शिक्षकहरूको २० औ दिनको आन्दोलनबीच आज बिहान माइतीघर–बानेश्वर सडकखण्डमा तनावपूर्ण स्थिती उत्पन्न हुन पुग्यो । आफूलाई विद्यार्थीको अभिभावक बताउने एक व्यक्तिले शिक्षकहरूको विरोधमा नाराबाजी गर्दै हिँडेपछि प्रदर्शनकारी शिक्षकहरूले उनलाई घुसपैठको आरोपमा नियन्त्रणमा लिएका छन् ।
शिक्षकहरूले ती व्यक्तिलाई प्रहरीको जिम्मा लगाउने क्रममा सामान्य कुटपिट पनि गरेका थिए। प्रहरीको नियन्त्रणमा पुगेपछि पनि केही आक्रोशित शिक्षकले सो अभीवावक भनिएका व्यक्तिलाई झम्टिन खोजेका थिए, जसले आन्दोलनस्थललाई केहि समय अस्थव्यस्थ बनाउन पुगेको थियो ।
घटनापछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। शिक्षकहरूले भने आन्दोलनमा अज्ञात तत्व घुस्न थालेको भन्दै सतर्कता अपनाउनु पर्ने बताएका छन् । यो घटनाले शान्तिपूर्ण आन्दोलनको चरित्रमा प्रश्न उठाउँदै, आन्दोलन व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ।