June 23, 2024 | आइतवार, असार ९, २०८१
सुचनाहरु
पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान आफूले बोल्ने दिन पर्याप्त मन्त्री र सांसद नआएकोमा प्रचण्ड असन्तुष्ट सुनको मूल्य बढ्यो निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन- प्रधानमन्त्री दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण बन्दैछ धिमाल कला र संस्कृति बचाउने गीत “लोसु लोसु लोसु” गीत लिएर आउदैछन अर्जुन धिमाल गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा

हजुरकै दुःख कम गर्न परदेश आएकी छु बा!

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १३:१९
हजुरकै दुःख कम गर्न परदेश आएकी छु बा!

बीस वर्षको कलिलो उमेरमा आमाको गला रित्तिएपछि ‘बा’लाई जिम्मेवारीको थप भारी भयो। माइली बहिनीलाई ओभर टाइम गर्नू र कान्छीलाई खर्च अलि कम गर्नू है भनेँ।

बा-आमालाई केही भन्न नसकी आफ्नो तौलभन्दा बढी पैसा ऋण खोजेर टन्न कमाउँछु सोचेर हरियो राहदानी झोलामा भिरी पढ्नका लागि परदेश हानिएको मान्छे हुँ। यो नसोच्नू, यो रहर थियो।

बा-आमाका निम्ती, बहिनीहरूका निम्ती मैले मेरा लाखौँ सपनाहरूको हत्या गरेको छु। सायद मलाई हत्यारा भन्दा पनि फरक पर्दैन। बा-आमा सम्झन्छु, उमेर ढल्कँदै गयो। अझ बा’को त हलोको अनौ समात्दा समात्दै हातमा भएको भाग्यरेखा मेटिएर सकियो जस्तो लाग्छ। भारी बोक्दा बोक्दै पसिनाले चुर्लुम्म डुब्दा पसिना पुछ्दा पुछ्दै निधारको भाग्य चिप्लिएर लड्यो कि जस्तो लाग्छ।

बरु काम गर्दागर्दै मेरा बा’ले जोत्ने हल गोरु थाक्थे तर मेरा बा थाक्दैन थिए। बर्खाको बेला गोरु थकाइले बेसी झर्न नसक्दा बा एक्लैले कोदालीको सहारामा त्यत्रो बेसी खेतको मेलो बनाएको देखेको छु मैले।

हामी छोरीहरूको लागि भनेर साँझ-बिहान, घामपानी, भोक-निद्रा, दु:ख बिमार, केही नभनी काम गर्नुहुन्थ्यो नि है बा? हजुरका चार दाजुभाइका त्यत्रो बेसीखेतको मेलो एक्लै गर्नुहुन्थ्यो नि है बा? बा भन्नुस् न, सबैका दु:ख बोक्ने त्यत्रा बल कहाँबाट ल्याउनुहुन्थ्यो हजुरले?

मेरा घरमा रहेका नाल, थाम, दलिन हजुर आफै एक्लै बन्चरोले काटेर ल्याउनुहुन्थ्यो रे है बा? बा, म आज हजुरका हात र काँध सम्झन्छु, भारी बोक्दाबोक्दै नाम्लोले थिचिएका थाप्लो सम्झन्छु। चप्पल लगाउन बिर्सिएका गोडा सम्झन्छु अनि सम्झन्छु मैले हजुरहरूलाई सुखी राख्न देखेको सपना।

सात वर्षको कलिलो उमेरदेखि त्यही बेसी खेतको उकाली-ओराली, त्यही हलो-जुवा र कोदाली, त्यही कम्मरको खुर्पिट्याक अनि लाले र तारे गोरु, यी नै त साथी थिए नि हैन र? न समय सधैँ बलवान रहन्छ, न मान्छेको बल नै।

बा, अहिले हजुरको बल हेर्ने नै हो भने त्यही बेसी खेतको मूलबाट बग्दै आएको एक अञ्जुली पानी खान सक्ने समेत तागत छैन। अब धेरै दु:ख नगर्नू है बा, अब हजुरका दुःख कम गर्न एउटी छोरी परदेश आएकी छ।

आमालाई घरधन्दाको चटारो, त्यसमाथि छोरीहरूको चिन्ताले कहिलै सताउन छोडेन। सायद त्यही भएर होला गालाहरू खुम्चिँदै गएका छ्न्। हातहरू खस्रो हुँदै गएका छन्। स्वरहरू मलिनो हुँदै गएका छन्। यस्तो लाग्छ मेरी आमालाई जस्तो दु:ख र चिन्ता त यो संसारमा अरु कसैलाई छैन। बिहान भाले बास्नुभन्दा अगाडि उठेर चुलो चौको, घर लिपपोत गरेर बा’लाई काममा सघाउन पुग्थिन् मेरी आमा।

मेरा बा-आमालाई तीन/तीन वटी छोरी सहरमा राखेर पढाउनु कुनै फलामको चिउरा चपाएभन्दा कम सहज थिएन। अझ राजधानीको त्यो महङ्गी। अहो! सम्झिँदा पनि अत्यास लागेर आउँछ। यसकारण म आफूलाई भाग्यमानी सम्झन्छु, यति धेरै दु:ख र समस्याका बाबजुद पनि बा-आमाले हामीलाई सहरमा राखेर पढाउने निर्णय लिएका थिए।

आमा, हजुरले म कीर्तिपुरमा बसेर स्नातक तह पढ्दै गर्दा घरदेखि दाल, चामल, रोटी, खिर, घ्यू, कुराउनीलगायत मायाको कोसेलीहरू पठाउनु हुन्थ्यो। जुन कुराहरूमा हजुरका प्रेमहरू छरपष्ट देखिन्थे। भनिन्छ ‘संसारमा हरेक चिजसँग हरेक चिज दाँज्न सकिन्छ तर आमाको मायासँग दाँज्ने चिज यो संसारमै बनेकै छैन।’ मलाई माफ गर्नु आमा, हजुरले गरेको प्रेमलाई शब्दमा वर्ण गरेर हजुरको प्रेमलाई शब्दमा वर्णन गर्ने सामर्थ्य राख्न सक्दिनँ।

घरको आर्थिक अवस्थाले गर्दा बहिनीहरूलाई चाहेको पढाउन नसक्ने अवस्था आउनुले नै मलाई परदेश हानिन मन लाग्थ्यो। लाग्थ्यो परदेशमा त टन्न पैसा कमाउन सकिन्छ। स्नातक तह पढ्दै गर्दा परदेश हानिने सोच आएको थियो किनभने मलाई मेरा बा’ले हलो जोतेर पढाउनु भएको थियो। मलाई मेरी आमाले गाउँबाट गुन्द्रुक र चामलको पोको पठाएर पढाउनु भएको थियो। लाग्थ्यो मेरा लागि यति दु:ख गर्ने मेरा बा-आमाको लागि मैले केही गर्नैपर्छ।

हलो जोतेर जिन्दगी बिताएका मेरा बा र घरधन्दा गरेर कपाल फुलाएकी मेरी आमालाई आफ्नाहरूले गरेको दमन, तिनीहरूले देखाएको व्यवहार, तिनीहरूले लगाएको वचन, मेरा बा-आमालाई साथ चाहिँदा एक्लो बनाएको समय सम्झिँदा पनि नमज्जा लाग्छ।

‘छोरा छैनन्, छोरी छोरी मात्रै हेर त! कस्तो अभागी फलानो फलानी त’ भनेको सुन्दा मुटु छियाछिया हुन्थ्यो, भक्कानिन मन लाग्थ्यो। ‘हेर… बिहे गर्ने उमेर भएकी छोरीलाई अहिले पढाएर के गर्छौ?’ भन्नेहरूलाई एउटा गतिलो झापड दिने नै छु, केही समय पर्खनू है बा-आमा।

‘पैसा नै सबथोक रहेछ’ यदि पैसा नै सबथोक नभएको भए किन ती मान्छेहरू बागबजार र पुतलिसडकका इन्स्टिच्युटमा धाउने गर्थे र? म पनि त्यही पैसा कमाउँला, बा-आमा अनि बहिनीहरूलाई खुसी राखौला भनेर परदेश छिरेको मान्छे हुँ।

बिहान कलेज, दिउँसो काम, रातिमा साहुको ऋणको चिन्ता, आमाको कानदेखि लिएर गला रित्याएको, बा’लाई जिम्मेवारीका पोका झुण्ड्याएको। यसरी यी र यस्ता कुरा सम्झिँदै गयो भने यहीँ परान जाला जस्तो हुन्छ।

साहुको ऋण तिर्न पाए, बहिनीहरूलाई चाहेको जति पढाउन पाए र बा-आमालाई अहिलेको भन्दा केही सहज गरी राख्न पाए बस् सपनाहरू यत्ति थिए। ठूला रहर थिएनन्, केही पैसा कमाएर साहुको गोजी भरिदिनु थियो। धरौटीमा बसेको आमाका गहना फिर्ता गर्नुथियो। लिलामी हुन ठिक्क परेको घर बैंकबाट फिर्ता लिनु थियो।

आफूले सोचेजस्तो आफूले भनेजस्तो सजिलो त कहाँ हुने रहेछ र, सीमापारिको देशमा पढाइसँगै काम गर्न। तर पनि दिनरात नभनी काम गरेँ। घरमा अघिल्लो हप्‍ता मात्रै ठूला काजी तमसुक बोकेर आएको झलझली आँखामै छ।

साहुहरू धेरै छन्, अरु पनि आउने हुन कि भन्ने पिरले पिरोली रह्यो, छाती पोलिरह्यो। छटपटी भइरह्यो। साहुहरू आएर बा’लाई औँला ठड्याउनुभन्दा, आमालाई आँखा तर्नुभन्दा पहिल्यै मैले त्यो पैसा पठाउन सके भने बा-आमा लज्जित हुन पर्दैनथ्यो। लाचार हुन पर्दैन्थ्यो।

मलाई नै पढाउनको निम्ति कैयौँ पसिना बगाएका छन् मेरा बा’ले, हातका ठेला फुटाएका छन्। म परदेश आउँदा हातका, गलाका, कानका सबै गहना बेचेर पैसा जम्मा गरेकी थिइन् मेरी आमाले। त्यो सब सम्झेर काम गर्नेगर्छु। हरेक रात यही भनिरहन्छु- बाआमा नआत्तिनू है, म छु, म गर्छु।

गाउँमा अरुका बाले छोरीहरूलाई बिहे गरेर पठाउँदा मेरा बाले मलाई पढ्न सहर पठाए। अरुको आमाले छोरीलाई एक रात बाहिर पठाएनन्। मेरी आमाले मलाई वर्षौंको लागि यो अन्जान सहरमा पठाउन तयार भइन्। यही आशा, विश्वास र भरोसामा एकदिन हाम्रो परिवारको जिन्दगीमा पनि उज्यालो आउनेछ। ओठहरूमा मुस्कान भरिनेछ। चाडपर्व साँच्चै चाडपर्व जस्तो हुनेछ। तिम्रो, मेरो, बा-आमाको अनि बहिनीहरूको तस्बिरहरू ती भित्ताहरूको कानमा झुण्डिनेछ करोडौँको मुस्कानसहित।

कहिलेकाहीँ परिस्थिति यस्तो बनिदिन्छ, बाध्यताहरू यसरी सलबलाइदिन्छन्। मेरो आँखाभन्दा पर कहिलै नजानू है भन्ने मेरी आमाले छोरीको भिसा छिटै आइदिए हुन्थ्यो भनेर मन्दिर धाएको कैयौँ पटक मैले यी आँखाले देखेको छु।

आमा केही समय पर्खनू है, तिमी रातभरि रोएको बिर्सिएको छैन। बिर्सिनु पनि कसरी, तिमी रुँदा म पनि त सँगै रोएको थिएँ। जब आर्थिक अवस्थामा कमजोर भइन्छ तब स्वभाविक रुपमा आफ्नाहरूले हेप्दा रहेछ्न्। छुट्याउँदा रहेछ्न्।

केही साल पहिलेको कुरा हो जब ठूलाबा’को घरमा पूजा थियो। त्यहाँ सबैका लागि सारी आएको थियो। जब अरुलाई महङ्गो अनि एउटै रङ्गको सारी आइपुग्दा तिम्रो लागि भने सस्तो र भिन्न रङ्गको सारी हातमा परेको सम्झेकी छु। आमा पर्ख है, तिमीलाई मनपर्ने चिटिक्क सुहाउने एउटा महङ्गो सारी किन्नै बाँकी छ मैले।

‘बा’ हाम्रो पनि खुसी हुने अवसर आउने छ। आमालाई पनि भनिदिनूस् न है, बहिनीहरूलाई पनि सुनाइदिनू है अर्को साल ठूली छोरी आउने छे भनेर। यो वर्ष ऋण तिरेरै फुर्सद पाउदिनँ होला।

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्