नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा सुनिल शर्माले वर्तमान सरकारले देशलाई स्थायित्व नदिने भन्दै स्थायित्वका लागि काँग्रेस र एमालेको सरकार बन्नुपर्ने बताएका छन् ।
शुक्रबार नेपाल प्रेस युनियन बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने “यो सरकारले न सुशासन दिन्छ नत स्थायित्व नै । यो सरकार केबल टाइम पास गर्ने मात्र हो । स्थायित्वका लागि काँग्रेस एमाले सरकार नै चाहिन्छ । यो सरकारबाट मुलुकका लागि केही हुनेवाला छैन । ”
उनले अहिलेको संसदले पनि काम गर्न नसकेको बताएका छन् । उनले भने ‘जनप्रतिनिधी निर्वाचित भएको १७ महिनामा कानुन समेत बनाउन सकेको छैन । यो संसद एकअर्कालाई गाली गलौज गर्ने र जनताका नाममा धोका दिने मात्र काम भएको छ । संसदले त कानुन बनाउने हो नि ।’ उनको प्रश्न थियो ‘तर खोइ त कानुन ?’
सांसद शर्माले केही नेताहरुले राजनीति प्रणाली नै कब्जा गरी सत्ता कब्जाको योजना बनाउने गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले देशको अर्थतन्त्र कमजोर हुनुमा मुख्य दोषी नै मुख्य दलहरु रहेको दाबी गरे ।
सांसद डा शर्माले राज्यले करको दायरा बढाएर कानुनको करमा प्वालैप्वाल पारेकाले व्यापारीहरुले कर तिर्न सकस भएको पनि बताए । “जनताका आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै राज्यले शिक्षा स्वास्थ्य र खानेपानीको ग्यारेन्टी गर्नुपर्छ ” उनको भनाई थियो ।