काठमाडौं ।।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले कामै गर्न नपाएको भन्दै गुनासो गरेका छन् । बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले भने, ‘काम गर्ने व्यक्तिले परिणाम कतिबेर निकाल्नु ? संसदीय समितिमा जानै पर्यो, एउटा काम गर्न थाल्यो अख्तियारले बोलाउन थाल्छ, महालेखाले बोलाउँछ, सम्पत्ति शुद्धीकरणले बोलाउँछ, दिक्क बनाइसक्यो कामै गर्न पाइएन ।’नेपाल एयरलाइन्सलाई तिर्नुपर्ने रकम सरकारले नै नतिरेको उनले बताए ।
उनले भने, ‘राजादेखि लोकतान्त्रिक व्यवस्थामा पनि उही प्रवृति देखियो । नेपाल एयरलाइन्स उडाउने तर भाडा चाहिँ नतिर्ने ।’प्रयोगमा नरहेका चिनियाँ जहाज लिलामीमा आफूले नै राख्न लगाएको उनले बताए । ‘चलाउन नसक्ने जहाज किन सुकाएर राख्ने ? कि सुप खाने हो ? मैले नै दबाब दिएर लिलामीमा राख्न लगाएको हो,’ उनले भने, ‘यसलाई किन राख्ने ? जसले दायित्व मात्र सिर्जना गर्छ, त्यो पालेर के काम ?’