काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चाबाट कोही तर्सिन जरुरी नभएको बताएका छन् । सोमबार काठमाडौैमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले यो मोर्चा कसैको विरुद्धमा लक्षित नभएको बताए । ‘यो मोर्चा कसैको विरुद्धमा लक्षित छैन, कोही नतर्सिए हुन्छ, केही साथीहरु घोषणा गर्नुअघि नै बडबडाउन थाल्नुभएको थियो, त्यसरी बडबडाउनु पर्दैन, हामी देशको, जनताको हितका लागि अग्रगामी परिवर्तनका लागि सहकार्य गर्दै अघि बढ्छौं’ उनले भने । तर विगतका जनआन्दोलन र बलिदानबाट प्राप्त उपलब्धि समाप्त पार्ने खेल खेल्नेहरु भने मोर्चासँग डराउनुपर्ने यादवले बताए ।