April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ?

सामान चोरी भएपछि पुल निर्माण रोकियो

  • साझा परिवेश
  • मङ्लबार, माघ ९, २०८० १0:२0
सामान चोरी भएपछि पुल निर्माण रोकियो

नवलपरासी । कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको करिडोरमा पर्ने गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरङ्ग खोलामा निर्माणाधीन पुलका सामान चोरिएको जनाउँदै निर्माण कम्पनीले काम बन्द गरेको हो ।

कम्पनीले आफ्नो करिब रु ४८ लाख बराबरको सामान चोरी भएको जनाएको छ । निर्माण कम्पनीका सञ्चालक अशोक लोहनीले पुल निर्माणका लागि राखिएका डण्डी, प्लाइ, पाइप, कलेम्पुलगायतका सामग्री चोरी भएको बताए । “बुलिङटार–३ का विष्णुवीर जर्घाले मेरो सामान लैजानुभएको हो, सामान लैजाँदै गर्दा उहाँको ट्रयाक्टर दुर्घटनामा परेर मानिससमेत मरेका छन्”, उनले भने, “बुलिङटारमा निर्माणाधीन संरचनामा उहाँसँग सहकार्य गरेर करिब रु ११ लाखको काम गर्दा रु एक लाख ७० हजार जति रकम मैले तिर्न बाँकी थियो ।”

बाँकी रहेको पैसा पनि आफूले दिने तयारी गरिरहेको बेलामा पुल निर्माणका लागि ल्याइएको सामान जर्घाले लगेको लोहनीले आरोप लगाए । “मेरो सामान चोरी भएको विषयमा मैले जिल्ला प्रहरी कार्यालय नवलपुरमा ट्रयाक्टर साहुको नाममा किटानी जाहेरी दिएको छु”, उनले भने, “मेरो हराएको सामानको क्षतिपूर्ति नपाएसम्म मैले पुल निर्माणको काम अगाडि बढाउँदिन ।” निर्माणाधीन पुलका सामान लैजाने भनिएका जर्घा बुलिङटार गाउँपालिका–३ का वडाध्यक्षसमेत हुन् ।

व्यवसायी लोहनीले करिडोरको तरङ्ग खोलामा २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण गर्नेगरी रु तीन करोड ७३ लाखमा ठेक्का पाएका थिए । पुल निर्माणको काम ६५ प्रतिशत सकिएको निर्माण उहाँको भनाइ छ । सो पुल आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा रहेको जनाइएको छ ।

बुलिङटार–३ का वडाध्यक्षसमेत रहनुभएका आरोपी जर्घाले निर्माण व्यवसायी लोहनीले आफूलाई छ वर्ष अगाडिको पैसा दिन बाँकी रहेको बताए । “निर्माण व्यवसायीले कालीगण्डकी करिडोरको बाटोमा पुल निर्माणको ठेक्का पाउनुभएको थियो । छ वर्ष अगाडि मेरो ट्रयाक्टर लगेर काम गर्नुभयो”, उनले भने, “त्यो पुल दुई वर्ष अगाडि नै निर्माण सकिँदासमेत मेरो पूरै भुक्तानी गर्नुभएन, सम्पर्कमा पनि आउनुहुँदैनथ्यो ।” निर्माण व्यवसायी अशोक लोहनी सम्पर्कमा आएको बेला पनि पैसा दिन्छु भन्ने तर नदिने गरेको जर्घाको भनाइ छ ।

आफू जनप्रतिनिधि भएपछि आफ्नो सबै घर व्यवहार आफ्ना छोराले हेर्ने गरेको जनाउँदै जर्घाले भने, “छोरा गएर सामान उठाएर लिएर आउँदा ट्रयाक्टर दुर्घटनामा पर्‍यो ।” पैसा नपाइरहेको अवस्थामा तरङ्ग खोलामा निर्माण व्यवसायीले पुल बनाइरहेको छोराले थाहा पाएर सामान उठाएर लिएर आउँदा ट्रयाक्टर दुर्घटना भएको उहाँको भनाइ छ । उनले भने, “पुल निर्माण भएको ठाउँबाट लोहनीको सामान ल्याएर सुरक्षित राख्ने र पैसा दिएपछि फिर्ता गर्ने उनीहरूको योजना थियो ।”

तरङ्ग खोलामा पुल निर्माणका लागि राखिएको सामान चोरी भएको विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको र त्यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले निर्माण कम्पनीले हालेको उजुरीका विषयमा दुवै पक्षले न्याय पाउनेगरी समाधान खोजिने जानकारी दिए । “समान हराएको विषयमा उजुरी परेको छ, सामान लगेको भनिएको व्यक्तिलाई समेत निर्माण पक्षले केही रकम तिर्न बाँकी रहेछ”, उनले भने, “सामान लैजाँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेर मान्छेको मृत्यु भएको छ, पहिले यो मुद्दामा चालकमाथि अनुसन्धान अगाडि बढाएका छौँ ।”

दुर्घटनामा मान्छे मरेको मुद्दाको छिनोफानो भएपछि चोरीका विषयमा अनुसन्धान अगाडि बढाइने सूचना अधिकारी पौडेलले बताए । तरङ्ग खोलामा पुल निर्माणका लागि राखिएको सामान लैजाँदै गरेको लु४त २३१३ नम्बरको ट्रयाक्टर गत माघ ४ गते साँझ जिल्लाको बुलिङटार–१ मोजडाँडामा दुर्घटना भएको थियो । कालीगण्डकी करिडोरबाट करिब एक सय मिटर तल खेतमा खसेको ट्रयाक्टरले नै थिचेर ट्रयाक्टरमा सवार बुलिङटार–३ का ३५ वर्षीय चन्द्रबहादुर दर्लामीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा सोही ट्रयाक्टरमा सवार बुलिङटार–३ का ४० वर्षीय धनबहादुर नेपाली र २८ वर्षीय मीनबहादुर सार्की घाइते भएका छन् । दुर्घटनामा सकुसल रहेका ट्रयाक्टर चालक बुलिङटार–३ का २१ वर्षीय धनबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको सूचना अधिकारी पौडेलले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, माघ ९, २०८० १0:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।