काठमाडौँ ।।
फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) ले विधानको मस्यौदा बनाउन ७ सदस्यीय समिति गठन गरेको छ। माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मा, सचिव गणेश शाह र सचिव राम कार्की रहेको मस्यौदा समिति बनाइएको जानकारी दिए ।
प्रवक्ता सापकोटाले पार्टीको केन्द्रीय कमिटी बैठक पनि फागुन पहिलो साता नै बस्ने बताए।बिहीवार बिहान बसेको पदाधिकारी बैठकले आगामी फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ । त्यसका लागि समितिले मस्यौदा तयार पार्ने छ। प्रवक्ता सापकोटाले पदाधिकारी बैठकमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट दिएको राजीनामाका विषयमा कुनै छलफल नभएको बताए। पदाधिकारीको अघिल्लो बैठकमा राजीनामाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी भने गराएका उनले बताए।