काठमाडौं ।।
लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरले स्रष्टा सम्मानको क्रमलाई निरन्तरता दिँदै विभिन्न व्यक्तित्वलाई सम्मानित गर्ने निर्णय गर्दै घोषणा गरेको छ । साहित्यकला मन्दिरका महासचिव रमण घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान’ तन्त्र विज्ञानका विद्वान् प्रा. विद्यानाथ उपाध्याय भट्टलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, ‘सरस्वती सम्मान’ प्रसिद्ध कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभु घिमिरे तथा व्यङ्यकार लक्ष्मण नेवटियालाई संयुक्त रूपमा प्रदान गरिने निर्णय गरिएको छ । साहित्यकला मन्दिरले नारायण गोपाल संगीत सम्मान संगीतकार एवम् लोकगायिका झुमा लिम्बूलाई प्रदान गर्ने निर्णय गरेको छ । साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।