धनकुटा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट ९० किलो १०० ग्राम लागुऔषध गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका-१ उखुडाँडा स्थित कोशी लोकमार्गमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटाबाट धरान तर्फ आउदै गरेको को. १ ख २८३३ नम्बरको यात्रुबाहक बसको हुट र डिक्कीमा राखेको झोलाबाट ४० किलोग्राम गाँजा बरामद गरेको हो ।
चेक जाँचकै क्रममा सोही बसमा सवार रहेका सहिदभूमी गाउँपालिका-१ धनकुटाका ३२ बर्षीय सुरज राई र सुरेश राईको साथबाट गाँजा बरामद भएको थियो । लागुऔषध गाँजा बरामद भए संगै उक्त बस र बसका चालक सुन्दरहरैचा-५ मोरङका ५१ बर्षीय रुद्ध बहादुर तामाङ, सहचालक सहिदभूमी गाउँपालिका-७ का ४३ बर्षीय फत्तेमान राई र चौबिसे गाउँपालिका-५ धनकुटा का २९ बर्षीय सुरेन्द्र देवान समेतलाई पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।