काठमाडौं ।।
प्रतिनिधिसभाका सांसद प्रदीप यादवले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’ कानुन विपरीत भएको र यसले कल डिटेलको दुरुपयोग हुने बताएका छन् । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद यादवले गोपनीयता भंग नगरी कानुन बनाएर जानुपर्नेमा प्राधिकरणले आफूखुसी व्याख्या गरी ल्याएको टेराम्कस कानुन विपरीत भएको टिप्पणी गरे ।
बैठकमा बोल्दै उनले भने, “प्राधिकरण कानुन नबनाइ किन अघि बढ्यो ? अदालतले आदेश लिएर मात्र कल डिटेल निकाल भन्छ । सचिवबाट जवाफ चाहान्छु, अहिले कल डिटेल निस्कन्छ कि निस्कदैन ?” उनले अगाडि थपे, “टेरामक्स लागु भए राष्ट्रप्रमुख, प्रधानमन्त्री र सांसदको कल डिटेल निकालेर दुरूपयोग गर्छन् । उपसमिति बनाएर अध्ययन गरेर अघि बढौँ । कानुन बनाएर अघि नबढेसम्म यो लागु नगरौँ । तुरुन्त रोकौँ ।”
उनले दूरसञ्चार प्राधिकरण कुनै खुफिया एजेन्सी नभएको र लेखा समितिलाई अरुले पंगु बनाउने काम गरिरहेको उनको टिप्पणी छ । प्राधिकरणले घट्दो राजस्व र टेलिकम कम्पनीको पारदर्शीता एवं सेवाको गुणस्तर मापनका लागि आवश्यक रहेको भन्दै टेरामक्स जडान गर्ने योजना अघि सारेको थियो । ग्राहकको गोपनीयता र अन्य कारणले यो योजना विवादमा आएको छ ।