April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् ! निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल वर्ल्ड ट्रायथलन अध्यक्ष काठमाडौंमा कतारलाई हात्ति उपहार दिन लागेकोबारे बालेनले उठाए प्रश्न थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भिडियो झुटो तराईका विभिन्न जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि नै दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा सुनचाँदीको मूल्य घट्यो भोलीदेखि सुरुहुने कक्षा १२ को परिक्षामा झण्डै ५ लाख परिक्षार्थी आईपीएलमा आज सनराइजर्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप परालको कुन्युबाट सल्किएको आगोले महोत्तरीमा १०० बढी घर ध्वस्त अमेरिकामा प्रतिबन्ध हुन सक्ने कानुनविरुद्ध टिकटक अदालत जाने आइपिएल : गुजरातलाइ दिल्लीले जित्यो कस्तो रहला आजको मौसम ? उपनिर्वाचन : आजबाट प्रचारप्रसार निषेध

झापाको चुनाव: नेताहरुलाई कतै चुनौती कतै अवसर

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ १२:५२
झापाको चुनाव:  नेताहरुलाई कतै चुनौती कतै अवसर

 

रोमन आचार्य । झापा । मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको केन्द्रमा छ झापा । पाँच निर्वाचन क्षेत्र भएको झापामा ‘हेभिवेट’ नेताहरु चुनावी मैदानमा छन् ।

विशेषगरी झापा क्षेत्र नम्बर १, ३ र ५ मा चुनावी भिडन्त रोचक हुने निश्चित छ । आइतबार भएको उमेदवारी दर्ताले झापाको चुनावी मौसमलाई तताएको छ ।

झापा क्षेत्र नम्बर १ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा (एमाले) नेता अग्निप्रसाद खरेलेको निर्वाचन क्षेत्र हो ।

यस्तै, झापा ३ राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र हो । झापा ५ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।

२०७४ सालको निर्वाचनबाट झापामा कांग्रेस निल लागेको थियो । वाम गठबन्धनमा रहेर एमाले र माओवादी चुनाव लडेका थिए । देशभर कांग्रेससँग राप्रपाले चुनावी गठबन्धन गर्दा झापामा भने वाम गठबन्धनसँग राप्रपाले चुनावी गठबन्धन गरेको थियो ।

यो चुनावमा पनि झापामा दलहरु गठबन्धनकै सहयोगमा प्रतिष्पर्धामा उत्रिएका छन् ।

पाँचवर्षको अन्तरालमा परिस्थिति फेरिएको छ । एमाले–माओवादी गठबन्धन देशभर छैन । पाँचवर्षको सिङ्गो एमाले फुटेर नेकपा (एकिकृत समाजवादी) पनि बनेको छ ।

कांग्रेसले माओवादी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग चुनावी गठबन्धन गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पनि साना दल र झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गरेको छ ।

“हामीले झापामा एमालेसँग गठबन्धन गरेका छौं । अध्यक्षज्यूको क्षेत्र नम्बर ३ मा एमालेले हामीलाई सहयोग गर्ने र क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष ओलीलाई हामीले सहयोग गर्ने भएका छौं,” राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने, “क्षेत्र नम्बर ३ मा एमालेले उमेदवार उठाएन । ५ मा हामीले उठाएनौ । यस्तै २, ३, ४ मा पनि उठाएका छैनौ । ४ (ख) मा भक्ति दाइलाई उठाएका छौं ।”

श्रेष्ठको भनाइअनुसार झापाको सबै क्षेत्रमा राप्रपाको मत निर्णायक छ । ०७४ को निर्वाचनमा पनि राप्रपालाई मिलाउन नसक्दा झापा क्षेत्र नम्बर १ र २ कांग्रेसले गुमाउनुपरेको नेताहरूको विश्लेषण छ । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन मतले पनि झापामा राप्रपाको शक्ति निर्णायक भएको प्रमाणित गरेको छ ।

झापा क्षेत्र नम्बर १ : उत्साहित शर्मा आशावादी खरेल

झापा क्षेत्र नम्बर १ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्र हो । यहीँ निर्वाचन क्षेत्रमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नेता अग्निप्रसाद खरेल चुनावी मैदानमा छन् ।

खरेल संविधानसभा सदस्य तथा पूर्वमन्त्रीसमेत हुन् । २०७४ को निर्वाचन पश्चात् केपी ओलीले सरकार बनाए । खरेललाई ओली सरकारले महान्यायाधिवक्ता बनायो ।

खरेलको निर्वाचन क्षेत्र भने झापा क्षेत्र नम्बर २ हो । उनले २०७४ सालमै यहाँबाट चुनाव लड्न प्रयास नगरेका हैनन् ।

तर, अन्तिम समयमा उनकै भाउजु पवित्रा निरौला खरेलले टिकट लिएर चुनावी मैदानमा होमिइन् । पवित्राले कांग्रेसका तत्कालीन जिल्ला सभापति उद्धव थापालाई पराजित गरेकी थिइन् । त्यसपश्चात् ओलीले खरेललाई महान्यायाधिवक्ता बनाएका थिए ।

पाँचवर्ष पश्चात् खरेलले २ नम्बरकै लागि दौडधुप गरेर टिकट पनि लिएका हुन् । तर, अन्तिम समयमा आएर उनको टिकट क्षेत्र नम्बर १ मा सारियो । झापा क्षेत्र नम्बर १ मा भने संविधानसभा सदस्य तथा एमाले केन्द्रीय सदस्य रविन कोइरालालाई टिकट दिइएको थियो । अग्निलाई १ नम्बरमा लगेपछि कोइरालाको टिकट खोसिएको छ । उनलाई मुख्यमन्त्री बनाउने सर्तमा प्रदेश सभा सदस्य लडाइएको चर्चा एमालेवृत्तमा छ ।

झापा २ मा देवराज घिमिरेलाई एमालेले टिकट दिएको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा तेस्रोपटक झापा क्षेत्र नम्बर-१ बाट चुनाव लड्दैछन् । उनले २०७०, २०७४ मा यहाँबाट चुनाव लडेका थिए । २०७० को संविधानसभा निर्वाचनमा उनी रविन कोइरालासँग पराजित भएका हुन् ।

यस्तै २०७४ सालमा भएको निर्वाचनमा वाम गठबन्धनबाट माओवादी उमेदवार राम कार्कीसँग पराजित भएका थिए ।

०७४ मा राम कार्कीले ३६ हजार १७३ मत ल्याउँदा शर्माले ३३ हजार ३१० मत ल्याएका थिए ।

अहिले शर्मालाई रविन कोइराला उठेको भए चुनावमा सकस हुने कांग्रेसभित्र विश्लेषण थियो । रविन ‘ब्याक’ भएपछि शर्मालाई चुनावी मैदान सहज भएको झापा कांग्रेसका एक नेता बताउँछन् ।

तर, कांग्रेसलाई मिलाउनुपर्ने वाध्यता शर्मालाई पनि छ । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनले शर्माको निर्वाचन क्षेत्रमा एमालेलाई पहिलो पार्टीको रूपमा मत आएको छ ।

शर्मामाथि आफ्नै गृहपालिका मेचीनगरमा पनि कांग्रेसलाई जिताउन नसकेको आरोप छ । अन्तिम समयमा टिकट खोसेर आफ्नो टिमको उमेदवारलाई दिलाउन सफल भए पनि उनले चुनाव भने जिताउन सकेनन् । यसको असर पनि पर्न सक्ने कुरालाई स्वयम् कांग्रेस नेताहरु पनि बताउँछन् । यस्तै, टसलमा रहेका नेता कृष्ण सिटौला टिमले उनलाई असहयोग गर्ने भय पनि उत्तिकै छ । 

“उहाँ पार्टीको महामन्त्री हो । जसले असहयोग गरेर चुनाव हरायो सम्झनुहोस् त्यो कांग्रेस राजनीतिमा रहन संभव नहोला,” झापाका एक नेताले भने ।

गएको स्थानीय तह निर्वाचनमा झापा क्षेत्र नम्बर १ मा कांग्रेसका वडा अध्यक्षहरुलाई जम्मा २४ हजार ५९ मत आएको छ । जबकि यहाँ एमालेसँग ३१ हजार ८३ मत छ ।

यस्तै माओवादीकेन्द्रसँग ३ हजार ९०५ तथा एकीकृत समाजवादीसँग १ हजार २५२ र लोसपासँग १३२ मत छ ।

यहाँ राप्रपासँग ५ हजार ९२२ मत छ । अर्थात् गठबन्धनसँग २८ हजार ९६ मत छ । जबकि राप्रपासहितको एमाले गठबन्धनसँग ३७ हजार ५ मत छ ।

यहाँ स्वतन्त्रसँग ४ हजार २७ मत छ । यो मत कता जान्छ त्यो पनि महत्वपूर्ण छ ।  त्यसकारण एमाले उमेदवार खरेल आफ्नो जितमा ढुक्क छन् ।

स्थानीय तहको मतलाई आधार मान्ने हो भने यहाँ कांग्रेसभन्दा एमालेनै बलियो देखिन्छ ।

झापा क्षेत्र नम्बर २ : एमाले परित्याग गरेका राना भर्सेस घिमिरे 

०७४ को चुनाव जितेको एमालेले झापा क्षेत्र नम्बर २ मा देवराज घिमिरेलाई टिकट दिएको छ । अग्नि खरेलले मन गरे पनि यहाँ घिमिरेले टिकट लगेका हुन् । उनको भिडन्त भने असोज २२ गतेसम्म एमाले राजनीतिमा सक्रिय रहेका हरिकुमार रानासँग हुने भएको छ । राना माओवादी केन्द्रबाट चुनाव लड्दैछन् ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा राना एमालेबाट अर्जुनधारा नगरपालिकाको मेयर जितेका थिए ।

उनी यसपटक पनि पार्टीबाट चुनाव लड्ने प्रयासमा थिए । तर, नेतृत्वबाट टिकट हत्याउन नसकेपछि उनी माओवादी प्रवेश गर्दै प्रतिनिधि सभा निर्वाचन गठबन्धनको तर्फबाट बनेका हुन् ।

झापा क्षेत्र नम्बर २ माओवादी सांसद धर्मशिला चापागाईंको निर्वाचन क्षेत्र हो । यस्तै, कांग्रेस प्रदेश नम्बर १ सभापति उद्धव थापाको निर्वाचन क्षेत्र हो । माओवादीले यहाँ चापागाईंलाई टिकट दिन खोजेको थियो । तर, चापागाईं आफैँले रानालाई एमालेबाट ल्याएर उमेदवार बनाएको गठबन्धनमा आवद्ध झापाका एक नेताको दाबी छ । त्यसकारण यहाँ रानाले एमालेको भोट काट्ने र चुनाव जित्न सहज हुने आकलन गठबन्धनको छ । किनभने गठबन्धन गरेर लडेको स्थानीय तह निर्वाचनमा गठबन्धनले विर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिका गुमाएको थियो । त्यसको भय अहिले पनि गठबन्धनभित्र छ ।

०७४ को निर्वाचन भने यहाँबाट एमाले नेतृ पवित्रा निरौला खरेलले जितेकी थिइन् । उनले तत्कालीन कांग्रेस जिल्ला सभापति उद्धव थापालाई पराजित गरेकी थिइन् । खरेलले खसेको मतको ५५.९ प्रतिशत अर्थात् ४५ हजार ८१७ मत ल्याउँदा कांग्रेसबाट थापाले ३९.११ प्रतिशत अर्थात् ३२ हजार ५० मत मात्र ल्याउन सफल भएका थिए ।

वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा पनि झापा २ मा पहिलो दल एमाले नै हो । वडा तहको मत जोड्दा एमालेले ३६ हजार ३९३, कांग्रेसले ३२ हजार ७७२, माओवादी केन्द्रले २ हजार ४३७  तथा राप्रपाले ९ हजार ५२६ मत ल्याएको थियो ।

यसपटक पनि एमाले–राप्रपा गठबन्धन छ । यहाँ राप्रपाको मत निर्णायक छ । त्यसकारण एमालेबाट आएर एमालेविरुद्ध उमेदवार बनेका हरिकुमार रानाले एमालेको मत तानेर चुनाव जित्छन् वा देवराज घिमिरेले सहजै चुनाव जित्छन् भन्ने महत्वपूर्ण प्रश्न छ ।

झापा ३ : एमालेको राप्रपालाई सहयोग सिटौलालाई पर्दैछ भारी 

झापा क्षेत्र नम्बर ३ मा यसपटक पनि एमालेले उमेदवार उठाएको छैन । यहाँ एमालेले राप्रपालाई सहयोग गर्ने भएको छ ।

यो क्षेत्र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको क्षेत्र हो । कांग्रेस पूर्वमहामन्त्री तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला पनि यही निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्छन् ।

०७४ को निर्वाचनमा यी दुई उमेदवारबीच चुनावी ‘ब्याटल’ भएको थियो । जसमा लिङ्देनले बाजी मारेका थिए ।

एमालेसँग गठबन्धन गरेर चुनाव लडेका लिङ्देनले १२ हजार भन्दा बढी मतले चुनाव जितेका थिए । लिङ्देनले ४४ हजार ६१४ मत ल्याउँदा सिटौलाले ३१ हजार १७१ मतमात्र ल्याउन सफल भएका थिए ।

अहिले पनि एमाले राप्रपा गठबन्धन छ । तर, ०७४ को गठबन्धन भएको नेकपा माओवादी केन्द्र अहिले गठबन्धनमा छैन । यहाँ, कांग्रेस लोसपासहितको पाँच दलीय गठबन्धनमा छ ।

गएको स्थानीय तह निर्वाचनमा भने यहाँ जसपासहितको सत्ता गठबन्धन बनको थियो । यहाँ नेकपा(एस), लोसपाको मत त्यति धेरै प्रभाव पार्ने तहको छैन । यहाँ राप्रपा, एमाले, कांग्रेस र माओवादीकै मत निर्णायक हो ।

वैशाखको स्थानीय तह निर्वाचनको वडा तहको मत हिसाब गर्दा झापा क्षेत्र नम्बर ३ मा पहिलो दल कांग्रेस हो । यहाँ कांग्रेससँग २५ हजार ४९ मत छ ।

यस्तै राप्रपासँग २१ हजार १५९ र एमालेसँग २१ हजार ०७५ मत छ । माओवादी केन्द्रसँग ६ हजार ६६१ मत छ ।

जसपासँग ५३७ र लोसपासँग २०८ मत छ । अन्य दलसँग २ हजार ६२५ मत छ । स्थानीय तहको मतलाई आधार मानेर विश्लेषण गर्ने हो भने लिङदेनलाई एमालेको गठबन्धनबाट घाटा छैन । एमालेबाट केही अन्तरघात भएर भोट सिटौलालाई गए पनि लिङ्देनलाई चुनाव हराउन सिटौलालाई मुस्किल देखिने एक स्थानीयले टेलिफोन कुराकानीमा बताए । त्यसकारण राप्रपा झापा क्षेत्र नम्बर ३ आफूले जित्नेमा ढुक्क देखिन्छ ।

झापा क्षेत्र नम्बर ४ : एलपी साँवा भर्सेस देउकुमार थेवे, साँवा पनि सेफ जोनमा छन् !

मंसिर ४ मा हुने निर्वाचनमा झापा क्षेत्र नम्बर ४ एमालेबाट लालप्रसाद साँवा लिम्बु, नेपाली कांग्रेसबाट देउमान थेवेका साथै हाम्रो नेपाली पार्टीबाट युक्तप्रसाद भेटवाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट लाहानसिंह तुम्बापो, मंगोल नेशनल अर्गनाइजेसनबाट दिलिप धिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शम्भुप्रसाद ढकाललगायतले उमेदवारी दर्ता गराएका छन् । तर, यहाँ मुख्य प्रतिष्पर्धा एमाले र कांग्रेसबीच हुने पक्का छ ।

०७४ को निर्वाचनमा साँवा विजयी भएका थिए । उनी यसपटक पनि विजयी यात्रालाई कायम राख्ने दौडमा छन् ।

वर्तमान कांग्रेस जिल्ला सभापति समेत रहेका देउकुमार थेवे ०७४ मा पनि साँवासँग निर्वाचन लडेका हुन् । कुल मतको ३६.४३ प्रतिशत अर्थात् २६ हजार ८२२ मत प्राप्त गरेका थेवे पराजित र ५९.१० मत अर्थात् ४३ हजार ५१५ मतसहित साँवा यहाँबाट संघीय सांसद बन्न सफल भएका थिए ।

साँवाको जितमा माओवादी र राप्रपाले पनि भोट खन्याएको थियो ।

आसन्न निर्वाचनमा माओवादीको भोट साँवालाई खस्ने अवस्था छैन । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको वडा तहको मतलाई विश्लेषण गर्दा ३१ हजार १७२ मतसहित एमाले पहिलो दल हो । जबकि कांग्रेससँग २८ हजार १६५ र माओवादीसँग ६ हजार ८४२ मात्र मत छ । यस्तै राप्रपासँग ४ हजार २८३ तथा नेकपा एससँग ७१२ मत छ ।

झापा क्षेत्र नम्बर ४ मा भक्ति सिटौला प्रदेशको उमेदवार बनेका छन् । सिटौला २०७० को चुनाव अघि कांग्रेसको राजनीतिमा थिए । उनको राजनीतिक थलो झापा क्षेत्र नम्बर २ हो । तर उनी ४ मा गएर चुनाव लड्नुपरेको राप्रपा एक नेता बताउँछन् । त्यसकारण अहिलेको निर्वाचनमा पनि स्थानीय तहको जस्तै मत खस्न सके साँवालाई चुनाव जित्न असहज छैन ।

झापा ५ : ओली भर्सेज अधिकारी, छैन ओलीलाई असहज 

झापा ५ नेकपा अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । ओलीले २०७४ को निर्वाचन फराकिलो मतान्तरले जितेका थिए ।

उनले ०७४ मा पनि कांग्रेस नेता खगेन्द्र पाण्डव अधिकारीलाई हराएका थिए । २०६४ को निर्वाचनमा माओवादीका उमेदवार विश्वदीप लिङ्देनसँग ओली पराजित भएका थिए । तर, त्यसयता ओलीले पराजय भोग्नु परेको छैन । लिङ्देन अहिले कांग्रेस राजनीतिमा छन् । उनी कांग्रेसको १४औं महाधिवशेनमा जिल्ला सचिव लडेका थिए । तर, सफल हुन सकेकन् ।

२०७४ को निर्वाचनमा ओलीले एमाले, माओवादी र राप्रपाको भोट गरेर कुल खसेको मतको ६२.५५ प्रतिशत अर्थात् ५७ हजार १३९ मत ल्याएका थिए । जबकि अधिकारीले ३०.९८ प्रतिशत अर्थात् २८ हजार २९७ मत ल्याएका थिए ।

वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा भने यहाँ एमाले पराजित भएको छ । राप्रपाले सत्ता गठबन्धसँग मिलेर राम थापालाई नगर प्रमुख जिताएको छ । यस्तै उपप्रमुख भने कांग्रेसले जित्यो । तर, वडामा भने एमाले बहुमतमा छ । वैशाखमा भएको निर्वाचनबाट झापा क्षेत्र नम्बर ५ मा एमालेसँग ४१ हजार ६१९, कांग्रेससँग २२ हजार २२ तथा माओवादीसँग १० हजार ७८८ र राप्रपासँग ८ हजार ३५३ र नेकपा(एस) सँग एकहजार ९८८ मत आएको छ ।

यो मत आसन्न निर्वाचनमा निर्णायक नभए पनि यसले एमालेलाई बलियो देखाउँछ । राप्रपाको मत नपाउने हो भने पनि ओली बलियो उमेदवारको रुपमा उभिएका छन् ।

राप्रपा प्रवक्ता मोहन बस्नेतले यहाँ पार्टीले उमेदवार नउठाएको र एमाले अध्यक्ष ओली जिताउन राप्रपाले मत हाल्ने बताए ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ १२:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट