July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १३:२६
स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

 आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई थोरै अध्ययन गर्ने अवसर प्राप्त भयो ।

हुन त राजनीति सबै क्षेत्रको केन्द्रीय विधा हो, तर कहिलेकाहीँ गैरराजनीतिक क्षेत्रका व्यक्ति, संस्था वा व्यावसायिक कम्पनीका गतिविधि र प्रगतिबाट राजनीतिक संस्था र राजनीतिज्ञले शिक्षा लिँदा फरक पर्दैन । एउटा व्यक्ति वा केही व्यक्तिहरूको सामूहिक प्रयासबाट कसरी अपत्यारिला उपलब्धि प्राप्त हुन सक्छन्, समाज कसरी लाभान्वित हुन्छ र मानव सभ्यता कसरी समृद्ध हुन्छ भन्ने दृष्टान्त हाम्रै वरिपरि पाइन्छ । यसका होनहार दृष्टान्त हुन्, इलोन मस्क ।

विश्व विख्यात अमेरिकी रकेट कम्पनी स्पेस एक्स, टेस्ला मोटर्स र ट्विटरलगायतका विभिन्न कम्पनीका मालिक दक्षिण अफ्रिकाको प्रिटोरियामा जन्मेका संसारकै सबैभन्दा धनीमाध्ये एक इलोन मस्क सम्पूर्ण मानव जातिकै प्रेरणाका स्रोत हुन् । एक मेधावी, स्वप्नजीवि, आत्मविश्वासी र महात्त्वाकांक्षी अतुलनीय व्यक्तित्व, जसले आजसम्म कसैले नदेखेको सपना देखेका छन् ।

पृथ्वीबाट पेट्रोलियम पदार्थको प्रयोगलाई अन्त्य गरी सारा संसारलाई विद्युतीय बनाउने उनको ‘मिसन’ हो । उनले मंगल ग्रह र चन्द्रमामा मानव बस्तीको परिकल्पना गरेका छन् । र, यसलाई सार्थक बनाउन कृतसंकल्पित छन् । उनको दिनरात यसै ध्याउन्नमा बित्छ । यति गरेपछि मात्र आफ्नो जीवन सार्थक हुने उनको घोषणा छ । उनीसँग समय पनि छ । अहिले जम्मा ५२ वर्षका भए ।

उनको अर्को कम्पनीको नाम हो, न्यूरालिङ्क । मानव मष्तिष्कमा विशेष उपकरण जडान गरेर क्षमता अभिवृद्धि गर्ने परिकल्पना यसको हो । यसले सफलता हासिल गरेमा पक्षघात भएका मानिसहरू आफ्नो हातले भन्दा मष्तिष्कद्वारा छोटो समयमा स्मार्ट फोन चलाउन सक्ने हुन्छन् । साथै स्नायु प्रणालीका कारण हलचल गर्न नसक्ने मानिस पनि हिँडडुल गर्न सक्छन् ।

यस प्रविधिबाट अल्जाइमर्स र पार्किन्सस् जस्ता रोगहरू निदान हुने, आर्टिफिसियल इन्टेलिजेन्सका माध्यमबाट मानिसलाई कम्प्युटरभन्दा चलाख बनाउने, मानिसका स्मृति र सपनाहरूलाई सेभ गरेर स्क्रिनमा हेर्न सकिने दावासहितको लक्ष्य इलोनको छ । यसलाई कतिपय आलोचकहरूले रुमानी सपना समेत भनेका छन्।

वास्तवमा कुनै पनि व्यक्तिको प्रगतिको कारण ऊ स्वयं हो । सफलता र असफलताको हकदार एवं जिम्मेवार स्वयं आफैं हो । कोही कसैले आएर कसैलाई बनाइदिने होइन । उसकै बुद्धिमता, सपना, योजना, अठोट र लगनबाट उन्नति हुने हो । व्यक्ति वा संस्था वा राष्ट्र पनि त्यस्तै हो । नेतृत्व, सहयोगी समूह र जनता मिलेर आफैं मिलेर देश बनाउने हो । अरूको थाप्लोमा अपजस थोपरेर कसैले पनि आफ्नो असफलता लुकाउन मिल्दैन । अरू मानिसले सहजै गर्न सक्ने काम हामी पनि गर्न सक्छौं ।

खाली हात अमेरिका छिरेका इलोन मस्क कठोर संघर्षको परिणामस्वरूप विश्वका सर्वोच्च धनी बने । करीब ३० वर्षको उपलब्धि हो यो । यो उपलब्धि अकल्पनीय हो र अनपेक्षित पनि । दिनरात मेहनत गर्नु, तत्कालीन असफलतामा हरेश नखानु र अझ बुद्धिमत्तापूर्वक मेहनत गर्नु उनको दुर्लभ विशेषता हो । उनको अभुतपूर्व सफलताको रहस्य नै सपना, योजना, मेहनत र लगन हो । आलोचकहरूको टिप्पणीलाई उनले कहिल्यै गम्भीरतापूर्वक लिएनन् । उद्यमी व्यवसायी मात्र होइन, अन्य क्षेत्रका व्यक्तिहरूका लागि पनि मस्क मार्गनिर्देशन हुन् ।

आज टेस्ला मोटर्सले संसारका अरू कम्पनीलाई पछि छाडेको छ भने ट्विटरले सामाजिक सञ्जालको नेतृत्व गरेको छ । अन्तरिक्ष यात्राका लागि अमेरिका र नासा स्पेस एक्समा निर्भर छन् ।

हामीले अर्थात् नेपालले त पछिल्लो राजनीतिक परिवर्तनको झण्डै ३५ वर्ष व्यतीत गरिसक्यौं । ३५ वर्षअघि हामी कहाँ थियौं र अहिले कहाँ छौं ? के टाट पल्टिने दिन गनेर बसेका हौं त ? सुधार र प्रगतिका लागि चिन्ता र प्रयास कति गर्‍यौं ? यसको जिम्मेवारी कसले लिने ? यसबीचमा उठेको राजस्व, वैदेशिक ऋण र अनुदान कति सदुपयोग गर्‍यौं ? जनताले हिसाब मागे के जवाफ दिन्छौं ?

अहिलेसम्म राजस्व कति उठ्यो ? राज्यको आम्दानी कति बढ्यो ? धान्ने केले हो ? कतै कहीँ गम्भीरता देखिँदैन । यो भन्दा चरम अराजकता के हुन सक्छ ? तसर्थ तत्काल राज्य सुध्रिनुपर्छ ।

हामी बेलाबेलामा चर्चा गर्छौं, नेपाल बन्दै बनेन । यस विषयमा घोत्लिएर कहिल्यै सोचेका छौं त हामीले ? किन बनेन ? कसले बनाउनुपर्थ्यो ? कोही परचक्री आएर बनाइदिने हो र ? हाम्रा छरछिमेक कसले बनाइदिएको हो ? चीन, भारत कसले बनाउँदैछ ? फलानोले गर्दा भएन भन्नू फगत बहानाबाजी र आफ्नो अयोग्यताको ढाकछोप मात्र हो । देश बनाउने हाम्रो कार्यसूची के–हो ? राजनीतिक प्रणाली माध्यम मात्र हो, यसमा दुईमत छैन ।

यो लोकतान्त्रिक हुनुपर्छ । यो पनि निर्विवाद छ । यसको स्थापना र पुनःस्थापनाबाहेक हामीले थप के के गर्‍यौं त ? कि प्रणाली मात्र पर्याप्त छ ? झण्डै तीन दर्जन वर्ष गुजार्दा पनि प्रणाली मात्रले देशको मुहार त फेरिएन, जनताका दुःख त हटेनन् ! संसारका धनी देशहरू जनता र नेता मिलेर मात्र बनेका हुन्, त्यो पनि वर्षौंको मेहनत, निस्वार्थ योगदान र दृढ अठोटले ।

महाथिर प्रधानमन्त्री हुँदा मलेसिया कहाँ थियो र आज कहाँ छ ? जनतालाई यस्ता अनगिन्ती प्रश्नहरूको जवाफ तुरुन्तै चाहिएको छ । के हामी जनतालाई चित्तबुझ्दो जवाफ दिन सक्छौं ? तत्कालीन मलाया र हालको मलेसिया सन् १९५७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भयो । झण्डै अढाइ दशक विभिन्न राजनीतिक उतारचढाव बेहोरेर बल्ल ०८० को दशकमा पुगेर विकासको मार्गमा प्रवेश गर्‍यो ।

मन्त्री, उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्री बनेका डा. महाथिरले आफ्नो बाइस वर्षे कार्यकालमा मलेसियाको कायापलट गरे । टिम्बर, पाम आयल र परम्परागत कृषिले मात्र देशको अर्थतन्त्र उकास्न सम्भव थिएन । त्यसैले महाथिरले व्यापक औद्योगीकरणमार्फत देशको विकासलाई अघि बढाए । मलेसियामा बहुराष्ट्रिय कम्पनीहरू भित्र्याएर स्वदेशी र विदेशी नागरिकहरूका लागि रोजगारीका अवसर सिर्जना गरियो ।

आफ्ना जेहेन्दार विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि विश्वका नामचलेका विश्वविद्यालयमा पठाइयो । त्यसबाट मलेसियामा दक्ष जनशक्तिको अभाव भएन । परम्परागत कृषि प्रणालीमा व्यापक सुधार गरियो । ससाना टुक्रे खेतीको सट्टा ठूल्ठूला कृषि फर्म चलाइयो । जसमा फलफूल र तरकारी खेती गरिन्छ । किसानहरू आफ्नो उत्पादन निर्यात गर्न स्वतन्त्र छन् ।

सरकारले सस्तो ब्याजमा ऋण उपलब्ध गराउँछ । पशुपालनबाट समेत ठूलो आम्दानी छ । केएल टावरलगायतका पर्यटकीय गन्तव्य तयार पारेर विदेशी पर्यटक आकर्षित गरियो । प्रशासनिक राजधानीका रूपमा पुत्रोजया नामक नयाँ शहर बसाइयो । भौतिक विकासलाई उच्च प्राथमिकता दिइयो।

हामी बर्सेनि कति विद्यार्थीहरूलाई अध्ययनका लागि छात्रवृत्ति दिएर विदेशस्थित उत्कृष्ट शिक्षण संस्थामा पठाउँछौं ? हाम्रा लागि आवश्यक दक्ष जनशक्ति आपूर्तिको स्रोत के हो ? नयाँ पुस्ताका लगभग ८० प्रतिशत नागरिक विद्यार्थी र मजदुरको रूपमा बर्सेनि विदेश पलायन हुनु साँच्चै दुर्भाग्यपूर्ण छ । नागरिकमाथि राज्यको संरक्षण र लगानी नभई देशप्रेमको भावना जागृत हुँदैन । देश प्रेमले ओतप्रोत नभई नागरिक आफ्नो देशका लागि संघर्ष र त्याग गर्न तयार हुँदैन । हामी राज्यको चरम उपेक्षापूर्ण व्यवहार झेलिरहेका छौं ।

अनि राज्यका लागि मरिहत्ते गरेर के गर्ने ? एकथरी सीमित मानिसहरू राज्यको साधन स्रोतमा ढलिमली गर्ने र बहुसंख्यक नेपालीले प्रताडना झेलिरहने ? आखिर यो कहिलेसम्म ? जबसम्म नागरिकको दैनिकी सुधार्नमा राज्य लागेको छ भन्ने सन्देश जाँदैन, तबसम्म कुनै पनि सरकारले नागरिक सहयोग प्राप्त गर्न सक्दैन । दक्षिण कोरियाका सैनिक शासक पार्कले सुशासनमार्फत देखाएको गुणात्मक सुधार र प्रगतिले मात्र उनलाई सफलता दिलाएको हो ।

नेपालको कुनै पनि क्षेत्रका अगुवाहरू देशलाई माथि उठाउने विषयमा गम्भीर छलफल गर्दैनन् । यो फगत भाषणको विषय मात्र भएको छ । आफ्नो निजी फाइदा र स्वार्थबाहेक उनको मानसपटलमा अरू केही छ जस्तो लाग्दैन । चुनावमार्फत देशको जिम्मेवारीमा पुगेका राजनीतिज्ञहरूसँग जनताले गर्ने अनगिन्ती प्रश्नको कुनै जवाफ छैन । भर्खरै सरकारले कार्यविधि बनाएर झण्डै साढे नौ अर्ब वितरण गर्ने निर्णय गरेको छ । शहीदजस्तो पवित्र र उच्च सम्मानसूचक पदवीलाई अवमूल्यन गरी हजारौं व्यक्तिलाई एकैसाथ शहीद घोषणा गरिएको छ ।

अयोग्य लडाकुको नाममा ठूलो रकम वितरण हुँदैछ । बोल्ने कोही छैन । के लोकतन्त्र सत्तामा पुगेका राजनीतिक दलले आ-आफ्ना व्यक्तिलाई शहीद घोषणा गर्न र रकम बाँड्नका लागि मात्र हो ? के लोकतन्त्र ल्याउन अरूको योगदान छैन ? अरू नागरिक भोकैनाङ्गै भएको राज्यले हेर्नु पर्दैन ? जनआन्दोलनमा अङ्गभङ्ग भएका नागरिक कहाँ छन् ? लोकतन्त्रका लागि जिन्दगीभर लडेका व्यक्ति कसरी बाँचेका छन्, राजनीतिक दलहरूलाई थाहा छ ?

अहिलेसम्म राजस्व कति उठ्यो ? राज्यको आम्दानी कति बढ्यो ? धान्ने केले हो ? कतै कहीँ गम्भीरता देखिँदैन । यो भन्दा चरम अराजकता के हुन सक्छ ? तसर्थ तत्काल राज्य सुध्रिनुपर्छ । राज्य सुध्रिनु भनेको सरकार सही बाटोमा हिँड्न थाल्नु हो । सही बाटोमा हिँड्न जनताको भावनाअनुसार चल्नुपर्छ । यसका लागि आत्मज्ञान चाहिन्छ । नत्र धनी देशबाट सिक्नुपर्छ । कसरी उन्नति गर्ने भन्ने कुरा इलोन मस्कबाट सिक्दा पनि फरक पर्दैन । सिकौं र नयाँ शिराबाट काम थालौं । अहिलेलाई यत्ति, बाँकी भविष्यले देखाउने छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १३:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्