March 29, 2024 | शुक्रबार, चैत्र १६, २०८०
सुचनाहरु
अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक अन्तत इलाम २ मा रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको छ बागमती सरकारमा हानेपाका बज्राचार्य संस्कृति मन्त्री बन्दै एमडिएमएसमा ९१ करोड भ्रष्टाचारको दाबी, भ्रष्टाचार मुद्दा दायर मन्त्री र मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको प्रश्न ‘पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन?’ नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई कर्णाली पुलबाट हामफालेर बेपत्ता भएका युवकको शव भेटियो सेयर बजारमा ४ अंकको वृद्धि नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छाैँ : प्रशिक्षक देसाई राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा दोहोरो कर प्रणालीे समस्याको सम्वोधन गर्न अर्थमन्त्री पुनको प्रतिवद्धता अवैध विदेशी मुद्रासहित तीनजना विमानस्थलबाट पक्राउ राप्रपाबाट इलाम-२ मा लक्ष्मी गुरूङ उम्मेदवार महिला, बालबालिकामन्त्री चौधरी र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल रद्द आईपीएल : आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दै मन्त्री चाैधरीकाे अग्रसरतामा अपाङ्गता सम्बन्धी मापदण्ड बनाउन धर्नारत पक्षसँग सहमति मौसम खराबका कारण धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा अवतरण सुनको मूल्य हालसम्मकै उच्च ; कति पुग्यो त तोलाको ? विपीको प्रतिमामा माल्यार्पण गरेर कांग्रेस महामन्त्री थापाले सुरु गरे दोस्रो चरणको संवाद यात्रा

तिमी कसरी दाबी गर्छौ म तिम्रै हो भनेर?

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ ११:२५
तिमी कसरी दाबी गर्छौ म तिम्रै हो भनेर?

म जन्मन्छु भनेर जन्मेको पक्कै होइन। जन्माउनेले मलाई नै जन्माउँछु भनेर जन्माएको पनि नहोला।

दशक-दशक पहिले एकदिन पल भरको संयोग बनेर भेटाएको थियो रे, एक युगल जोडीलाई। ती जोडी मेरो बा-आमाको नाताले चिनाएको थियो, मानिस बस्ने समाजिक सभ्यताले पछि मलाई।

उहाँहरूको भेट मिल्ने साथीमा रुपान्तरण भयो। सुमधुर साथीको साथ मायामा परिणत हुँदै मायाको बारीमा प्रेमको बियाँ रोप्यो। बियाँ अंकुरण भयो। उम्रियो, हलक्क बड्यो।

हो, त्यो हलक्क बढेको फूलको बिरुवा म हुँ।

मलाई उमारेको एक जोडी फूलको बिरुवा बूढो हुन नपाउँदै कुनै अदृश्य बिमारले जरालाई मक्काइदियो। हाँगाहरू सुकाएर पात विहीन हुनपुग्यो। समय अगावै कुबेलाको कुरुप मृत्युमय हुण्डरीले सुकेको हाँगालाई भाँच्यो। झर्‍यो भुइँमा, कुँहिएर मल बन्यो। मल उर्जा बन्यो अरु-अरु नयाँ रुखहरूको निम्ति।

केही समयपछि मूल रुख नै ढल्यो, कहिल्यै नउठ्ने गरी। कुँहिएर माटोमा मिल्यो। अरु कुनै बिरुवाको लागि उर्जा बन्यो। जंगल हराभरा भयो। हराभरा जंगलमा वसन्त छायो। कोइलीले पाँचम आलापमा कुहुँ… कुहुँ… गरेर गाए।

आजभोलि कहिलेकाहीँ आफू एकलास हुँदा पुरानो दिनहरू नयाँ दिनको संघारमा आएर उभिन्छ। पर्दामा चलिरहेको सिनेमा जसरी मनको पर्दामा सुरु हुन्छ, मेरो जीवनको श्यामश्वेत वियोगान्त कथामा आधारित कथानक चलचित्र।

मलाई दुख्दा उहाँको आँखाको डिल रसाएर मनमा पहिरो जान्थ्यो। त्यहीँ पहिरोमा बग्ने गर्नुहुन्थ्यो आफै। मेरो सुक्क-सुक्क रोदनमा उहाँ सोकाकुल हुन्थ्यो। उहाँले आफूलाई भन्दा माया गर्थे मेरो। आफू भोकै रहेर पनि मलाई अघाउने गरी खुवाउने गर्थे। यति धेरै घनिष्ठ सम्बन्ध थियो हाम्रो। जुन सम्बन्धको लेखाजोखा गर्न मुस्किल छ।

जुन सम्बन्धलाई वर्णन गर्न सक्नु भनेको मेरो कल्पनाभन्दा बाहिरको कुरा हो। प्रगाढ सम्बधको शिरफूल माथामा सिउरिएर कोखाई-कोखाई गरेर हुर्कायौ, बढायौ मातृ वात्सल्यको टारीभरि खुसीको बुकी फूल फुलाउँदै।

समय कति कठोर। जाने बेला नहुँदा नहुँदै उहाँलाई लिएर गयो। टाढाको गाउँमा, जुन ठाउँको यात्राबाट कोही फर्किन्न रहेछ। उहाँ जाँदै गर्दा म अबोध बालक थिएँ। नजिकको आफ्नाले कतै गएको छ, छिट्टै फर्केर आउँछ भन्ने उधारो आश्वासन सुन्दा-सुन्दा म बुझ्ने भएको थिएँ तर उहाँ कहिल्यै आउनुभएन फर्केर।

उहाँ नआएको कुरा बल्ल थाहा पाएँ। आमालाई असाध्यै प्रेम गर्ने एक्लो मान्छे मेरो बा पनि आमाकै पछि लागेर जानुभयो, मलाई छोडेर। बाको मृत्युपछि मात्रै थाहा भयो, मान्छे मर्नु भनेको कहिल्यै फर्केर नआउने गाउँको यात्रा रहेछ।

मेरो बा-आमा जानु कुनै अनौठो कुरा पक्कै थिएन। तर बेला नपुग्दै जानु मेरो निम्ति मात्रै होइन उहाँहरूलाई चिन्नेजान्नेको लागि अनौठो र अपत्यारिलो थियो। म भन्न सक्दिनँ कस्तो अनुभव भयो होला जतिबेला आफूलाई भन्दा बेसी माया गर्ने मलाई छोड्नु पर्दा।

विचित्रमयी परमात्माको खटनमा बाँचिरहेको छ मान्छेको जिन्दगी। जन्मिन्छ, हुर्किन्छ अनि ढलिन्छ। फुल्दै गरेको फूल झरेर फेरि कहिले नफक्रने गरी ओइलिएजस्तै।

प्वाँख बिनाको पन्छीजस्तै भौतारिँदै निर्जन जिन्दगी बोकेर वर्षहरूको थाक खप्टेर आयु लम्बाउने क्रममा समयको साथले आस्थासँग भेट गराइदियो मेरो। एकलास बनेको जीवनको दिनचर्या आस्थाको आगमनले खुसीहरू उम्रिन थाल्यो, बाँझो मेरो मनको गरा-गराहरूमा।

संयोगको बर-पिपल गाँच्छीमा भएको थियो भेट हाम्रो। षोडशी मिलेर बान्की परेको उनको जीउज्यानभन्दा पनि उनको मन मोहक र सफा भएको कुरा विस्तारै समेटेर अघि बढेको मिठो सम्बन्धबाट प्रष्ट भएको थियो।

मलाई चाहेर नचाहेर यो दुनियाँमा जीवन दिने एक जोडी मान्छेहरूसँगको बिछोडपछि, आधा बाटोमै बाटो बिराएर अलमलिएर एक्लै हुँदा मिलनको पानासमा स्वर्णिम खुसीको दियो जलाएर मेरो जीवनमा प्रवेश गरेको आस्थाको आगामन मेरो जिन्दगीको पुनर्जन्मभन्दा फरक नपर्ला।

बा-आमाको देहावसान उपरान्त निकै समयपछि मनैदेखि माया गर्ने कोही साथमा पाएकोले म भित्रको ‘म’ मा बाँच्ने रहर ह्वात्तै बढेको थियो।

कहिलेकाहीँ एकान्तले एक्लो बनाउँदै गर्दा डरले डेरा जमाउँथ्यो र मनले मनलाई सुनाउँथ्यो- धेरै माया गर्ने मान्छे तेरो भाग्यमा छैन। तेरो बा-आमालाई जसरी टाढा बनादिन्छ समयले याद गर।

म झस्किन पुग्छु। बा-आमाको प्रेम र आस्थाले मप्रति दर्शाएको प्रेमको लेखाजोखा गर्छु। फरक केही पाउदिनँ। उस्तै-उस्तै पाउँछु दुवैतर्फको प्रेम। अझ प्रेम नाप्ने र तौलने मेशिन हुँदो हो त आस्थाको प्रेम बढी हुँदो हो। हुनसक्छ मेरो भ्रम मात्रै हो।

म जन्मन्छु भनेर नभन्दा-नभन्दै मलाई यो सुन्दर संसारमा जन्माएर धर्ती देखाउने, मेरो जीवनको बोल्ने, हिँड्ने, देख्ने, सुन्ने देउताले मलाई अलपत्र पारेर गएको समय जति-जति टाढा-टाढा हुन्थ्यो, उति-उति म जिन्दगीसँग पाको हुँदै गएको मेरो सोच-विचारले मज्जाले प्रष्ट पार्दै थियो।

जीवनप्रतिको मोह, जीवनसँगको लगाब, जीवनको सुरुआत र अन्त बारे जानकार राख्न सक्ने हुँदै थियो धेरथोर। जीवन के हो भनेर गहिराइमा पुग्न नसके पनि जन्मेपछि मर्नु पर्दो रहेछ भन्ने कुराको हेक्का राख्न सक्ने भएको छु।

जीवन नदीमा भेटिने तिता-मिठा अनुभूतिहरूको संगालोमा आफूले आफैलाई समर्पण गरी बढिरहेँ। सिलसिला जारी थियो। मसँगै मेरो जीवन नदीमा बग्ने आस्था थिइन् मेरो भरोसा। आस्थाको असीम तथा निःस्वार्थ साथले उदाएको थियो मेरो जिन्दगीको अँध्यारो उपत्यकामा खुसीको घाम।

केही समयअघिको कुराले पटक-पटक झसङ्ग झस्काउँछ।

शरद ऋतुको सुरुआती महिना हुँदो हो। एक्कासी आस्थाले एउटा प्रस्ताव राखिन्- ‘आउँदो शनिबार हामी दक्षिणकालीमा जाउँ न है!’

मैले हुन्छ मात्रै भनेँ, अरु केही बोलिनँ।

शनिबार बिहानै हामी दुई दक्षिणकाली माताको दर्शन गर्न गयौँ। यात्रा छोटो भए पनि रमाइलो थियो। काठमाडौंको धुलो र भिडले केही समयको लागि भए पनि छुटकारा दिएको थियो।

बल्खु, चोभरको गल्छी कटेर फर्पिङ हुँदै पुग्यौँ दक्षिणकाली। नरिवलसहितको पूजा सामग्री लिएर तिर्थालुको लाइनमा बस्यौं हामी पनि।

भिड निकै थियो। आस्थिक हामीहरू आशा बोकेर आएका थियौं टाढा-टाढादेखि। म सँगसँगै थिइन् सिंगो जिन्दगीभरि साथ दिने आस्था।

पालो आयो, काली माताको चरण छोएर पूजा गरियो। मसँगै थिइन् आस्था। अरुले सुने वा सुनेन थाहा भएन, अरुले के-के मन्त्र जपे उनीहरू नै जानून् तर आस्थाले पुकारेको कुरा मैले सुनेँ।

मन्दिर परिसरमा देउताको चरणमा बसेर भन्दै थिइन्- ‘माता, ऊ मेरो हो सदा मेरो भैरहोस्। हामीलाई कहिल्यै अलग-अलग नपार्नू है।’

उनको यो पुकार माता दक्षिणकालीले सुनिन् वा सुनिनन् थाहा छैन मलाई तर मैले सुनेँ। त्यहीँ बेला उनको त्यस्तो खालको पुकार देखेर भन्न मन लागेको थियो- के भनेको त्यस्तो भनेर। तर त्यस्तो भनिनँ। भन्न मिल्ने पनि थिएन। यदि भनेको भए उनको मन दुख्थ्यो। म चाहदिनँ उनको मन दुखोस्।

पूजापाठ सकेर फर्कियौँ हामी मन्दिर परिसरबाट। बस स्टप छेउको एउटा खाजाघरमा गएर चिया-नास्ता लिने निर्णय गर्यौं। चिसो बिहानीको साथ तातो चियाको चुस्कीसँगै सोधेँ- ‘आस्था, के माग्यौ देउतासँग?’

उनी मेरो अनुहारतर्फ हेरेर मुसुक्क हाँस्दै बोलिन्- तिमीलाई मागेँ सधैं-सधैं बाँचुन्जेलसम्मको लागि।’

म चुपचाप सुनिरहेँ उनको मिठो कुरा।

‘उनले प्रतिप्रश्न गरिन्- ‘तिमीले चाहिँ के माग्यौ नि देउतासँग?’

म केही बोलिनँ, हाँसिरहेँ मात्रै।

मेरो मौनतालाई उनीले बुझ्ने कोसिस गरिनन्। मैले पनि मेरो मौनतामा लुकेको कुरा सुनाइहालिनँ।

फूलचोकी डाँडालाई नाघेर घाम एक जुवा जति माथि पुगिसकेको थियो। शरद यामको बिहानीपखको चिसो मौसमलाई घाम अचुक औषधि नै भन्नुपर्छ। न्यानो घामको किरणसँगै आस्था र म मन्दिरभन्दा केही माथि अवस्थित आदिम सल्लाको रुख फेदमा गएर बसेँ। कुराहरू गर्यौँ मायाको, प्रेमको, एकअर्काप्रति समर्पित साथको।

निकै खुसी भइन् उनी मेरो कुराले। म पनि ढुक्क भएँ उनले दिएको आश्वासनले।

समय बित्यो, घामलाई पश्चिम क्षितिजको कालो देखिने डाँडाले निल्नै आँट्दा हामी फर्कियौँ। आइपुगियो काठमाडौं, अस्थायी जिन्दगीलाई अस्थायी आश्रय दिने अस्थायी डेरामा।

स्थायी कहिले नटुट्ने सपनाहरू साकार पार्ने कल्पना कोरेर मनभित्र नदेखिने सेतो पानामा। उत्ति हिँड्ने बानी नभएर होला थाकिन् क्यारे आस्था, ओच्छ्यानमा ढल्ने बित्तिकै मस्त निन्द्रमा परिन्। उनी निदाए पनि म निदाउन सकेको थिइनँ। उनको कोमल निर्दोष अनुहार नियालेर हेरिरहेँ। उनी मस्त सुतिरहेकी छिन्।

रात क्रमशः छिप्पिँदै गएको खबर टिक…टिक…टिक… आवाज निकालेर कुदिरहेको घडीले थाहा दिँदैछ। सुतेर देख्नु पर्ने सपनाहरू झ्यालमा टाँगेर राखेको पर्दा उघार्दै मदेखि टाढा जाँदैछन्। चाहेर सुत्न नसक्ने भएको म एकाएक नोस्टाल्जिक हुन पुगेँ।

धेरै पहिले मलाई आफूलाई भन्दा बढी प्रेम गर्ने बा-आमा गुमाउनु परेको स्मृति आँखै अगाडि घुमिरहेको थियो। अतीतको कहालीलाग्दो कहर सम्झेर वर्तमानको अटालीमा अलमलमा परी। छेउमै आनन्दसँग सुतिरहेकी छन् आस्था।

उनले दिन्छु भन्ने साथहरू चिच्याएर भन्दैछ- ढुक्क हुनू, उनले दिन्छिन् साथ तिमीलाई।

केही घण्टाअगाडि देउतालाई साक्षी राखेर बोलेको कुराहरूले मनलाई मोहित पारेको छ। सन्त्रास छाएको छ। आफूले फेरेको श्वासले आफूलाई तर्साउला जस्तो बनाएको छ। उनी छेवैको ओच्छ्यानमा मस्त निन्द्रामा छिन्। के-के सपना देख्दै होलिन्!

उनले नसुन्ने गरी बोलिरहेको छ मेरो मन- आस्था, तिमीले कति माया गर्छौ है मलाई? अझ तिमी भन्दैछौ म तिम्रो रे! मात्रै तिम्रो। देउतासँग पनि त्यस्तै भनेर पुकारेकी छौ तिमीले।

हेर, मलाई औधी माया गर्ने बा-आमाले छाडिगए। उहाँहरूले तयार गरेको थुप्रै कुराहरू छाडेर गए। अरू त के कुरा, आफूले आफैलाई छोडेर जानुभयो। प्रेमपूर्वक जतनले समालेको प्रीय शरीरलाई आगोको जिम्मा लगाएर। थाहा छैन आत्मा हुन्छन् कि हुन्न।

आफ्नाहरूको मृत्यु उपरान्त अलि बेसी थाहा भएको छ जीवन-मृत्यु बारे। त्यसैले त यो कुरा गर्दैछु, तिमीले नसुन्ने गरी मनमनै।

‘म नै मेरो हुँदिनँ रहेछ भने तिमी कसरी दाबी गर्दैछौ म तिम्रो हो भनेर?’

मलाई थाहा छ। तिमीले सुनिरहेकी छैनौ। आस्था, हामी केवल मात्रै एक युग होला। त्यो युगमा सहज यात्रा गर्ने सहयात्री मात्रै हो। न म तिम्रो हो। न तिमी मेरो हो। सहजताको लागि बनाएको मृत्यु कुर्ने बहाना मात्रै हो हाम्रो सम्बन्ध!

आफू भित्रभित्रै ज्वारभाटा बनेर जल्दै त्यो रातलाई अनिदो बनाएर बिताएँ। झ्याल छेउमै गुँड बनाएर बसेको चराले उज्यालो हुँदै गरेको संकेत गरे। आँखालाई कष्ट नदिएर रात बिताएँ। मिरमिरेसँगै आस्था उठिन्। दिनचर्याको शुभारम्भ गरेँ खुसी भएर। मेरो मनले बोलेको कुराबारे उनी अनविज्ञ छिन्।

चल्दैछ जीवन, साथमै छिन् उनी। तर न म उनको हुँ, न उनी मेरी। तेरोमेरो भन्ने कुरा सब भ्रम हो। मिथक हो। रंगमञ्चमा नाटक मंचन गर्दै गरेको काल्पनिक कथाको अस्थायी पात्र मात्रै हो। जसरी कसैलाई नसोधी आएको थियो, त्यसरी नै एकदिन जाने हो एक्लै। आउँदा एक्लै आएजस्तै, कसैलाई नसोधेर। सोध्नु पनि कसरी, थाहा नै हुँदैन कतिबेला, कतिखेर जाने हो भनेर।

उनी मेरो आस्था हो भने म उनको भरोसा। आस्था र भरोसा मिलेर बनाएको अस्थायी विश्वासको कोरा महलमा आयातीत नक्कली आदर्शको च्याँखे थापेर जिताउनु परेको छ, जीवन नामक जुवाको खालमा जिन्दगीलाई। कुन्नी कहिलेसम्म हो। लेखक:सुशील लामा

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ ११:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट