May 27, 2024 | सोमवार, जेष्ठ १४, २०८१
सुचनाहरु
नारायणगढ-मुग्लिन सडकमा चारवटा गाडी ठोक्किँदा १ जनाको मृत्यु, २२ घाइते आइपिएलको उपाधी कोलकाता नाइट राइडर्सले जित्यो आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दै विश्वप्रकाशको प्रश्न- महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो ? संसदको गतिरोध हटाउन एकीकृत समाजवादीले गरायाे प्रधानमन्त्रीकाे ध्यानाकर्षण नारायणगढ–मुग्लिन सडकमा पहिरोमा पुरिएर स्काभेटर चालकको मृत्यु शेयर बजार २२ अङ्कले घट्यो विमानस्थलको पार्किङबाट सुनजस्तो देखिने धातुसहित महिला पक्राउ नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित बजेट वक्तव्य पढ्नुअघि सहमति हुन्छ- प्रधानमन्त्री ‘सहकारी ठगहरुलाई सरकारले जोगायो’ : सांसद चित्र बहादुर केसी विपीले स्थापित गरेको मानकलाई कांग्रेसले लज्जास्पद बनायो- डा. स्वर्णिम वाग्ले आज कति छ सुनचाँदीको मूल्य ? कान्तिपुर अध्यक्ष सिरोहियाको स्वास्थ्यमा समस्या ,अस्पताल भर्ना कस्तो रहला आजको मौसम ? पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्स नेपालसग ६ रनले पराजित गायिका अभय सुब्बाले ‘सन्दीपका समर्थकले मलाई अनफ्रेन्ड गर्नु’ भनेपछि राष्ट्रिय सभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित दीपेन्द्रले चोटका कारण ह्युस्टनसँगको २ अभ्यास खेल गुमाउने बालेनले संघीय सरकारलाई भने– कि आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु

लोकरिझ्याइँ विरुद्ध नागरिक चेतना

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १0:५२
लोकरिझ्याइँ विरुद्ध नागरिक चेतना

सत्तामुखी राजनीति र लोकरिझ्याइँमा रमाउने वैकल्पिक शक्तिले देशलाई दुर्घटनातिर डोर्‍याउने भएकाले नागरिकमा लहड र भावुकता होइन, यथेष्ट सुझबुझ अपरिहार्य छ। झापाको बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का नाममा गत फागुन १ मा अभियान शुरू गरे। पूर्व राजा ज्ञानेन्द्र शाह र उनका परिवारका सदस्यहरूको उपस्थितिमा झापाको मेची पुलमा सभा गर्दै शुरू गरिएको अभियानको घोषित उद्देश्य संघीयताको खारेजी र हिन्दू अधिराज्यको पुनःस्थापना हो, तर आन्दोलनमा उभार ल्याउने तत्त्व बेग्लै छ जुन ब्यांक तथा वित्तीय संस्था विरुद्ध सोझिएको छ। मेचीबाट अभियान थालेर काठमाडौंमा प्रदर्शन गर्दासम्म उनले नछुटाउने विषय हो, ब्यांक तथा वित्तीय संस्थाले २० लाख रुपैयाँसम्म कर्जा मिनाहा गर्नुपर्ने।

ऋण नतिर्ने अभियानको नेतृत्व गर्दै वित्तीय क्षेत्रबारे अराजक अभिव्यक्ति र गतिविधिमा प्रसाईं देखिनुमा उनको व्यवसाय र आर्थिक स्वार्थ जोडिएको छ। उनले २०७७ साउनमा बिर्तामोड नगरपालिका, अनारमनीस्थित १८ आना जग्गा आठ करोड रुपैयाँ थैली कायम गरेर आफ्नै स्वामित्वको बीएन्डसी अस्पताललाई बेचेका थिए। अस्पतालले उक्त जग्गा चार वटा ब्यांक तथा वित्तीय संस्थामा धितो राखेर २२ गुणा बढी मूल्याङ्कन गराएर एक अर्ब ७४ करोड रुपैयाँ ऋण लिएको थियो। ऋण चुक्ता गर्न ब्यांक तथा वित्तीय संस्थाले ताकेता गरे। तत्काल ऋणको किस्ता तिर्न नसकेपछि उनी अहिले ‘महाअभियान’ को चियामा ऋण मिनाहाको चिनी घुलाउँदै वित्तीय प्रणाली विरुद्ध धावा बोलिरहेका छन्।

‘फलाम तातेकै वेला हथौडा हान्ने’ भने जसरी प्रसाईंले अभियानको समय र सन्दर्भ रोजेका छन्। ठूला दलहरूको अकर्मण्यता र खास नेताहरूको सत्तालिप्साको राजनीतिबाट जनता दिक्क भएको समयलाई जनसरोकारको मुद्दासँग जोड्दै उनले एउटा ठूलो तप्कालाई उद्वेलित पारेका छन्। आम मानिस, श्रमिक र किसान वर्ग लघुवित्तको चर्को ब्याजबाट प्रताडित रहेको सन्दर्भलाई उनले परोक्ष रूपमा ठूला व्यापारीको ब्यांकको ऋणबाट राहतसँग जोडिदिएका छन्। आम असन्तोष मार्फत ब्यांकहरूमा दबाब सिर्जना गर्न उनले कर्जाको किस्ता उठाउन आउने ब्यांक तथा वित्तीय संस्थाका कर्मचारीलाई मोसो दल्न उक्साए। यी घटनाक्रमले राजनीतिक मुद्दाको आडमा उनले व्यक्तिगत स्वार्थ भजाएको देखायो।

तत्काल ऋणको किस्ता तिर्न नसकेपछि दुर्गा प्रसाईं अहिले ‘महाअभियान’ को चियामा ऋण मिनाहाको चिनी घुलाउँदै वित्तीय प्रणाली विरुद्ध धावा बोलिरहेका छन्।
हिन्दू राष्ट्रको मुद्दा उठाउने प्रसाईं पहिला र एक्ला व्यक्ति होइनन्। उनीअघि कमल थापाले हिन्दू राष्ट्रको मुद्दा भजाएरै २०७० सालको दोस्रो संविधानसभा निर्वाचनको समानुपातिकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई उल्लेख्य मत बटुलेका थिए। तर, त्यस मतादेशलाई हिन्दूराष्ट्रको पक्षमा उपयोग नगरेर उनी सत्ताको बार्गेनिङमा देखिए। चरम उपयोगितावादी राजनीतिका कारण उनको हिन्दू राष्ट्रको मुद्दा भुत्तिंदै गयो भने पूर्व राजासँगको सम्बन्धमा समेत दरार आयो।

यसैगरी, राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन पछिल्लो आम निर्वाचनमा हिन्दू राष्ट्रकै अजेन्डा मार्फत मृतप्रायः राप्रपालाई राष्ट्रिय पार्टीको हैसियत दिलाउन सफल भएका छन्। तर, एकातिर हिन्दू अधिराज्यको मुद्दा उठाउने र अर्कातिर गणतन्त्रवादीहरूसँग सत्ताका लागि हरहिसाब गरेका कारण राप्रपाको राजनीतिक बाटो अन्योलग्रस्त देखिन्छ।

उता, टेलिभिजन कार्यक्रम प्रस्तोताको काम छाडेर राजनीतिमा आएका रवि लामिछानेले गत असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घोषणा गर्दा उनीसँगै मञ्चमा उभिनेहरू परिचित अनुहार थिएनन्। एक प्रकारले रास्वपा लामिछाने नेतृत्वको ‘वान म्यान आर्मी’ झैं देखिन्थ्यो। तर, परम्परागत दलहरूप्रतिको आम आक्रोशले बालेन शाह र हर्कराज राईपछि उनलाई पनि साथ दियो। यद्यपि राष्ट्रिय पार्टीको हैसियत बनाइसक्दा पनि रास्वपा पार्टी नभएर एउटा समूह जस्तो देखिन्छ।

पार्टीका सर्वशक्तिमान् अध्यक्ष लामिछाने संसदीय परम्परामा पार्टीलाई निखार्नुभन्दा पनि त्रिशङ्कु संसद्को ‘म्याजिक नम्बर’ को जादूमा लागे, उपप्रधान तथा गृहमन्त्रीमा दाबीसँगै।
राम्रो सीट संख्या, उत्कृष्ट व्यावसायिक पेशाधार रहेका केही राम्रा अनुहार र त्रिशङ्कु संसद् रास्वपालाई जल्दोबल्दो दलमा रूपान्तरण गर्ने गजबको अवसर थियो। उसले प्रतिपक्षमा रहेर जनसरोकारको विषयमा खरो उत्रिँदै संसदीय पद्धतिमा पारङ्गत बन्दै जानुपर्ने थियो। तर, पार्टीका सर्वशक्तिमान् अध्यक्ष लामिछाने संसदीय परम्परामा पार्टीलाई निखार्नुभन्दा पनि त्रिशङ्कु संसद्को ‘म्याजिक नम्बर’ को जादूमा लागे, उपप्रधान तथा गृहमन्त्रीमा दाबीसँगै। जसको खास कारण सत्तामाथिको पकड र आफैंसँग सम्बन्धित दोहोरो नागरिकता र राहदानीमाथिको प्रहरी अनुसन्धान थियो। अमेरिकी नागरिकता त्यागी नेपाली नागरिकता पुनःप्राप्ति नगरी चुनाव लडेको भन्दै लामिछाने विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको फैसलाबाट पार्टी अध्यक्ष, सांसद र गृहमन्त्रीको पद गुमाएपछि लामिछाने क्रुद्ध भए र यी सबको कारक नेपालको मूलधारे मिडिया रहेको ठहर गर्दै विषवमन गरे। यसबाट उनी आफ्नो कसूरको विषयान्तर गर्न सफल देखिए, त्यसयता एउटा ठूलो जमात मिडिया विरुद्ध खनिएको देखिन्छ।

अभिभावकविहीन आवेग
जर्मन मनोविद् कार्ल गुस्ताफ युङका अनुसार, मानिस भावना र बौद्धिकताबीच झुत्ती खेलिरहेको हुन्छ। र, उसको अतिशय भावुकतालाई बौद्धिकताले नियन्त्रण गरिरहेको हुन्छ। संसारका बाँकी मानिसका भावना र बौद्धिकताबीच कति तादात्म्य होला, तर नेपालीको सन्दर्भमा बौद्धिकतामाथि भावना भारी रहेको भान हुन्छ। कसैले कुनै मुद्दा उठाउँदा उसको पृष्ठभूमि कस्तो छ, त्यसमा उसको स्वार्थ लुकेको छ या छैन भन्नेबारे ठन्डा दिमागले नसोची लहैलहैमा बहकिने स्वभाव अधिकतर नेपालीको छ। कसैलाई छिनमै देवत्वकरण र छिनमै दानवीकरण गर्ने चरित्र नेपालीमा पाइन्छ।

त्यस्तो नहुँदो हो त बहुराष्ट्र, बहुनागरिकता र बहुराहदानी धारण गर्ने कुनै व्यक्ति कतै ‘बहुरूपी’ त होइन भनेर एकछिन ठन्डा दिमागले सोच्न सकिन्थ्यो। ब्यांकले ऋण तिर्न ताकेता गरेका व्यक्ति किन राजनीतिक अभियानसँगै मोसो दल्न उक्साउँदै छन्, स्वयंलाई प्रश्न गर्नुपर्ने हो। कालो चश्मा र मुखुन्डो पहिरिएर सार्वजनिक नेतृत्व दाबी गर्नेहरूको चश्मा र मुखुन्डो पछाडिको अनुहार नियाल्न खोज्नुपर्ने होइन र?

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र समाजलाई दिशानिर्देश गर्ने अभिभावकको अभाव छ।
नेपाली समाजको अर्को दुर्भाग्य हो, अभिभावकविहीनता। यहाँ प्रशस्तै नेता छन्, उनीहरूको उट्पट्याङ र आलोकाँचो अभिव्यक्तिमा ताली ठोक्ने कार्यकर्ता त झनै बग्रेल्ती छन्। विवेकलाई बन्धकी राख्दै लाभ लिन दौडिने बौद्धिकहरूको कुनै कमी छैन। तर, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र समाजलाई दिशानिर्देश गर्ने अभिभावकको अभाव छ। राष्ट्रिय जनजीवनमा स्थापित थोरै निष्कलङ्क व्यक्ति समेत राजनीति गर्नेहरूको आँखामा कसिङ्गर झैं भएका छन्, वा कोपभाजनमा परेका छन्।

एकातिर मूलधारको राजनीति गर्नेहरूको सामूहिक असफलता र अर्कातिर वैकल्पिक अनि स्वतन्त्र राजनीति गर्छु भन्नेहरूको लोकरिझ्याइँले नेपाली समाजलाई दुर्घटनाको डिलमा पुर्‍याएको छ। यसमाथि देशको बिग्रँदो अर्थतन्त्रका कारण नेपाल आर्थिक सङ्कटतर्फ उन्मुख त छैन भन्ने संशय व्याप्त छ। यद्यपि, मौजूदा आर्थिक सूचकहरूले राष्ट्र तत्कालै टाट पल्टिने अवस्थामा पुगिसकेको देखाउँदैनन्। तर, सत्तामुखी समग्र राजनीतिक तप्का र स्टन्टबाजी मार्फत जनताको भावनासँग खेलबाड गर्ने ‘पपुलिस्ट’ ले देशलाई कुनै अनिष्टको भासमा जाक्नेछन् भन्नेमा सन्देह छैन। यसबाट जोगाउन कुनै मुक्तिदाताको जरुरत छैन, जनताको सचेतना नै पर्याप्त हुनेछ।

(शेखर खरेल  लेखक/सञ्चारकर्मी हुन्।)

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १0:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट