यसअघि परराष्ट्रमन्त्री नभएकै कारण भ्रमणमा ढिलाइ भएको बताइने गरिएको थियो । जसअनुसार सत्ता गठबन्धनले परराष्ट्र मन्त्री नियुक्त गरेर भ्रमणको तयारी गर्न मार्गप्रशस्त गरेको थियो । वैशाख ३ गते परराष्ट्र मन्त्रीको शपथ लिएको दिन मन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने प्रतिक्रिया दिएका थिए ।
‘भर्खरै म कार्यालय आएको छु, कर्मचारीसँग ब्रिफिङ लिएर भ्रमणको तयारी अगाडि बढाउँछु,’ उनले भनेका थिए । तर आजसम्म मिति तय हुन नसक्दा भ्रमण नै अनिश्चित बन्न पुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको एजेन्डाबारे दुवै देशका अधिकारीले छलफल गरिरहेका छन् ।
मन्त्री साउदले अझै पनि प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा आन्तरिक तयारी चलिरहेको आइतबार रातोपाटीलाई बताए । ‘भ्रमणको क्रममा छलफल हुने एजेन्डाको विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको छ, केही दिनमा सबै विषय टुङ्गो लाग्छ । त्यसपछि मिति तय हुन्छ’, उनको भनाइ छ ।
यसअघि नै भारतले मे १० देखि १९ तारेखको बीचमा जुनसुकै दिन भारतको भ्रमण गर्न सकिने निमन्त्रणा पठाएको छ । नेपालले पनि प्रचण्डले वैशाख ३१ र जेठ १ गते (मे १४–१५)मध्ये एउटा कुनै दिन भ्रमणमा आउन सकिने कार्य तालिकाको प्रस्ताव दिल्ली पठाएको थियो । तर हालको तयारी हेर्दा यो मितिमा भ्रमण हुनेजस्तो नदेखिएको नेपालस्थित भारतीय दूतावासका एक अधिकारीले बताए । नेपालकै तर्फबाट भ्रमणमा अलमल भइरहेको ती अधिकारीको दाबी छ ।
उपचुनावपछि नेपालको राजनीति परिस्थिति फेरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट समर्थन फिर्ता लिएमा पुनः विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने भय प्रचण्डमा छ । यस्तो पृष्ठभूमिमा प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय गर्न ढिलाइ हुने अवस्था आएको बताइएको छ । ‘मिति तय गर्नका लागि तयारी पनि पुगेको छैन’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘दुवै देशका अधिकारीले साझा एजेन्डामा छलफल गरिरहेका छन्, एजेन्डा तय भएपछि मात्र मिति घोषणा हुन्छ ।’