको गाउँका घरहरू मक्किन थालेका छन् । अहिले केही बालबालिका र बूढापाका मात्रैले गाउँ धानेका छन् ।

उत्पादनका हिसाबले उर्बर ठाउँ भए पनि बढ्दो बसाइँसराइका कारण काम गर्ने जनशक्ति घट्दै गएका छन् । युवा शक्ति विदेश पलायन र हुनेखाने बजार झरेपछि यति बेला रायडाँडामा सामान्य वर्गमात्र रहेका छन् । बसाइँसराइ गरेर बजार झरेका पनि बेलाबेला गाउँ जाने गरे पनि खेतीपाती भने गर्दैनन् । सीमित किसानले मात्रै खेती किसानी गर्दा गाउँमा उत्पादन कम भएर भोकमरी निम्तिने जोखिम बढेको स्थानीय दुर्गाबहादुर थापाले बताउनुभयो । पहिले–पहिले गाउँमा वरपर काम गर्ने छरछिमेकी पाइने, कुनै पनि जग्गा जमिन खाली नहुने भन्दै अहिले खेतीयोग्य जमिन सबै वनमाराले ढाकिँदै गएको गुनासो उहाँले पोख्नुभयो । दुई दशक पहिले गाउँमा कुनै विकास नभएको बेला बसाइँसराइ शून्य रहेको स्मरण गर्दै अहिले बस्ती नै रित्तिँदै गएको थापा बताउनुहुन्छ ।

‘पहिले गाउँमा विकास थिएन, मान्छे थिए, अहिले गाउँमा विकास आयो, मान्छे बजार झरे, अब गाउँ घर त हुँदाखाने र गरिबको मात्रै हुने भयो, मान्छेले खेती गर्न छोडे, बजारबाटै चामल, पिठो लिएर खान्छन्, पहिले गाउँमा मकै, कोदो निकै उत्पादन हुन्थ्यो, अहिले उत्पादन घटेर कम भएको छ, वर्षभरि खान पुग्दैन’, थापाले भन्नुभयो, ‘यस्तै हुँदै गयो भने त भोकमरी आउने जोखिम बढ्यो, अहिले बारी हेर्न गयो भने बैराग लाग्छ, हाम्रो पालामा गाउँ घर कति रमाइलो थियो, मान्छेको चहलपहल थियो, अहिले केही छैन, सबैलाई बजार चाहिने, विदेश नै जानुपर्ने, यही हिसाबले बसाइँसराइ हुँदै गयो भने अबको १० वर्षमा गाउँमा कोही पनि रहने छैन ।’

स्थानीय ओमबहादुर केसी गाउँमा जनसङ्ख्या कम हुँदै गएपछि बाँदर आतङ्क बढ्दै गएको बताउनुहुन्छ । पहिले जङ्गलमा मात्रै भेटिने बाँदर हिजोआज घरमै आएर सास्ती दिने गरेको उहाँको भनाइ छ । विकास गाउँ उक्लने, मानिसहरू सुविधा खोज्दै बजार झर्ने गरेको भन्दै सुनसान गाउँमा बाँदर र चितुवाले बासस्थान बनाउन थालेको केसीले बताउनुभयो । गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा नहुँदा बाग्लुङ बजारमै पुग्नुपर्ने भन्दै सरकारले गाउँमा सेवा सुविधा थपे मात्रै बसाइँसराइ रोकिने उहाँको भनाइ छ ।

केसीले भन्नुभयो, ‘मान्छेको चहलपहल भए पो जङ्गली जनावर गाउँ पस्दैन, मान्छे सबै बजार झर्न थालेपछि गाउँ सुनसान हुन थाल्यो, सुनसान भएपछि बाँदर गाउँ आउन थाले, अहिले गाउँमा बूढाबूढी मात्रै छन्, सरकारले गाउँमा बजारको जस्तो सेवा सुविधा दिने गरी काम गर्नुपर्छ, बजार झर्नबाट रोक्न सके मात्रै बाँदर नियन्त्रण गर्न सकिन्छ नत्र भने बाँदर मात्रै होइन, अब गाउँ जङ्गली जनावरको बासस्थान बन्छ, अहिले गाउँमा खेतीपाती गर्ने किसान अर्को वर्ष यहाँ भेटिँदैनन्, कोही बाग्लुङ बजार, कोही चितवन त कोही पोखरा जान्छन् ।’

बाग्लुङ बजारबाट रायडाँडासम्म पुग्ने सडक पनि जोखिमपूर्ण छ । दुई दशक पहिले ‘ट्र्याक’ खुलेको सडक अहिले पनि साँघुरो र खाल्डाखुल्डी परेको छ । जसले गर्दा यात्रा निकै कष्टकर हुने गरेको छ । सडक अप्ठ्यारो हुँदा २० किलोमिटर सडकमा यात्रा गर्न दुई घण्टा बढी लाग्छ । रायडाँडाबाट अघिल्लो वर्ष १६ र चालु आर्थिक वर्षमा आठ घर परिवार बसाइँसराइ गरेर अन्तै गएका वडा कार्यालयले जनाएको छ । सडकको दुरावस्था र गाउँमा स्वरोजगारको अवसर नहुँदा धेरै स्थानीय बसाइँसराइ गर्छन् । बाग्लुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले गाउँलाई राष्ट्रिय सडकसँग जोड्न नसक्दा र एसियाली विकास बैंकले समयमै काम नगर्दा पछि पर्नुपरेको बताउनुभयो ।

एसियाली विकास बैंकले २० वर्षअघि खुलेको सडक पाँच वर्षअघि नै स्तरोन्नति गर्ने भनेको थियो । तर अहिलेसम्म प्रक्रिया पूरा हुन नसकेको उहाँको भनाइ छ । रायडाँडाबाट बसाइँसराइ रोक्नका लागि गाउँमै रोजगार सिर्जना गर्ने र स्थानीयलाई उत्पादनसँग जोड्नुपर्ने स्थानीयवासीको भनाइ छ ।

‘भूगोलका हिसाबले पहिलेदेखि नै अलि पछाडि परेको क्षेत्र भएको हुँदा विकास ढिला भयो, अहिलेका हरेक नागरिकले प्रतिफल छिटो खोज्ने गर्छन्, पहिलेको तुलनामा विकास धेरै भएको छ, गाउँका मान्छेलाई गाउँमै रोक्ने धेरै प्रयास गरिरहेका छौँ’, अध्यक्ष गौतमले भन्नुभयो, ‘अब युवा शक्तिलाई लक्षित गरी स्वरोजगार कार्यक्रम गर्नुपर्ने छ, सडकका कारण उत्पादनले बजार पाउन सकेको छैन, अब सडकको अवस्था पनि सुधार गर्ने चरणमा छौँ, अबको केही वर्षमा बसाइँसराइ रोकिने विश्वास लिएका छौँ ।’

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १५:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्