April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

रवि लामिछानेसँग चुनावी प्रतिष्पर्धाका लागि को–को छन् आकांक्षी ?

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १0:१६
रवि लामिछानेसँग चुनावी प्रतिष्पर्धाका लागि को–को छन् आकांक्षी ?

काठमाडौं । रवि लामिछानेको दोहोरो नागरिकताका कारण सांसद पद खारेज भएपछि चितवन २ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीसहित प्रमुख दलका नेताहरु चुनावी तयारीमा जुटेका छन् ।

रास्वपाले सभापति रवि लामिछानेलाई उमेदवार बनाउने यसअघि नै तयारी थालेको छ । सो पार्टीका एक नेताले दिएको जानकारीअनुसार अर्को व्यक्तिका बारेमा अहिले कल्पना पनि गरिएको छैन ।

चितवन–२ मा आगामी वैशाख १० गते उपचुनाव हुँदै छ । निर्वाचन आयोगले चितवन २ सहित राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएको निर्वाचन क्षेत्रमा पनि एकैदिनमा चुनाव गराउने तयारी गरेको छ ।

सर्वोच्चको संवैधानिक इजलासले ‘सांसदको उमेदवार हुन नेपाली नागरिक हुनु अनिवार्य हुने’ फैसला सुनाएपछि लामिछानेको सांसद र मन्त्री पद दुवै गएको थियो ।

फैसलाको दोस्रो दिन नै रवि लामिछानेले नेपाली नागरिकता लिएका थिए ।

रास्वपाले औपचारिक निर्णय गर्न बाँकी रहे पनि सभापति रवि लामिछानेलाई नै चितवन–२ मा पुनः उमेदवार बनाउने पक्का छ ।

“हाम्रोमा औपचारिक निर्णयका लागि प्रस्ताव हुन्छ । प्रस्तावमा एकभन्दा बढी आकांक्षी भएमा ‘प्राइमरी इलेक्सन’बाट उमेदवार छानिने हो,” रास्वपाका महामन्त्री मुकुल ढकालले बाह्रखरीसँग भने, “तर, सभापतिको हकमा प्राइमरीले अर्को उमेदवार छान्न भन्न सकिने अवस्था छैन । त्यसैले औपचारिक निर्णय नभए पनि हाम्रो उमेदवार उहाँ नै हो ।”

ढकालका अनुसार उपचुनाव दुई वा तीन निर्वाचन क्षेत्रमा हुने भएकाले पार्टीले सबै क्षेत्रमा एक साथ उमेदवारका विषयमा निर्णय लिने बताए ।

चितवन–२ मा रास्वपाबाट रवि उमेदवार हुने निश्चित भएपछि अरु पार्टीमा पनि उमेदवारको खोजी सुरु भएको छ ।

नेपाली कांग्रेसमा यसअघि, चुनाव लडेका उमेश श्रेष्ठलाई उमेदवार बनाउने वा नबनाउने भन्नेमा फरक फरक मत छ ।

“उमेशजी राम्र्रो मान्छे हो, यसमा दुइमत छैन । तर, उहाँलाई चितवन कांग्रेसले र जनताले पनि अपनत्व लिएको देखिएन,” चितवनका एक कांग्रेस नेताले बाह्रखरीसँग भने, “फेरि उहाँले रविको उमेदवारी खारेजी पनि जुन प्रकारका माग लिएर निर्वाचन आयोग जाने र पत्रकार सम्मेलन गर्ने काम गर्नुभयो । त्यसले पनि उहाँ निर्वाचनका लागि तयार हुनुहुन्छ भन्ने देखाउँदैन ।”

तर उमेश निकट अर्का एक नेताले भने यसअघिको चुनावमा उहाँ नै रविको प्रतिष्पर्धी भएकाले पार्टीले उहाँलाई नै मौका दिनुपर्ने बताउँछन् ।

श्रेष्ठले अहिलेसम्म चुनावका बारेमा सार्वजनिकरुपमा केही भनेका छैनन् ।

नेपाली कांग्रेसबाट अहिले श्रेष्ठबाहेक जिल्ला सभापति राजेश्वर खनाल र पूर्वसभापति जितनारायण श्रेष्ठ आकांक्षीका रुपमा देखिएका छन् । उनीहरु दुवै क्षेत्र नम्बर–२ कै बासिन्दा र मतदातासमेत हुन् ।

अर्थविद डा. स्वर्णीम वाग्लेलाई सम्भावित उमेदवारका रुपमा यसअघि प्रस्तुत गर्ने गरिए पनि उनले चितवन–२ को उपचुनावमा उमेदवारको अकांक्षी नरहेको घोषणा गरिसकेका छन् ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूले मागेको क्षेत्रमा कांग्रेसले टिकट नदिएको भन्दै अहिले उपचुनावमा आफू अकांक्षी नरहेको बताएका थिए ।

जिल्ला सभापति खनालले भने आफू उमेदवारको आकांक्षी रहेको भन्दै घोषणा भने जिल्ला कार्यसमिति र निर्वाचन क्षेत्रका अन्य साथीहरुसँगको परामर्शपछि मात्र गर्ने बताए ।

त्यसबाहेक पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग पनि छलफल गरेर निर्णयमा पुग्ने उनको तयारी छ ।

“यहाँ उमेदवार मात्र बन्नुको कुनै अर्थ छैन । जित्नेगरी उमेदवार बन्ने हो । त्यसरी उमेदवार बन्न पहिले यहाँका आकांक्षीसहितका साथीहरुसँग छलफल गर्ने हो,” जिल्ला सभापति खनालले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, “त्यसपछि सभापतिज्यू र केन्द्रका नेताहरुसँग छलफलपछि म उमेदवार बन्ने कुरा सार्वजनिक गर्नेछु ।”

चितवन–२ मा उमेदवारको आकांक्षा राख्ने अर्का व्यक्ति हुन्– जिल्ला कार्यसमितिका पूर्वसभापति जितनारायण श्रेष्ठ । उनले जिल्लाका साथीहरुको रोजाइकै उमेदवार बनाउँदा कांग्रेसले चुनाव जित्ने दाबी गर्दै आफू उमेदवार बन्न इच्छुक भएको बताए ।

“चितवन–२ को उपचुनावमा म उमेदवार बन्न चाहन्छु । नेविसंघ अध्यक्षदेखि पार्टी सभापति भएर यहाँका साथीहरुसँगै सहकार्य गरेको छु । चुनाव जित्नेमा विश्वस्त पनि छु,” श्रेष्ठले भने, “कतिपय साथीहरु रविजीसँग चुनाव लड्न डराएको पनि मैले देखेको छु ।”

उनले क्षेत्र नम्बर–२ कै र जिल्लाबासीसँग काम गरेको व्यक्ति उमेदवार बने चुनाव कांग्रेसले नै जित्ने दाबी पनि गरे । ‘सर्वोच्चको फैसलापछि रविको थप क्रेज देखियो भन्ने छ नि ?’ भन्ने प्रश्नमा श्रेष्ठले त्यो गलत भएको बताए ।

“गत वर्ष मंसिरको हकमा भन्ने हो भने रविजीको व्यापक क्रेज देखिएको थियो । उहाँलाई जिताएर पठाएपछि सबै समस्या समाधान हुन्छन् भन्ने धारणा नै देखिएको थियो,” श्रेष्ठले भने, “तर, उहाँ निर्वाचित भएर गएपछि सांसद र उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारीमा रहँदा स्थानीय नागरिकमा सोचेजस्तो होइन रहेछ भन्ने रियलाइजेसन भएको पाएको छु ।”

कांग्रेसमा जस्तै नेकपा (एमाले)मा पनि उक्त क्षेत्रमा प्रतिस्पर्धाको आकांक्षीहरुको संख्या एकभन्दा बढी छ । यसअघि, चितवन एमालेका पूर्वअध्यक्ष समेत रहेका एमाले पोलिट्ब्युरो सदस्य कृष्णभक्त पोखरेल चुनाव लडेकोमा अहिले वैकल्पिक उमेदवारको खोजी भइरहेको एमाले स्रोत बताउँछ ।

पोखरेलले पनि चुनाव हारेकाले उपचुनावमा खास चासो देखाएका छैनन् । उनले पार्टीले निर्णय नै गरेर चुनाव लड भनेको अवस्थामा आफू तयार हुने बताउँदै चुनाव हारेको एक वर्ष पनि नभएकाले फेरि आफू नै उमेदवार हुनुपर्छ भनेर नलाग्ने उनका निकटहरुसँग बताउने गरेका छन् ।

आफूबाहेकको उमेदवार पार्टीले छानेमा जिताउनका लागि आफू लाग्ने उनको भनाइ छ ।

यो क्षेत्रमा महानगरको चुनावमा उमेदवार बनेका विजय सुवेदीलाई पनि उमेदवारका रुपमा हेरिएको थियो । तर, सुवेदीले पनि आफू अहिले चुनावको तयारीमा नरहेको बताएका छन् ।

चितवन–२ मा चुनाव लड्नका लागि जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेसहित देवी ज्ञवाली र खुमनारायण श्रेष्ठको नाम पनि चर्चामा छ ।

जिल्ला अध्यक्ष न्यौपाने अहिले प्रारम्भिक छलफल मात्र सुरुआत भएको भन्दै आवश्यक समयमा सर्वसम्मत रुपमा उमेदवारको टुंगो लाग्ने बताउँछन् ।

“प्रारम्भिक छलफल सुरुआत भएको छ । टुंगोमा पुग्न केही समय लाग्छ । पार्टीले क्षेत्रीय कमिटीसँग सिफारिस माग्छ वा सिधै जिल्ला कमिटीलाई टुंग्याउन निर्देशन दिन्छ,” अध्यक्ष न्यौपानले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, “विभिन्न नाममा चर्चा भए पनि सर्वसम्मत एकजनाको नाम टुंग्याउँछौँ ।”

भरतपुर महानगरको मेयरमा गत वर्ष पराजित भएका एमाले नेता विजय सुवेदी चुनावबारे धेरै छलफल भइनसकेको भन्दै अघिल्ला निर्वाचन, राष्ट्रिय राजनीतिको समीकरणमा भएको अदलबदलपछि कसरी अघि जान्छ भन्ने प्रष्ट कुरा आइनसकेको बताउँछन् । तर, उनी आफू भने उमेदवारी दिने दौडमा छैनन् ।

“मेरो व्यक्तिगत सोचाइ छैन । पार्टीबाट निर्णय भए स्वीकार गर्ने कुरा भइहाल्छ । देश र जनताका लागि आफूले जे गर्न सकिन्छ गर्ने हो,” सुवेदीले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, “त्यसका लागि पदमा नै पुग्ने कुरा होइन, जहाँ बसेर भए पनि गर्न सकिन्छ । कस्तोखालको व्यक्तित्व र नेतृत्व आवश्यक छ, त्यो केन्द्रले निक्र्यौैल गर्ला ।”

सत्तारूढ दलसँग चुनावी गठबन्धन हुँदैन ः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले भने सत्ता गठबन्धनमा रास्वपा सहभागी भए पनि चुनावी गठबन्धन भने नहुने बताएको छ । उसले चुनावी गठबन्धन गर्नु नै नहुने भन्दै चुनावपछिको गठबन्धन भने आवश्यकताअनुसार हुनसक्ने बताएको छ ।

“हामी सत्ता गठबन्धनमा आबद्ध भए पनि, नभए पनि चुनावी गठबन्धन भने कसैसँग गर्दैनौँ र यसले सत्ता गठबन्धन हुने वा नहुने कुराको अर्थ पनि राख्दैन,” रास्वपाका महामन्त्री ढकालले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, “हामी त चितवन–२ मा मात्र होइन, अन्यत्र जहाँ उपचुनाव भए पनि चुनावी गठबन्धनमा सामेल हुँदैनौँ ।”

उनले रास्वपाले आफूलाई परीक्षण गर्न आवश्यक रहेको भन्दै अरु दलको सहयोगमा चुनाव जित्ने पक्षमा रास्वपा नरहेको बताए ।

 

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १0:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।